• ७ पुस २०८२, सोमबार

हर्राबोटमा सुन्तला महोत्सव हुने

blog

फडिन्द्र अधिकारी

लेखनाथ, पुस ७ गते । कास्कीको पोखरा महानगरपालिकामा पर्ने ग्रामीण भूभागका किसानलाई ऊर्जा प्रदान गर्ने विभिन्न खालका महोत्सव हुने गरेका छन् । 

पोखरा–२१, को दोपहरे, हर्राबोटमा आगामी बिहीबार सुन्तला महोत्सव गर्ने तयारी भएको छ । ‘नेपालको राष्ट्रिय फल सुन्तलाको उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग’ भन्ने नारासाथ महोत्सव हुन लागेको हो । 

पोखरा महानगरपालिकाले पोखरा २१ र २२ लाई सुन्तला पकेट क्षेत्र घोषणा गरी त्यसअनुरुपका कार्यक्रम सञ्चालन गरिरहेको छ । पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदी पोखरामा फल्ने सुन्तलामध्ये आधा यही वडामा उत्पादन हुने उल्लेख गर्नुभयो । 

वडास्तरीय कृषि सञ्जालको समन्वय र पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको संयोजनमा वडा कार्यालयले महोत्सव आयोजना गरेको हो । पोखरामा करिब चार हजार टन सुन्तला उत्पादन हुने र त्यसको आधा वडा नम्बर २१ मा फल्ने महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । 

हर्राबोटको चौरमा हुने महोत्सवमा एक दर्जन जति सुन्तलाका स्टल रहने छन् । सुन्तला ग्रेडिङ गर्ने, सुन्तला खाने लगायतका प्रतियोगिताका साथमा सांस्कृतिक कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । समारोहमा वडामा धेरै सुन्तला उत्पादन गर्ने किसानलाई सम्मान समेत गरिने कडरियाले जानकारी दिनुभयो । 

सुन्तला महोत्सवमा ग्रेडिङ गरिएका सुन्तला प्रतिकेजी एकसय रुपियाँमा बिक्री गरिनेछ । महोत्सवमा स्थानीय किसानले उत्पादन गरेका तरकारी, फलफूल, महसमेत बिक्री गरिनेछ । कार्यक्रममा कृषि विज्ञहरुबाट किसानलाई सुन्तला उत्पादनका विविध पक्षबारे जानकारीसमेत दिइने आयोजकले जनाएको छ ।