• २ चैत २०८१, शनिबार

उपभोक्ताको अधिकार सुनिश्चित गर्न माग

blog

उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रम । तस्बिरः कमल शर्मा

कमल शर्मा

दैलेख, चैत २ गते । उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न प्रविधिमैत्री अनुगमनमा जोड दिनुपर्ने सरोकारवाला निकायले बताएका छन । विश्वउपभोक्ता अधिकार दिवस २०२५ को अवसरमा आयोजित विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्न अधिकांश बक्ताले प्रविधिमैत्री अनुगमन गर्न आवश्यक रहेको बताएका हुन्  । 

कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका सम्झौता, बनेका नीतिनियम बने पनि त्यसको कार्यान्वयन गर्न कठिनाइ भएको बताउनुभयो । 

उहाँले उपभोक्ताको अधिकारलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बजार अनुगमन गर्ने गरिए पनि बजार अनुगमन गर्ने प्रविधि नभएका कारण अनुगमन प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले बजार अनुगमन गर्न जाँदा त्यससम्बन्धि आवश्यक उपकरण नहुँदा उपभोक्ताको अधिकार उलङ्घन गर्नेलाई कारबाही गर्न नसकिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामी कानुनी रूपमा बलिया भए पनि त्यसको निरीक्षण गर्ने उपकरण नभएका कारण प्रभावकारी अनुगमन हुन सकेन । उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाले उद्योग वाणिज्य सङ्घमा आबद्ध भएका व्यावसायीलाई उपभोक्ताको अधिकारको ख्याल गरी व्यपार व्य साय गर्न व्यसायीलाई आग्रह गरिएको बताउनुभयो । 

उहाँले उद्योग वाणिज्य संघमा आबद्ध सबै उद्योगी व्यावसायीलाई आफूहरूले पटक पटक सचेतना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी व्यावसायी पनि उपभोक्ता हौँ, हामीले हाम्रो अधिकारीका विषयमा बेला–बेलामा अनुगमन गर्ने गरेका छौँ ।” 

गैर सरकारी संस्था महासङ्घ दैलेख डिलकुमारी चन्दले उपभोक्ताको अधिकारका लागि उपभोक्ता नै जाग्नुपर्ने बताउनुभयो । अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न निकायले उपभोक्तालाई प्रथामिकता दिएर इमानदार भएर व्यवसाय गनुपर्ने उहाँले बताउनुभयो ।

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष अम्मर सुनारले उपभोक्ता आफै जागरुक नभएसम्म अधिकार स्थापित हुन नसक्ने बताउनुभयो । उहाँले अधिकारका लागि उपभोक्ता जागरुक हुने र बदमासी भएकालाई कानुनी काठघरमा उभ्याइएको अवस्थामा मात्र त्यसले सार्थकता पाउने बताउनुभयो । उहाँले बजार अनुगमनका नाममा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बजार अनुगमन गर्ने गरिए पनि त्यसले प्रभावकारी काम गर्न नसकेको बताउनुभयो । 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यक्रम अधिकृत पर्शुराम आचार्यले बजार अनुगमन गर्ने गरिएको भए पनि आफूसँग गुणस्तर परीक्षण प्रविधि नहुँदा अनुगमन प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले उपभोक्ता संरक्षण ऐन २०७५ ले वस्तु वा सेवाको सहज पुहँच, स्वच्छ प्रतिष्पर्धात्मक मुल्यमा गुणस्तरीय वस्तुको बिक्री गर्नुपर्ने प्रावधान भए पनि कार्यान्वयनमा समस्या भएको बताउनुभयो ।

पत्रकार विशाल सुनारले उपभोक्ताको हितलाई संरक्षण गर्न नसक्ने व्यावसायीलाई कानुनी रूपमा दण्डीत गर्न जिल्ला प्रशासनले अगुवाई गर्नुपर्ने बताउनुभयो ।