• ३ चैत २०८१, आइतबार

छ सय बालबालिकाको पुनर्मिलन

blog

रजनी योगी 

सुर्खेत, चैत ३ गते । कर्णालीका छ सयभन्दा बढी बालबालिकाको परिवारसँग पुनर्मिलन गराइएको छ । हिमाली नवीन समाजको सन् २००६ देखि २०२५ सम्मको घटना व्यवस्थापनको तथ्याङ्क अनुसार ती बालबालिकाको परिवारसँग पुनर्मिलन गराइएको पाइएको हो । यो अवधिमा कर्णालीबाट ६७६ जना बालबालिकालाई परिवारको जिम्मा लगाइएको छ । 

हिमाली नवीन समाजका सुरेन्द्र लामा तामाङले ४२ वटा बालगृहबाट ९६७ जना बालबालिकाको उद्धार गरिएको बताउनुभयो । जसमा सबैभन्दा धेरै कर्णालीका बालबालिका रहेको तथ्याङ्कले देखाएको छ । मधेश प्रदेशका छ, सुदूरपश्चिमका १३, कोशीका १६, लुम्बिनीका ४५, गण्डकीका २४ र बागमती प्रदेशका २११ जना बालबालिकाको उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको हो । बालगृहमा सबैभन्दा धेरै बालबालिका कर्णालीको रहेको पाइएको छ । हुम्ला जिल्लाका अधिकांश बालबालिका देशभरका विभिन्न बालगृहमा रहेका छन्  ।

अभिभावकविहीनका लागि खोलिएका बालगृहमा बाबुआमा भएका बालबालिकासमेत बस्ने गरेको पाइएको छ । कानुनमा बाबुआमा दुवै र संरक्षकत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था भए पनि बालगृहमा अधिकांश बाबुआमा भएका बालबालिका बस्ने गरेको पाइएको छ । 

हिमाली नवीन समाजले सार्वजनिक गरेको विवरण अनुसार ६६ प्रतिशत बालगृहहरू पर्यटकीय गन्तव्य रहेका जिल्लाहरूमा रहेका छन् । काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र चिवतन जिल्लामा बालगृह सञ्चालित रहेका छन् । ३३ प्रतिशत बालबालिका बालगृहमा रहेका छन् । एक हजार ८८२ बालबालिका ती बालगृहमा रहेको जनाइएको छ ।

यस्तै राष्ट्रिय बाल अधिकार परिषद् कर्णाली प्रदेशले सार्वजनिक गरेको बालबालिकाको स्थिति प्रतिवेदन अनुसार हाल बालगृहमा आश्रय लिएका बालबालिकामध्ये २२ प्रतिशत बालबालिकालाई मात्रै बालगृहको आवश्यकता रहेको उल्लेख गरेको छ ।

 बाँकी ७८ प्रतिशत बालबालिकालाई बालगृहको आवश्यकता नपर्ने सोही प्रतिवेदनले जनाएको छ । कर्णालीमा रहेका विभिन्न बालगृहमा करिब ६० प्रतिशत बालबालिका आमा वा बाबु दुईमध्ये एक जना भएका बालबालिका बस्ने गरेको पाइएको राष्ट्रिय बाल अधिकार परिषद् कर्णाली प्रदेशका संयोजक डम्बर रोकायाले बताउनुभयो । उहाँका अनुसार राज्यको नीतिविपरीत बालबालिका बालगृहमा राख्ने गरेको पाइएको हो ।

आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्डमा आमाबाबु दुवै नभएका वा भएर पनि हेरचाह गर्ने शारीरिक वा मानसिक अवस्था ठिक नभएका बालबालिकाको हेरचाह सकेसम्म नजिकको नातेदारले गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । उहाँका अनुसार बालगृहमा सामान्यतया तीन किसिमका बालबालिका बस्दै आएका छन् । आर्थिक विपन्न, अपाङ्गता भएका र दुर्गम क्षेत्रका आमाबाबुले छोराछोरीलाई सहरका राम्रा विद्यालयमा पढाउने रहरले बालगृहमा राखिदिने गरेका छन् ।

बालविवाह र बालश्रमको सिकार 

कर्णालीको कुल जनसङ्ख्यामध्ये ४० प्रतिशत बालबालिका छन् । प्रदेशको कुल जनसङ्ख्या १६ लाख ८८ हजार ४१२ छ । २०७८ सालको जनगणना अनुसार यहाँ छ लाख ७७ हजार ४८ जना बालबालिका छन् । यसमा पनि बालकको सङ्ख्या बढी छ । तीन लाख ४५ हजार ४२९ जना बालक छन् भने तीन लाख ३१ हजार ५५६ जना बालिका छन् । 

प्रदेशका तीन लाख चार हजार १८४ जना बालबालिकालाई विभिन्न कारणले विशेष संरक्षण र वैकल्पिक संरक्षणको आवश्यकता देखिएको छ । राष्ट्रिय बाल कल्याण परिषद्का अनुसार कर्णालीका ४१ हजार बालबालिका बालविवाहको सिकार भएका छन् । बालविवाहका कारण उनीहरू विभिन्न अधिकार प्राप्तिबाट वञ्चित भएको जनाइएको छ । 

यस्तै एक लाख ३७ हजार अर्थात् जम्मा सङ्ख्याको २० प्रतिशतभन्दा बढी बालबालिका बालश्रम गर्न बाध्य छन् । उनीहरू पारिवारिक, भौगोलिक, अभिभावकको चेतनाको कमी जस्ता विविध कारणले श्रममा लाग्न बाध्य भएको तथ्याङ्कले देखाएको छ । नेसनल इन्स्टिच्युट अफ कन्टेम्पोररी स्टडिज (एनआइसिएस) ले निकालेको तथ्याङ्क अनुसार कर्णाली प्रदेशका २५ हजार ३६३ जना अर्थात् करिब चार प्रतिशत बालबालिका अभिभावकदेखि टाढा बसिरहेका छन् । 

पछिल्लो समय कोभिडका कारण देशमा निम्तिएको आर्थिक मन्दीका कारण उनीहरू अभिभावकभन्दा बाहिर रहेको जनाइएको छ । त्यसै गरी तीन हजार २८७ बालबालिका नजिकका अन्य अभिभावकसँग बसिरहेका छन् । ९५ हजार ५३४ जना बालबालिका एकल अभिभावकसँग छन् । दुई हजारभन्दा बढी बालबालिका विभिन्न बालगृहमा बस्न बाध्य छन् ।