• ६ पुस २०८२, आइतबार

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

blog

फाइल तस्बिर ।

सिन्धुली, पुस ६ गते । जिल्लाको कमलामाई नगरपालिका ६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

स्थानीय ६२ वर्षीय दुर्गामान बम्जनको घरमा भान्सा कोठाभित्र आगलागी हुँदा उहाँकी बुहारी ३२ वर्षीया सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्गामान बम्जनको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको छ । उहाँको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । दिउँसो खाजा खाने समयमा बुहारीलाई आगो लागेको देखेपछि निभाउन खोज्दा ससुरालाई पनि आगोले पोलेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । 

आज दिउँसो भएको घटनाका बेला घरमा मृतक सुशीला, उहाँका सासू, ससुरा र नन्द घरमा नै भएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् । उहाँका दुई छोरा र एक छोरी छन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको सुवेदीले जानकारी दिनुभयो ।  रासस