• ४ चैत २०८१, सोमबार

प्रदेश अस्पतालसम्बन्धी विज्ञ समूहको प्रतिवेदन

प्राज्ञिक संस्थामा स्तरोन्नति गर्न सुझाव

blog

मुख्यमन्त्री यामलाल कँडेललाई कर्णालीको स्वास्थ्य क्षेत्र र प्रदेश अस्पतालको सुधार गर्न सकिने प्रतिवेदन बुझाउँदै अध्ययन समितिका संयोजक डा. भगवान कोइराला ।

ललित बसेल

सुर्खेत, चैत ४ गते । सुर्खेतस्थित प्रदेश अस्पताल र समग्र कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि कर्णाली प्रदेश सरकारले गठन गरेको समितिले पाँच वटा विकल्पसहितको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ । आइतबार समितिका संयोजक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाको अध्यक्षतामा गठन गरेको समितिले चार महिनाको अध्ययन र छलफलपछि तयार पारिएको प्रतिवेदन मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको हो । 

प्रतिवेदन बुझाउँदै समितिका संयोजक डा. कोइरालाले सुर्खेतस्थित प्रदेश अस्पताललाई प्राज्ञिक तथा शैक्षिक संस्थामा स्तरोन्नति गर्न सकिनेलगायतका पाँच वटा विकल्प दिइएको बताउनुभयो । उहाँले प्रतिवेदनमा कर्णालीको समग्र स्वास्थ्य सेवामा सुधार ल्याउन र सुर्खेतस्थित प्रदेश अस्पताललाई स्तरोन्नति गर्न जनशक्ति, संरचना, चुनौती र अवसर समेटेर पाँच वटा विकल्प दिइएको जानकारी दिनुभयो । अन्य विकल्प भने उहाँले सार्वजनिक गर्नुभएन । 

डा. कोइरालाले चार महिनाको अथक परिश्रमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रदेशका नीति अवलोकन गरिएको र राय सुझाव सङ्कलन गरी प्रतिवेदन तयार पारिएको बताउनुभयो । प्रतिवेदनमा समावेश गरिएका पाँच वटा विकल्पमध्ये प्रदेश सरकारले आफ्नो क्षमता, बजेट अनुसार जुन सहज रूपमा कार्यान्वयन गर्न सक्छ, त्यसलाई प्राथमिकता दिन सक्ने उहाँको भनाइ छ । सुर्खेतस्थित प्रदेश अस्पताललाई शैक्षिक र प्राज्ञिक संस्थाका रूपमा स्तरोन्नति गरी अध्ययन अध्यापन गर्न सकिने सम्भावना बढी भएको उहाँले जनाउनुभयो । 

यता प्रतिवदेन बुझ्दै मुख्यमन्त्री यामलाल कँडेलले निकै गहन अध्ययन गरेर प्रतिवेदन बुझाइएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । साथै समितिले प्रदेश अस्पताल र समग्र कर्णाली प्रदेशको स्वास्थ्यको अवस्थामा सुधार ल्याउन दिएका विकल्प अध्ययन गरेर सबैलाई अपनत्व हुने गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता उहाँले जनाउनुभयो । अहिले कर्णालीको सीमित स्रोत र साधनबाट धेरै सेवा दिनु परेको भन्दै मुख्यमन्त्री कँडेलले विज्ञले तयार पारेको प्रतिवेदनलाई दिगो बनाउने गरी कार्यान्वयनमा लैजाने बताउनुभयो । 

चार महिनाअघि प्रदेश सरकारले सुर्खेतस्थित प्रदेश अस्पताल र समग्र कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि डा. भगवान् कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको थियो । समितिमा पाटन एकेडेमीका डा. अर्जुन कार्की, डा. सुरेश तिवारी, प्रदेश अस्पतालका निर्देशक डा. केशर ढकाल, डा. विकास केसी र डा. नवराज केसी रहनुभएको थियो ।