• ७ पुस २०८२, सोमबार

एक हजार ८३ किलो बँदेल र दुम्सीको अवैध मासु बरामद

blog

मासुसहित पक्राउ गरिएकाे गाडी ।

बोमलाल गिरी 

नवलपुर, पुस ७ गते । डिभिजन वन कार्यालय नवलपुरले ठुलो परिमाणमा जङ्गली जनावरको अवैध मासु बरामद गरेको छ । कार्यालयले विनयी त्रिवेणीको दुम्कीबास क्षेत्रबाट नवलपरासी लैजाँदै गरेको अवस्थामा जङ्गली जनावरको मासु बरामद गरेको जनाएको छ ।

बागमती प्रदेश ०१–०२३ च. ४३५४ नम्बरको एसी जडित पिकअप भ्यानबाट जङ्गली बँदेलको जस्तो देखिने एक हजार ६१ किलो, जङ्गली दुम्सीको जस्तो देखिने २२ किलो र १० किलो माछा बरामद गरिएको वन कार्यालयका सूचना अधिकारी शुभास अधिकारीले जानकारी दिनु भयो । 

अधिकारीका अनुसार दुम्कीबास जङ्गलीमा गाडी छाडेर चालक फरार भएका छन् । डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले बरामद गरिएको मासु वैज्ञानिक परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको जानकारी दिनु भयो । 

परीक्षणबाट मासुको यकिन पहिचान भएपछि मात्रै वन तथा वन्यजन्तु संरक्षण ऐन अनुसार आवश्यक कानुनी कारबाही अघि बढाइने उहाँले स्पष्ट पार्नु भयो । घटना एक हप्ता अघिको भए पनि आज मात्र सार्वजनिक भएको हो । 

बरामद गरिएको सवारी साधन एस एस मिट मार्ट सप्लायर प्रालिको रहेको छ । उक्त मिट मार्टका सप्लायर बाला क्षेत्रीले भने घरपालुवा बंगुरको मासु ल्याउँदै गर्दा कसैले सुराकी दिएको आधारमा पक्राउ गरिएको दाबी गर्नु भएको छ । उहाँले गाडीको चालक अहिलेसम्म पनि सम्पर्कमा नआएकाले चालसकले बदमासी गरेको हुन सक्ने बताउनु भएको छ । 

प्रयोगशालाको रिपोर्ट आएपछि मात्र कानुनी प्रकृया अघि बढाइने अधिकारीले बताउनु भयो । कार्यालयले फरार चालकको खोजी तथा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।