शङ्कर केसी
सल्यान, पुस ६ गते । लामो समयदेखि सम्पन्न हुन नसकेको पूर्ण विद्युतीकरण ठेक्का कार्यको प्रगति र समाधानका विषयमा यहाँ छलफल भएको छ । विद्युत् विस्तारका लागि भौतिक पूर्वाधार निर्माणकार्य छिटो सम्पन्न गर्न भन्दै जिल्लाको दार्मा गाँपालिकामा विस्तृत रूपमा छलफल गरिएको हो ।
दार्मा गाउँपालिका, कर्णाली प्रदेश विद्युत् प्राधिकरणका प्रमुख, जिल्ला विद्युत् वितरण केन्द्रका प्रमुख, निर्माण कम्पनीका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको सहभागितामा भएको छलफलमा हालसम्मको कामको अवस्थाबारे समीक्षा गरिएको थियो । विद्युत् विस्तारलाई तीव्रता दिने विषयमा सहमति जुटेको भन्दै दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले तोकिएको समयमा काम सम्पन्न नभएमा उत्पन्न परिस्थितिको जिम्मेवार विद्युत् प्राधिकरण तथा निर्माण कम्पनी रहने चेतावनी दिनुभएको छ ।
छलफलको निष्कर्ष अनुसार दार्मामा लोड सेन्टर तयारी भइसकेका १५ स्थानमा कर्णाली प्रदेश विद्युत् प्राधिकरणले तत्काल ट्रान्सफरमर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। त्यसैगरी बाँकी रहेका स्थानहरूमा पोल, तार तथा अन्य पूर्वाधार निर्माणको काम ठेकेदार पक्षले अविलम्ब सम्पन्न गर्ने सहमति भएको छ ।
यसअघि दार्मा गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानियहरूले अध्याँरोबाट मुक्तिको माग गर्दै सल्यान वितरण केन्द्रमा धर्ना दिएका थिए । अब फेरि धर्ना वा घेराउ गर्नुपर्ने अवस्था नआओस् भन्दै गाउँपालिका अध्यक्ष केसीले प्रदेश विद्युत् प्राधिकरणले दुई महिनाभित्र सबै काम सम्पन्न हुने आश्वासन दिएको बताउनु भयो । तर पनि पालिकाले अधिकतम तीन महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्न आग्रह गरेको छ ।
छलफलमा दार्मा गाउँपालिकाले सम्पूर्ण काममा आवश्यक सहजीकरण गर्ने, स्थानीयस्तरमा देखिएका विवादित स्थानहरूमा समन्वय गर्ने र काम सुचारु गर्न सहयोग गर्ने निर्णय गरिएको छ । साथै पूर्ण विद्युतीकरण योजनाले हालसम्म नसमेटेका बाँकी सबै टोल तथा बस्तीहरूलाई कर्णाली प्रदेश विद्युत् आयोजनाको ठेक्कामार्फत समेटिने गरी प्रक्रिया अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।