मस्को, पुस ७ गते । रुसले युरेशियन आर्थिक सङ्घ (ईएइयु)का सदस्य राष्ट्रसँगको पारस्परिक लाभमा आधारित सहकार्यलाई उच्च प्राथमिकता दिँदै आपसी सम्बन्ध थप विकास गर्न संयुक्त प्रयास तीव्र बनाउने योजना बनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार बताउनुभएको छ ।
सैन्ट पिटर्सबर्गमा सम्पन्न सङ्घको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युरेशियन आर्थिक सङ्घ बहुध्रुवीय विश्वको एक स्वतन्त्र र आत्मनिर्भर केन्द्रका रूपमा सुदृढरूपमा स्थापित भइसकेको उल्लेख गर्नुभयो । उहाँले सङ्घभित्रको सहकार्य निरन्तररूपमा स्थिर प्रगतिमा रहेको उल्लेख गर्दै यसले सदस्य राष्ट्र तथा सम्पूर्ण युरेशियन क्षेत्रको आर्थिक स्थायित्व र सहनशीलता सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो ।
विश्वव्यापी आर्थिक अनिश्चितताको पृष्ठभूमिमा यस्तो सहकार्य अझै आवश्यक रहेको उहाँको धारणा थियो । बैठकका क्रममा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले सन् २०२६ मा काजाकस्तानले युरेशियन आर्थिक सङ्घको घुम्ती अध्यक्षता सम्हाल्ने जानकारी दिनुभयो । हाल सन् २०२५ का लागि उक्त सङ्घको घुम्ती अध्यक्षता बेलारुससँग छ । युरेशियन आर्थिक सङ्घका सदस्य राष्ट्रमा आर्मेनिया, बेलारुस, काजाखस्तान, किर्गिस्तान र रुस छन् । रासस/सिन्ह्वा