हुम्ला समाचारदाता
हुम्ला, चैत १ गते । हुम्लामा १० हजारभन्दा बढी भेडाबाख्रालाई खोप लगाइएको छ । भेडाबाख्रामा लाग्ने महामारी (पिपिआर) रोगविरुद्ध खोप लगाइएको हो ।
सिमकोट गाउँपालिकाका पशु प्राविधिक विष्णु बुमीले गाउँपालिकाको १ देखि ८ वडामा १० हजार दुई सय भेडाबाख्रालाई पिपिआर खोप लगाइएको जानकारी दिनुभयो । भेडाबाख्रालाई यो खोप लगाउन लागि दुई जना प्राविधिकलाई एक हप्ता समय लागेको थियो । गाउँपालिकाको एउटै वडामा एक हजार नौ सय भेडाबाख्रालाई खोप लगाइएको भन्दै हिमाली क्षेत्रमा पिपिआर रोग भेडाबाख्रामा बढी देखिने भएको कारण रोग नलाग्दै खोप लगाएर सम्भावित जोखिमबाट बचाउने काम भएको बुमीले बताउनुभयो ।
पिपिआरविरुद्ध खोप अभियान सञ्चालन गरिएको भए पनि भ्याक्सिन अभाव भएको छ । वडा नं. १ र २ मा खोप लगाउने काम भइरहेको तर भ्याक्सिन सकिएपछि तत्कालका लागि रोकिएको छ । पशु प्राविधिक बुमीले लक्ष्यभन्दा बढी भेडाबाख्रा गाउँमा देखिएपछि शाखाले व्यवस्थापन गरेको भ्याक्सिन सकिँदा हाललाई उक्त रोगविरुद्धको खोप लगाउन तत्काल स्थगित गरिएको बताउनुभयो । ती वडामा चार हजार पाँच सय भेडाबाख्रालाई खोप लगाउन बाँकी रहेको अनुमान प्राविधिकको छ । अब पशु अस्पताल तथा पशु सेवा कार्यालयसँग समन्वय गरेर मात्र बाँकी भेडाबाख्रालाई खोप लगाइने छ । सिमकोट गाउँपालिकामा १४ हजार सात सय भेडाबाख्रा रहेका छन् ।
भेडाबाख्रालाई खोप लगाउनका लागि कम्पाउन्डसहितको खोप केन्द्र नभएका कारण हाल खोप लगाउनका लागि समस्या भइरहेको छ । खुला चौरमा खोप लगाउनुपर्दा भेडाबाख्रालाई नियन्त्रणमा राख्न समस्या भएको प्राविधिक बताउँछन् । यसले गर्दा किसान र प्राविधिकले समस्या भोग्दै आएका छन् । खोप केन्द्र नतोकिएका कारण प्राविधिक भ्याक्सिन बोकेर गोठ गोठ र भेडाबाख्रा राखिएको स्थानमा जानुपर्ने बाध्यता छ ।