शिवा तामाङ
काठमाडौँ, पुस ८ गते । युवा कलाकार मुकेश श्रेष्ठको ‘भैरवभाव’ एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । दरबारमार्गस्थित ग्यालरी १०८ मा उहाँको भैरव शृङ्खलामा उपत्यकाका विभिन्न क्षेत्रमा स्थापित रक्षा र न्यायका देवताका रूपमा परिचित भैरवको चित्रकलाको प्रदर्शनी भइरहेका छन् ।
कलाकार श्रेष्ठले गत भदौ २३ र २४ गते भ्रष्टाचार विरोधमा, सुशासनको मागसहित युवाको सहभागितामा भएको विद्रोहमा मानवीय र भौतिक क्षतिको पीडाले भैरव शृङ्खलामा काम गर्न प्रेरणा मिलेको जानकारी दिनुभयो । त्यस घटनापछि नेपाली युवा जमातले चाहेको पारदर्शी, जवाफदेही, न्याय व्यवस्थामा विश्वास गर्ने वा समय, (काल) अनुसारको व्यवहार गर्ने देवता भैरव हुन्, यही शृङ्खलामा काम गर्छु भन्ने अठोट लिनुभयो ।
कलाकार श्रेष्ठले काठमाडौँ उपत्यका, ललितपुर, कीर्तिपुरमा स्थापित भैरवलाई एक्रेलिक माध्यमबाट विशाल क्यानभासमा उतार्नुभएको छ । यस शृङ्खलामा चित्र बनाउँदा भैरवबारे लेखिएका विविध ग्रन्थ, विद्वान् वर्गका लेखरचना पढ्ने कोसिस गरेँ, ग्रन्थमा थुप्रै भैरवलाई समय परिस्थिति अनुसार अन्यायका विरुद्ध लड्न शिवले फरक फरक लक्ष्य, उद्देश्यले प्रकट गराइएका बलिष्ठ, न्यायका देवता शिवका गण पनि मानिने भैरवबारे अध्ययन गरेँ । भैरवले खराव वा दुष्ट शक्तिलाई कुल्चिएर सुशासन, शान्ति व्यवस्था कायम गर्न प्रेरित गरेको पाइयो ।” उहाँले जेनजी आन्दोलनमा होमिएका नेपाली युवाले पनि पारदर्शी र सुशासनका निम्ति आफ्नो ज्यानको समेत आहुति दिए, थुप्रै घाइते पनि भए । यस विद्रोहमा युवाको अत्यधिक शक्तिको दुरुपयोगस्वरूप जताततै आगलागी, तोडफोडसमेत भए । यस्तो परिस्थितिमा शक्तिको सही व्यवस्थापनका लागि आध्यात्मिक ज्ञान पनि चाहिने आवश्यकता महसुस गरेको बताउनुभयो ।
प्रदर्शनीमा कालभैरव, बाघभैरव, आकाशभैरव, उन्मत्तभैरव, बटुकभैरव, कीर्तिमुखभैरव र श्वेतभैरवसँगै उमामहेश्वरको चित्रकला प्रदर्शनमा राखिएका छन् । विश्वमा शान्ति स्थापना गर्न सकिने सन्देशका साथ कमलको फूल, गुलाफको फूलसहित भैरवका अनेक भावभङ्गी मुद्रामा शान्तभैरव पनि सिर्जना गर्नुभएको छ । उहाँले आकाशभैरव, कीर्तिमुखभैरवको शरीर बनाएकोमा कतिपय दर्शकले यी भैरवको मुखाकृति मात्र पुज्ने गर्दछन् । उहाँले शरीर किन बनाउनुभयो भन्ने प्रश्न पनि उठेको बताउनुभयो । उहाँले भन्नुभयो, “कलाकारको सिर्जनामा कलाकार स्वयम्को कल्पना र सिर्जनाशिल्प पनि मिसिन्छन्, यही विचारले मैले मुखाकृति मात्र पुजिने भैरवको कथनसँग जोडिएका अन्य पात्र र सन्देश बुझाउने कोसिस गरेको बताउनुभयो ।
श्रेष्ठको भैरवभाव कला प्रदर्शनी एकल कला प्रदर्शनीको आठौँ शृङ्खला हो । पछिल्लो समय उहाँको विशेष भाव र सन्देशका शृङ्खलाबद्ध चित्रकला ठुला क्यानभासमा पहेँलो पृष्ठभूमिसहित सेतो/कालो रङको प्रयोग गरी बनाउने रुचि बढेको छ । कालो/सेतो रङले हरेक भावलाई पारदर्शी ढङ्गले प्रस्तुत गर्न सघाउने उहाँको तर्क छ ।