• ८ पुस २०८२, मङ्गलबार

मालिकाको घुम्ती शिविरबाट २७ सयभन्दा बढीले पाए सेवा

blog

मालिका गाउँपालिकाको एकीकृत घुम्ती शिविर । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुंगा(गुल्मी), पुस ९ गते ।
गुल्मीको मालिका गाउँपालिकाले चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आठ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । मालिका गाउँपालिका–८ मर्भुङ्ग स्वास्थ्यचौकीबाट जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले एकीकृत घुम्ती शिविर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । उक्त कार्यक्रममा अध्यक्षसँग विद्यार्थी कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर (नाक, कान, घाँटी, आखाँ र दाँत) ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, पशु स्वास्थ शिविर, किसान सुचिकरण र रोजगार सेवा तथा परामर्शसम्बन्धी सेवा प्रदान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत विवेक खनालले जानकारी दिनुभयो ।

शिविरबाट दुई हजार ७५८ जनाले सेवा लिएका छन् । वडा नं १ मा ३०७, वडा नं २ बाट ३३०, वडा नं ३ बाट ३१७, वडा नं ४ बाट ३१८, वडा नं ५ बाट ३४३ वडा नं ६ बाट ४५३, वडा नं ७ बाट ३५० र वडा नं ८ बाट ३४० जनाले सेवा लिएको मालिका गाउँपालिकाका सूचना अधिकारी जगत पौडेलले जानकारी दिनुभयो । ८१४ जना कृषकले पशुको उपचार, औषधी र परामर्श सेवा पाएका थिए ।

मालिका गाउँपालिका प्रमुख देविराम अर्यालले शिविरमा स्थानीय नागरिकको उत्साहजनक सहभागीता रहेको बताउनुभयो । उहाँले शिविरसँगै योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण लगायतका अरु शाखाका काम पनि वडा स्तरमै पुगेर सेवा दिइरहेको बताउनुभयो । मालिका गाउँपालिका भुगोलले विकट भए पनि स्वास्थ्यको क्षेत्रमा अगाडि बढेको छ ।

मालिका गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । पालिकाका आठ स्वास्थ्यचौकी मध्ये सात वटाको नेपाल सरकारकै मापदण्ड अनुसारको भवन रहेका छन् भने ह्वाङदी स्वास्थ्यचौकी निर्माणको काम अगाडि बढेको छ । गाउँपालिकाका आठ वटै स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टर सञ्चालनमा छन् । तीन वटा सामुदायिक स्वास्थ्य केन्द्र मध्ये अर्जेबेसीको बाहेक दुई संस्थाको आफ्लै भवन रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक तारा जिसी अर्यालले जानकारी दिनुभयो ।

गाउँपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा भइसकेको छ । पोषणमैत्री बन्ने अभियान चलिहरेको छ । गाउँपालिकाले प्रत्येक टोलहरुमा पुगेर आँखा जाँच, शल्यक्रिया तथा अरु रोगहरुका लागि विशेषज्ञ स्तरको शिविरहरु गरिरहेको अर्यालले बताउनुभयो । गाउँपालिकाले हरेक स्वास्थ्य संस्थामा तीन/तीन महिनामा ग्रामीण अल्ट्रासाउण्ड सेवासहित अपाङ्गता परिचय पत्र वितरण नियमित रुपमा गरिरहेको छ ।