• २७ असार २०८२, शुक्रबार

कोषद्वारा बाजागुरुलाई सम्मान

blog

महानगरका उपप्रमुख सुनिता डंगोल । तस्बिरः मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौं, असार २६ गते । गुरुपूर्णिमाको अवसरमा ज्यापु संस्कृति विकास कोषले बाजागुरुलाई सम्मान गरेको छ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा परम्परागत ६३ ज्यापु त्वाःगुथिका गुरुहरुलाई सम्मान गरिएको हो ।

त्वाः गुथि, खलः पुचःका बाजा गुरुहरु कुनै विश्वविद्यालयभन्दा कम नभएको उपप्रमुख डंगोलले बताउनुभयो । व्यावहारिक ज्ञानलाई सैद्धान्तिक ज्ञानसँग कसरी लान सकिन्छ भन्ने कुरामा आफूले निरन्तर कोशिस गरिरहेको बताउनुहुँदै उपप्रमुख डंगोलले त्वाः खलःका बाजा गुरुहरुले आफूले जानेका ज्ञानहरु पुस्तान्तरण गर्दै आउनु भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । 


ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहले संस्कृतिलाई निरन्तररुपमा जीवित राख्न अमूल्य समय र ज्ञान बाँड्नुहुने गुरुवरलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । २२ औं मंका गुरुपूजाको अवसरसम्म आइपुग्न उहाँहरुको योगदान रहेको बताउनुभयो । 

यःमरी पुन्हिको अवसरमा मनाउँदै आइरहेको राष्ट्रिय ज्यापू दिवस यो वर्ष नरत्वाःलाई अभिभारा दिइएको छ । ज्यापू दिवस हरेक वर्ष फरक फरक टोलले आयोजना गर्ने गरी अभिभारा दिइएको जानकारी कोसका उपाध्यक्ष सन्त महर्जनले जानकारी दिनुभयो ।