• २७ असार २०८२, शुक्रबार

पानीको मुहानसँगै रित्तिँदै बस्ती

blog

दैलेखको नारायण नगरपालिका —१ कुइकानाका मुहान सुकेपछि धारा । तस्बिरः रजनी योगी

रजनी योगी

सुर्खेत, असार २६ गते । दैलेखको नारायण नगरपालिका –१ कुइकानाका प्रेम कोइरालालाई हिजोआज पुराना दिनको सम्झनाले हुरुक्कै बनाउँछ । नबनाओस् पनि किन ? ९२ घरधुरी थियो, गाउँमा १७ वटा पानीका मुहान थिए । हरेकले आफूलाई पुग्ने तरकारी फलाउँथे । सबैजसोका बारीमा सुन्तला, केरा र आँप लगायतका फलफूल थिए । समयअनुसार त्यो चित्र धमिलो बन्दै गयो । 

२०५९–६० साल यता एकपछि अर्को गर्दै पानीका कुवा सुक्दै गए । मूल नफुट्ने, फुटेकोमा पनि पहिलेजस्तो पानी नहुने समस्या देखिन थाल्यो । प्रेमको बगलमै थियो, मुहानबाट ल्याइएको पानीको धारा । मूल सुकेपछि पानी आउनै छाड्यो । त्यसपछि उहाँहरूलाई पानीका निम्ति टाढाको बाटो हिँड्नुपर्ने भयो । 

घर छेउछाउका मुहान सुक्न थालेपछि स्थानीय वरपरका कुवा धाउनुपर्ने बाध्यतामा पर्नुभयो । पानी बोकेर ल्याउँदाको दुःख उहाँहरूका निम्ति आकस्मिकता मात्र नभएर सधैंभरको बाध्यता बन्न थाल्यो । पानी सुक्दै जान थालेपछि खेतीपाती पहिलेजस्तो हुन छाड्यो । बस्तुभाउ पाल्न पनि अतिरिक्त दुःख गर्नुपर्ने बाध्यता थपियो । अनि त्यो बस्तीबाट मानिसहरु बसाइँ सरेर सुर्खेतको वीरेन्द्रनगर र बाँकेको नेपालगञ्जतिर सर्न थाले । 

प्रेमले सुनाउनुभयो, ‘अहिले त मुस्किलले ४० घर पनि गाउँमा छैनन् ।’ पानीको दुःखले बसाइँ सरेकाहरू फर्किनेवाला छैनन् । बाक्लो बस्ती, सुखदुःखमा सबै जना भेला हुने पुरानो प्रचलन र त्यतिबेलाको चाडबाडको रौनक सम्झेर अहिले पनि बेलाबेखत प्रेम चुकचुकाउनुहुन्छ । उहाँले थप्नुभयो, ‘पुराना दिन सम्झिनु मात्र भयो । अब त्यो रौनक गाउँमा खोजेर कहाँ पाउनु ?’ 

अहिले त समय बदलियो । समयसँगै मौसम बदलिन थाल्यो । बदलिँदो वातावरण र दृश्यमा देखिन थालेका जलवायु परिवर्तनका असरका कारण कर्णालीका धेरै गाउँले कुइकाना गाउँकै नियति भोगिरहेका छन् । वडा १ कै रातामाटा बस्तीकी मञ्जु नेपाली मुहान सुक्दा खोलाबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको सुनाउनुहुन्छ । 

वैशाख यता बिहान, दिउँसो र साँझ दैनिक तीन पटक उहाँलाई पानी लिन धारामा धाउनुपर्ने बाध्यता छ । उहाँले भन्नुभयो्, ‘कुवाको पानी सुक्यो, खोला खाप्साबाट पानीको जोहो गर्नु परिरहेको छ । सबै समय पानीका लागि खर्चिनुपरेको छ, गाउँमा भरपर्दाे पानीको मुहान छैन ।’ डाँडाको बस्ती भएकाले पानीको अभाव पुस्तौंदेखि भोग्दै आएको उहाँले सुनाउनुभयो । एक त डाँडामाथिको बस्ती । त्यसमाथि खानेपानीका मुहानै सुकेपछि हरेक दिन पानीकै पिरलो हुनेगरेको उहाँको दुखेसो छ । 

वर्सेनी सुक्खा र खडेरी बढ्दैगएको छ । पानीको स्रोत सुक्दैगएका छन् । जसका कारण उब्जनी हुन छोडेको छ । उब्जनी नै हुन छोडेपछि दैलेखको नारायण नगरपालिका १ कुइकानाका बस्तीहरू रित्तिँदै गएका छन् । 


कुइकानाका मानबहादुर केसीले घरमा ताल्चा लगाएर सुर्खेतको वीरेन्द्रनगरमा बस्न थालेको चार वर्ष भयो । गाउँमा पानीका मुहान सुक्दै गएपछि मानबहादुर गाउँ छाड्न बाध्य हुनुभयो । पानी खोज्दै हिँडेका उहाँका लागि कालान्तरमा आफ्नै थातथलो बिरानो भयो । बस्न छाडेपछि उहाँको पुरानो घर भत्किदै गएको छ । बस्ती खण्डहर र उराठलाग्दो छ । 

मानबहादुरलेझैं पानी खोज्दै बसाइ सर्नेहरु बढेपछि कुइकानाको सयौं हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ । ‘सिँचाइ र खानेपानीको मुहान सुकेपछि बस्न सक्ने स्थिति रहेन’ मानबहादुरले भन्नुभयोे, ‘जमिन सबै बाँझो हुँदैगयो । मानिस र पशुले पानी खान नपाएपछि थातथलो छाडेर बसाइ सर्नुपर्ने बाध्यता आएको हो ।’ उहाँले आफूले बाल्यकालदेखि नै कुइकानामा बिताए पनि अहिले पानीकै कारण छाड्न बाध्य भएको सुनाउनुभयो । 

वीरेन्द्रनगरमा बसे पनि मानबहादुरले गाउँको पुख्र्यौली सम्पत्ति बेच्नुभएको छैन । कानुनी रीत पु¥याएर बसाइँ सर्नुभएको पनि छैन । चार वर्षदेखि उहाँको जग्गा बाँझो छ । ‘घरमा बस्ने कोही पनि नपाएपछि ताल्चा लगाउनुपरेको छ’ मानबहादुरले भन्नुभयो । 

कुनै समय कुइकाना बस्ती उर्वर भूमिकै कारण गाउँ बाक्लो थियो । मानबहादुरको परिवार वीरेन्द्रनगर झर्दा भने घरमा सित्तैमा बस्ने मानिस समेत फेला परेनन् । ‘चार वर्षदेखि खेतबारी बाँझो छ’ उहाँले भन्नुभयो, ‘कमाइ गर्दै गरेको परिवारले छाडेपछि खेती गर्ने अर्को कोही फेला परेको छैन ।’

यस्तै, सोही वडाका पूर्णबहादुर केसीले पनि जन्मथलो छोडेको ६ वर्षभयो । ६ जनाको परिवारसहित उहाँ अचेल वीरेन्द्रनगरमै बस्न थाल्नुभएको छ । ६ वर्षअघि वीरेन्द्रनगर बसाइँ सर्नुभयो । जग्गाजमिन नबेची वीरेन्द्रनगर झरेका पूर्णबहादुर परिवारसहित सुर्खेत हुनुहुन्छ । जग्गाजमिन अलपत्र छोडेर वीरेन्द्रनगर आउनुभएका उहाँ चाडपर्व र पारिवारिक जमघटमा दैलेख जाने गरे पनि सहरका बासिन्दा भइसक्नुभयो । 

पछिल्ला वर्षहरूमा पहाडी जिल्लाको जग्गा जमिन बेचेर वा यसै छाडेर तराईमा बसाइँ सर्नेको संख्या बढ्दैगएको छ । परिवारका ऊर्जावान् युवाहरू व्यवसाय, रोजगारी र पढाइका लागि सहर बस्न थालेपछि पहाडको जमिन बिक्री हुन छोडेको छ । छोराछोरीहरू सुरक्षित भविष्यको खोजीमा गाउँ छोडेर हिँडेपछि जग्गा बाँझै राखेर बाबुआमा पनि पुख्र्यौली थलो छाडेर हिँड्न थाल्नुभएको छ । 

नारायण नगरपालिका १ बाट मात्र गतवर्ष २० घरपरिवारले बराइँसराइको प्रमाणपत्र लिएका थिए । बसाइँसराइ नलिइ गाउँ छोड्नेको संख्या पनि उल्लेखीय मात्रामा रहेको वडा १ का वडा अध्यक्ष शैलेश श्रेष्ठले बताउनुभयो । वडाले बसाइँसराइ रोक्ने योजनाअनुरुप आगामी आर्थिक वर्षमा डेढ करोड बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । 

खानेपानीको अभाव, गुणस्तरीय शिक्षा र उचित रोजगारीको अवसरको खोजीमा बसाइँसराइ गर्ने गरेको पाइएको उहाँको भनाइ छ । नारायण नगरपालिका दैलेख जिल्लाकै जेठो नगरपालिका हो । पालिकाले पनि गाउँमै रोजगारीका अवसर प्रदान गरेर बसाइँसराइ रोक्ने योजना ल्याएको नगरप्रमुख लोमन शर्माले बताउनुभयो । उहाँका अनुसार पालिकाबाट बसाइँ सरेर जाने र आउनेक्रम जारीछ । 

भौगोलिक हिसावले कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा सानो सल्यान र दोस्रो सानो जिल्ला दैलेख हो । जनसंख्या र मानव विकास सूचकांक हिसाबले सुर्खेतपछि दोस्रो हो यो जिल्ला । उत्पादकत्वका हिसाबले पनि राम्रै खेती हुने भएकोले आत्मनिर्भर जिल्ला हो । 

मुश्किलले चार हजार ४१६ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा पुग्छ, यो प्रतिशतका हिसावले १२ प्रतिशत मात्र हो । बाँकी जमिन आकाशे पानीको भरोसामा खेती हुन्छ । देशभरकै तेस्रो ठुलो कर्णाली नदी दैलेख भएरै बग्छ । लोहोरे, छामघाट र अरु साना खोलानाला गरी पानीका श्रोतहरु थुप्रै छन् ।


पानीका थुप्रै श्रोतहरु हुँदा पनि सिँचाइ योजना नगण्य मात्रामा छन् । दैलेखको क्षेत्र १५ सय ४ वर्ग किलोमीटर अर्थात एक लाख ५० हजार ५१ हेक्टर हो । त्यसमध्ये ४३ हजार १२१ हेक्टर खेतीयोग्य जमिनमध्ये ३४ हजार ४९७ हेक्टरमा खेती भइरहेको छ । 

खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखले राखेको तथ्यांकअनुसार जम्मा चार हजार ४१६ हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ । सिँचाइ आयोजनाहरु सकिंदै गर्दा यति क्षेत्रफलमा सिँचाइ पुगेको भनी लेखिएका तथ्यांक थपिंदै गर्दा चार हजार ४१६ हेक्टरमा बाह्रै महिना सिँचाइ पुगेको होला भनी अनुमान गरिएको छ । 

छैन सिँचाइ सुविधा

कर्णालीमा कृषियोग्य जमिनको क्षेत्रफल धेरै भए पनि सिँचाइको अभाव छ । हालसम्मको तथ्यांकले कूल सिञ्चित क्षेत्रफल २८.८ प्रतिशत मात्रै देखिएको छ । सुर्खेतमा ४५.५ प्रतिशत रहेको देखिन्छ । प्रदेशभर ५६.८ प्रतिशतले सिँचाइ सुविधा लिएको तथा सुर्खेतमा ६६ प्रतिशतले सिँचाइ सुविधा लिएका छन् । 

कृषि गणनाअनुसार कर्णाली प्रदेशमा मूख्य गरेर धान, मकै र गहुँको खेती बढी हुन्छ । २९ हजार २४१ हेक्टर जमिनमा धान खेती हुने गरेको छ भने ४० हजार ८३ हेक्टरमा मकै र ५१ हजार २६ हेक्टरमा गहुँ खेती भइरहेको छ ।

प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चालु आर्थिक वर्षमा एक हजार २०० हेक्टर जमिनमा सिँचाइ विस्तार गर्ने लक्ष्य लिएको छ । चालु वर्ष २०८१–८२ मा एक हजार २०० हेक्टर जमिनमा सिँचाइ सुविधा लग्ने लक्ष्ययसाथ काम गरिएको मन्त्रालयका सचिव इश्वरचन्द्र भट्टले बताउनुभयो । मन्त्रालयले खानेपानी, सिँचाइ तथा ऊर्जा विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ । 

आगामी आर्थिक वर्षमा सिँचाइका योजनालाई प्रभावकारी बनाएर कार्यान्वयनमा लैजाने गरी तयारी भइरहेको भट्टको भनाइ छ । उहाँका अनुसार जसका लागि एक अर्ब बजेट विनियोजन गरिएको छ । उक्त वर्ष सानाठूला गरेर ६११ वटा सिँचाइका योजना कार्यान्वयन गरिनेछ ।  

हिउँ हराएको हिउँद 

यो वर्षको हिउँदमा हिउँ हराएको छ । हिउँदमा हिउँ नपर्दा भावीपुस्ताका लागि कतै एकादेशको कथा त बन्ने होइनन् भन्ने चिन्ता थपिएको छ । जलवायु परिवर्तनका कारण यस वर्ष कर्णालीको हिमाली जिल्लामा हिमपात कम भएको पाइएको छ । विशेष गरेर पुस र माघमा हिउँ पर्छ । अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्नुकुमार भाम बताउनुहुन्छ । उहाँका अनुसार यो वर्ष हिउँ नै देखिएन । हिउँ पर्ने समयमा भने मुसलधारे पानी परेको थियो । 

पर्याप्त हिमपात भएको अवस्थामा उत्पादन वृद्धि हुने गर्दछ । हिमपात भएन भने सुख्खा लागेर उत्पादन घट्ने नगरप्रमुख भामले बताउनुभयो । यो वर्ष भने सोचेजस्तो हिमपात नभएको मुगुका कृषक भरतबहादुर सुनारले बताउनुभयो । उहाँका अनुसार गत वर्षहरुभन्दा उत्पादन ह्वातै घटेको छ । 

यस वर्ष हिमाली जिल्ला हुम्लामा हिमपात नभएपछि किसान चिन्तित भएका छन् । सिमकोट गाउँपालिका वडा ५ का किसान सुन्दर रावतले हिउँदमा हिउँ परेन भने अहिलेसम्म पानी नपरेको बताउनुभयो । उहाँका अनुसार खेतमा लगाएको जेठासी बाली (जौ, उवा र गहुँ) पनि राम्रो उत्पादन भएन । 

उहाँले भन्नुभयो,‘ हिउँमा हिउँ नपर्दा गतवर्ष भन्दा ५० प्रतिशतले उत्पादन घटेको छ, हिमाली क्षेत्रमा बाढी आउने, जंगल विनाश भइरहेको छ । खेतिबाली पनि पहिलाभन्दा कम उत्पादन भएको । हिउँ नपर्दा स्याउ राम्रो उत्पादन भएको छैन । पातलो फल्ने, सानो दाना लाग्ने गरेको उहाँले बताउनुभयो । अहिले पानी नपर्दा खानेपानीका मुहान सुक्दै गएको छ । 

यसैगरी, सिमकोट गाउँपालिका वडा ६ का मुकुन्द्र रोकायले हिमपात नभएका कारण स्याउ राम्रोसँग नफलेको बताउनुभयो । उहाँले स्याउ र ओखरका बिरुवा सुक्दै गएको, साना दाना लागेको जानकारी दिनुभयो । यो हिउँदमा हिउँले सेताम्मे हुनुपर्ने डाँडाकाँडा काला र धुलाम्मे देखिन थालेपछि हिउँद लागेको आभास समेत नभएको बताउँदै मौसममा आएको परिवर्तनले कृषि बालीमा ठूलो असर परेको जानकारी दिनुभयो । 

उहाँले पानीका मुहान समेत सुक्न थालेपछि जिल्लाभर खानेपानीको समस्या देखिन थालेको गुनासो गर्नुभयो । 

त्यस्तै, खार्पुनाथ गाउँपालिका वडा ४ का बबरजंग हमालले हिमालमा हिउँ नपर्दा निक्कै चिन्तित भएको बताउनुभयो । उहाँले पुस महिनामा परेको हिउँ सिला र माघ महिनामा परेको हिउँ बिला भन्ने स्थानीय उखान सम्झँदै यसवर्ष गुच्ची च्याउ पनि राम्रो उत्पादन नभएको सुनाउनुभयो । 

यसअघि पुस महिनामा हिउँ नपरेको आफूलाई जानकारी नभएको बताउँदै हमालले हिउँदमा हिउँ नपर्नु राम्रो नभएको जानकारी दिनुभयो । १० वर्ष अगाडि पुस महिनामा चार फिट हिउँ परेर घरको गोठबाट पशु बस्तु निकाल्न नसकिएको सुनाउँदै उहाँले यस पटक हिउँदमा हिउँ नै नपरेको बताउनुभयो । 

जलवायु परिवर्तनको चपेटामा कर्णाली 

कर्णाली प्रदेश जलवायु परिवर्तनको चपेटामा छ । कृषि, जलस्रोत, वनस्पतिमा जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिएको छ । कृषि र वनस्पतिमा मात्र नभइ प्रदेशका नागरिकको जीवनयापनमाmअसर देखिन थालेको विज्ञहरू बताउँछन् । अनुसन्धानकर्ता भुपेन्द्र शाहीले पछिल्लो समय हिमाली क्षेत्रका नदीनाला सुक्दै जानु, हिउँ पर्नेक्रम पनि कम हुनु, खेतिबालीमा रोगकिराको प्रकोप बढ्नु जलवायु परिवर्तनको असर भएको बताउनुभयो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले जलवायु परिवर्तनले पार्ने असरहरूमा कर्णाली अग्रपङ्तिमा रहेको बताउनुभयो । ‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ’ उहाँले भन्नुभयो, ‘त्यसमा कर्णाली झन विशेष छ । 

हिमाली जिल्लामा हिमताल बढेको छ । जसलेगर्दा बाढी आउने सम्भावना बढी छ ।’ पछिल्लो समय मनसुन परिवर्तनसँगै पानीको मात्रा घटबढ भइरहेको उहाँले बताउनुभयो । ५—६ दिनमा पर्ने पानी एकै दिनमा पर्ने र त्यसले ठुलो क्षति गर्नेगरेको उहाँले जानकारी दिनुभयो । जलवायु परिवर्तनमा देखिएको असर न्यूनीकरणका उपाय बारेमा अनुसन्धान आवश्यक रहेको शर्माको भनाइ छ । 

पछिल्ला वर्षहरूमा कृषि उत्पादनमा ह्रास आएको छ । नयाँ खालका रोगहरू देखा पर्न थालेका छन् । यसले कर्णाली प्रदेशको कृषि उत्पादन घट्दै गएको छ । जलवायु परिवर्तनको असर कृषिमा पर्दा उत्पादन घट्दैगएको हो । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका निमित्त सचिव परशुराम रावत कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रत्यक्ष असर परिरहेको बताउनुहुन्छ । 

बाढी–पहिरोले खेतीयोग्य जमिन बगाएको छ । फलफूलमा विभिन्न किसिमका रोगकिराको प्रकोपले गर्दा उत्पादन घटेको छ । रावत भन्नुहुन्छ्, ‘फल्ने समयभन्दा अगाडि नै फलफूल फूल्ने, दाना लाग्ने भइरहेको छ । जसलेगर्दा उत्पादन र गुणस्तर कम हुन्छ ।’ 

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका जलवायु परिवर्तन विशेषज्ञ डा. सालु अधिकारीकाले २६ भाद्र २०७९ ‘जलवायु परिवर्तन र कर्णाली’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै आगामी वर्षमा जलवायु परिवर्तनको असर यहाँको कृषि क्षेत्रमा पर्ने औल्याउनुभयो । 

उहाँका अनुसार वन जैविक विविधता र जलस्रोत विषयमा गरिएको अध्ययनमा कर्णालीमा उत्पादन हुने रैथाने कृषि वस्तुको पहिचान हराउँदै गएको छ । ‘कर्णालीमा उत्पादन हुने फलफूल र खाद्यवस्तुको चिनारी बिस्तारै मेटिँदैगएको देखिन्छ’ कार्यपत्र अनुसार्, ‘प्रदेशको अर्गानिक अवधारणालाई आत्मसात् गर्न थप अध्ययनको आवश्यकता छ ।’

विज्ञहरुका अनुभवले मात्र हैन, तथ्याङ्कले समेत बर्सेनी पानी पर्नेक्रम घटबढ रहेको देखाउँछ । जल तथा मौसम विज्ञान विभागको मौसमी तथ्यांक केलाउँदा झरी पर्ने दिन क्रमशः घट्दैगएको देखिएको छ । मुसलधारे पानी पर्नेक्रम भने बढ्दो छ । कम्तिमा तीन दिनसम्म लगातार एकदेखि १० मिलिमिटरसम्म निरन्तर वर्षा हुने क्रमलाई सामान्यतया झरी भनिन्छ । यो मौसमी अवस्था सन् २००० देखि झन तीव्ररुपमा घटेको तथ्यांकले देखाउँछ ।   

२०१८ देखि २०२५ सम्मको मनसुन अवधि (जुनदेखि सेम्टेम्बर) को प्राप्त विवरण विश्लेषण गर्दा त्यस्तो प्रवृत्ति देखिएको मौसम विज्ञान विभागका मौसम विज्ञान सहायक उर्मिला काफ्लेले बताउनुभयो । २०१८ मा एक हजार ३३६. ५ मिलिलिटर वर्षा भएको थियो । २०१९ मा बढेर एक हजार ४८६.१ मिलिलिटर वर्षा भएको पाइएको छ । 

सन् २०२५ को हालसम्ममा २६९.३१ मिलिलिटर वर्षा भएको छ । यसैगरी हुम्लाको सिमकोट मापन केन्द्रको तथ्यांकले पनि पानी पर्नेक्रम घटबढ रहेको देखाएको छ । २०१८ मा ७९८.५ मिलिलिटर वर्षा भएको सहायक काफ्लेले बताउनुभयो । २०१९ मा ३९१.४, २०२० मा ८१८.४६, २०२१ मा एक हजार १७०.०८,२०२२ मा ८२७.९९, २०२३ मा ६७२.५५, २०२४ मा ८८४.१८ र २०२५ को हालसम्म १४९.५७ मिलिलिटर वर्षा भएको छ ।   

मनसुन प्रवेश पछाडि धकेलिँदै    

सामान्यतया नेपालमा मनसुन प्रवेश गर्ने मिति जुन १० मानिन्छ । सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महीनामा मनसुनको समयमा कूल वर्षाको ८० प्रतिशत वर्षा हुन्छ । यसैगरी प्रिमनसुनको समय (मार्चदेखि मेसम्म) मा करिब १२ प्रतिशत, मनसुनपछि (अक्टोबर र नोभेम्बर) चार प्रतिशत र हिउँद (डिसेम्बरदेखि फेब्रुअरी) तीन दशमलव पाँच प्रतिशत वर्षा हुनेगरेको छ ।   

अनुकूलित कार्यक्रम कार्यान्वयन गरिँदै

कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जलवायु अनुकूलित कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । आगामी आर्थिक वर्षबाट जलवायु अनुकूलित कार्यक्रम कार्यान्वयन गर्न लागेको हो । सञ्चालन भइरहेका कार्यक्रममा समेत जलवायु न्यूनीकरण विषय समावेश गरेर कार्यक्रम कार्यान्वयन गरिने प्रदेश सरकारले जनाएको छ । 

प्रदेश सरकारले गाउँ फर्केर बाँझो जमिन उपयोग गर्नेलाई अनुदान दिने गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जग्गाविहीन नागरिकलाई गाउँमा फर्किनका लागि आकर्षण गर्ने उद्देश्यले लिजमा जग्गा उपलब्ध गराउँदै आएको छ । 

हरेक वर्षको बजेट नीति तथा कार्यक्रममा उक्त योजना राखेर कार्यान्वयन गर्ने गरिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत उक्त विषय उल्लेख गरिएको छ । सिँचाइ बिउँ र लिजमा जग्गा उपलब्ध गराएर अनुदानमार्फत प्रोत्साहन कार्यक्रम राखिएको मन्त्रालयका निमित्त सचिव परशुराम रावतले बताउनुभयो । उहाँका अनुसार आगामी वर्षको कार्यक्रममा गाउँ फर्केर कृषि गर्नेलाई शतप्रतिशत अनुदान कार्यक्रम राखिएको छ ।