शंकर केसी
सल्यान, चैत ४ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले विगतका अलपत्र आयोजना सम्पन्न गर्नेतर्फ प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।
उहाँले सल्यान त्रिवेणी गाउँपालिकाको काभ्रामा सोमबार नयाँ मोटरेबल पुलको उद्घाटन गर्दै राज्यको लगानी भएका र अलपत्र परेका योजना सम्पन्न गर्नु पहिलो प्राथमिकता भएको बताउनुभयो ।
‘हामी जनप्रतिनिधि मात्र सक्षम भएर विकासको गति अगाडि बढ्दो रहेनछ’ मुख्यमन्त्री कंडेलले भन्नुभयो, ‘हामी निर्णय गर्न हतार गर्छाैं । कानुन, प्रक्रियासँग मिल्छकि मिल्दैन भन्ने हेक्का नराखेर निर्णय सजिलै गरिदिन्छौँ । जहाँ जनता देख्यो मागेका योजना हुन्छ भन्यो हिड्दियो । यो आधारबाट हिजो योजना छनौट गर्ने अवस्था रहिआएको थियो । राज्यको लागानी भएका र सम्पन्न हुनसक्ने योजनालाई प्राथमिकता दिइएको हो ।’
कर्णाली प्रदेशका काम गर्ने निर्माण व्यवसायीको भुक्तानीमा समस्या नहुने उहाँको भनाइ छ । जनताको बिश्वास आर्जन गर्ने र केही रीतिथितिमा परिवर्तन गरौं भनेर योजना छनौटको विधि बनाएको भन्दै कंडेलले कार्यान्वयनमा गइसकेको जानकारी गराउनुभयो ।
यसअघि त्रिवेणी गाउँपालिकाले आयोजना गरेको ज्येष्ठ नागरिक संरक्षण तथा प्रवर्धन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कंडेलले ज्येष्ठ नागरिकका अनुभव ग्रहण गर्न सकियो भने दक्ष बन्न सकिने धारणा राख्नुभयो ।
त्रिवेणी तीर्थशाला धाममा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान र ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्दै उहाँले सम्पत्ति हुँदासम्म घरका हजुरबुवा, हजुरआमा वा आमावुवालाई माया गर्ने तर त्यो सम्पत्ति आफ्नो नाममा हस्तान्तरण भएपछि आफ्नै सन्तानले हेर्ने दृष्टीकोण बदलिने अवस्था अझै रहेकाले यसलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।