• २ चैत २०८२, सोमबार

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

blog

काठमाडौँ, चैत १ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ ।  

त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषद्को बैठकले आगामी वर्षदेखि मानविकी सङ्कायअन्तर्गत संस्कृत विषयमा विद्यावारिधि प्रदान गर्ने निर्णय गरेको सङ्कायका सहायक डिन डा बामदेव अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक सय दिनभित्रमा मानविकी सङ्कायका सबै परीक्षाका नतिजा प्रकाशित गरिने निर्णयसमेत गरिएको छ । 

यस्तै, त्रिविले आमसञ्चार तथा पत्रकारितामा रङ्गमञ्च कार्यक्रम सञ्चालन गर्न लागिएको सहायक डिन डा अधिकारीले जानकारी दिनुभयो । यसैगरी महोत्तरीको बर्दिवासस्थित नवक्षितिज कलेजको सम्बन्धन खारेजी, रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गलाई आमसञ्चार तथा पत्रकारिता र सरस्वती क्याम्पस ठमेललाई राजनीतिशास्त्र विषयमा स्नातकोत्तर तहको अध्यापन अनुमतिलगायत निर्णय गरेको उहाँले बताउनुभयो । रासस