झापा, चैत १ गते । मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप ९एन्टी रेबिज भ्याक्सिन०को अभाव भएको छ ।
सरकारी कोटाअनुसार आउने खोपको आपूर्ति ढिलो भएपछि अभाव भएको नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले बताउनुभयो। यसले गर्दा स्थानीयले महँगो मूल्य तिरेर निजी क्लिनिकमा खोप लगाउन बाध्य हुनुपरेको उहाँले बताउनुभयो ।
नगरपालिका–१० स्थित मेचीनगर आधारभूत अस्पतालमा विगत १५ दिनदेखि खोपको मौज्दात सकिएको हो । स्वास्थ्य शाखा प्रमुख सापकोटाले नगरमा मासिक पाँच सयदेखि एक हजार डोजसम्म खोप खपत हुने भए पनि माथिल्लो निकायबाट महिनामा जम्मा दुई सयदेखि तीनसय डोज मात्र उपलब्ध हुँदा समस्या भएको बताउनुभयो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत कोशी प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा आउने खोप त्यहाँबाट स्थानीय तहले पाउने व्यवस्था छ । खोपको मात्रा बढाइदिन आग्रह गर्दै प्रदेश आपूर्ति केन्द्रमा पत्राचार गरिए पनि हालसम्म खोप प्राप्त नभएको प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
सरकारी अस्पतालमा सहुलियत दरमा पाइने सेवा नपाउँदा न्यून आय भएका नागरिकहरू थप आर्थिक मर्कामा परेका छन् । सरकारी अस्पतालमा रु ३५० बुझाउँदा तीन पटकको पूर्ण डोज खोप उपलब्ध हुने गरेकामा हाल निजी क्लिनिकले प्रतिपटक रु ६५० सम्म शुल्क लिने गरेको जनगुनासो छ ।
स्वास्थ्य कार्यालय झापाका ‘स्टोरकिपर’ युवानाथ बरालले केन्द्रले स्थानीय तहका अस्पतालमा सिधै सुई पठाउने प्रणाली भएकाले जिल्ला तहमा यसको मौज्दात र अभावबारे जानकारी नहुने बताउनुभयो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तोकेरै पालिकाहरूमा खोप पठाउने हुँदा समन्वयमा समेत समस्या देखिएको उहाँको भनाइ छ । रासस