• ३ चैत २०८१, आइतबार

खाना पकाउन दाउराकै भर

blog

हुम्ला समाचारदाता 

हुम्ला, चैत ३ गते । हुम्ला जिल्ला अनौपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको भए पनि ९३ प्रतिशतभन्दा बढी घरधुरीले अझै पनि खाना पकाउन दाउराकै सहारा लिनु परिरहेको छ । विकल्पमा खाना पकाउने ग्यास र विद्युत्को व्यवस्था नभएपछि जिल्लावासीलाई दाउरामै भर पर्नुपर्ने बाध्यता रहेको हो । 

उत्तरी चीनसँग जोडिएको नाम्खा गाउँपालिका–५ को यारी गाउँका लार्गेल लामाले आफ्नो गाउँका ६५ घरधुरी सबै दाउराकै भरमा खाना पकाउने बनाउनुभयो । उक्त गाउँमा चिनियाँ र नेपाली खाना पकाउने ग्यास पुग्ने अवस्था रहेको भए पनि आम्दानीको स्रोत नभएका कारण जङ्गलबाट ल्याएको दाउरा प्रयोग गर्नु परिरहेको उहाँले बताउनुभयो । नाम्खा गाउँपालिकामा १९ वटा बस्ती रहेका छन् । ती बस्ती सबैमा दाउराको प्रयोग हुने गरेको छ । हतारको बेला फाट्टफुट्ट रूपमा गाउँपालिका केन्द्र याल्वाङमा ग्यासको प्रयोग गरिए पनि दाउराकै भर पर्नु परेको छ । सर्केगाड गाउँपालिका–५ को गोठीगाउँका कर्णजङ्ग शाहीले गाउँपालिका केन्द्र सर्केगाडमा बाहेक आठ वटै वडाका २३ वटा बस्तीका सबै घरधुरीमा भान्सा दाउराबाटै सञ्चालन हुने गरेको बताउनुभयो । 

सर्केगाडमा बस्दै आएका घरधुरीले पनि दाउराको चुलो सञ्चालन गर्न भने नछोडेको उहाँले बताउनुभयो । उहाँले दाउरा सित्तैमा जङ्गलबाट टिपेर ल्याउँदा पनि हुने तर ग्यास चुलो प्रयोगका लागि अनिवार्य आर्थिक आवश्यक पर्ने भएका कारण ग्यास पुगेपछि प्रयोग गर्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । खार्पुनाथ गाउँपालिका–१ का टक्कबहादुर शाहीले दाउरा नै इन्धनको मुख्य स्रोत रहेको बताउनुभयो । उहाँले आफ्नो गाउँपालिकाका शतप्रतिशत घरधुरीले दाउरा नै प्रयोग गर्ने गरेको बताउदै अझै केही वर्ष दाउराले नै निरन्तरता पाउने बताउनुभयो । सदरमुकाम सिमकोट, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका केही घरधुरीले भने ग्यास चुलोको प्रयोग गर्दै आउनुभएको छ । उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले पछिल्लो समय ग्यास व्यापारीबाट लिएको तत्थ्याङ्क अनुसार जिल्लामा हुम्लाका स्थायी बासिन्दामध्ये ९४६ जनाले मात्र सात वटै गाउँपालिकामा ग्यासको प्रयोग गरिरहेको बताउनुभयो । 

अझै १० हजार २०४ घरधुरीले ग्यास दाउराको चुलोबाट भान्सा चलाइरहेका छन् । पछिल्लो जनगणना अनुसार हुम्ला जिल्लाको कुल जनसङ्ख्या ५५ हजार ३९४ रहेको छ । अझै पनि ९३.५६ प्रतिशत दाउरामै खाना पकाउने गरेका छन् । ६.४४ प्रतिशतले मात्र ग्यास चुलो प्रयोग गरिरहेको अवस्था रहेको छ ।