• २ चैत २०८१, शनिबार

शैक्षिक पूर्वाधार निर्माण गर्न एक अर्ब

blog

रजनी योगी

सुर्खेत, चैत २ गते । कर्णाली प्रदेश सरकारले यो वर्ष शैक्षिक पूर्वाधार निर्माण योजनालाई प्राथमिकतामा राखेको छ । बजेटको स्रोत सुनिश्चित गरेर मात्र पूर्वाधार निर्माण गर्ने नीति अनुरूप काम अघि बढाइएको छ । यो वर्ष प्रदेशभर साना ठुला गरेर ३७० वटा शैक्षिक पूर्वाधार निर्माण गर्न लागिएको हो । 

यसअघि बजेटको स्रोत सुनिश्चित नहुँदा विद्यालयका भवन अलपत्र पर्ने गरेका थिए । यो वर्ष भने बजेटको स्रोत सुनिश्चित गरेर मात्र पूर्वाधार निर्माण गर्ने जनाइएको छ । ३७० वटा शैक्षिक पूर्वाधार निर्माण गर्न एक अर्ब १० करोड बजेट विनियोजन गरिएको मन्त्रालयका उपसचिव जवाहरलाल हमालले बताउनुभयो । 

ठाउँ ठाउँमा शैक्षिक पूर्वाधार निर्माण गर्न थालिएको छ । दर्जनभन्दा बढी क्याम्पसको पूर्वाधार निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको छ । गत वर्ष बजेटको स्रोत सुनिश्चित नगरी पूर्वाधार निर्माणको काम थाल्दा शैक्षिक भवन अलपत्र हुने गरेका थिए । यो वर्ष बजेटको स्रोत सुनिश्चित गरेर मात्र पूर्वाधार निर्माण गर्ने सरकारको नीति अनुरूप काम सुरु गरिएको छ । दर्जनभन्दा बढी क्याम्पसका भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरेर काम सुरु गरिएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । सुर्खेतका विभिन्न पालिकामा शैक्षिक पूर्वाधार निर्माणको काम सुरु गरिएको निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले बताउनुभयो । उहाँका अनुसार ठाउँ ठाउँमा क्याम्पस पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । 

पूर्वी सुर्खेतको रामघाटमा रहेको कृषि क्याम्पसको भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको छ । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि विज्ञान क्याम्पसको भवन निर्माणका लागि एक करोड बजेटको स्रोत सुनिश्चित गरिएको हो । भवन निर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढेको शिक्षा विकास निर्देशनालय सुर्खेतका इन्जिनियर शेरबहादुर महताराले बताउनुभयो । उहाँका अनुसार भवन निर्माणको काम धमाधम अगाडि बढेको छ । 

भवन निर्माणका लागि माउन्टेन शिवालिका कन्स्ट्रक्सन वीरेन्द्रनगर र शिक्षा विकास निर्देशनालय सुर्खेतसँग ६१ लाख रुपियाँमा ठेक्का सम्झौता गरिएको छ । २०८१ साल पुस २१ गते भवन निर्माणका लागि सम्झौता गरिएको हो । सम्झौता अनुसार २०८२ जेठ ३० सम्म भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । अहिले ठेक्का सम्झौता भई भवन निर्माणको काम भइरहेको महताराले बताउनुभयो । प्रदेशका विभिन्न जिल्लामा शैक्षिक पूर्वाधार निर्माणको काम थालिएको छ । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सुर्खेत बहुमुखी क्याम्पसको भवन निर्माणको काम सुरु गरिएको छ । बजेटको स्रोत सुनिश्चित गरेर निर्माण सुरु गरिएको निर्देशनालयले जनाएको छ । उक्त भवन निर्माणका लागि डेढ करोड बजेटको स्रोत सुनिश्चित गरिएको हो । शब्द कन्स्ट्रक्सन वीरेन्द्रनगर र शिक्षा विकास निर्देशनालयबिच भवन निर्माणका लागि ठेक्का सम्झौता भएको हो । ८३ लाख रुपियाँमा भवन निर्माणका लागि सम्झौता गरिएको निर्देशनालयका इन्जिनियर महताराले बताउनुभयो । उहाँका अनुसार २०८१ साल पुस २१ गते भवन निर्माणका लागि सम्झौता गरिएको हो । सम्झौता अनुसार २०८२ साल जेठ ३० सम्म भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । शैक्षिक पूर्वाधार निर्माण कार्य अन्तर्गत सुर्खेतसहित अन्य जिल्लामा पनि सम्झौता भई धमाधम काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाइएको छ । यो वर्ष स्थानीय सरकारलाई बढी अपनत्व लिने गरी भवन निर्माणको जिम्मासमेत दिइएको छ ।