मेघौली जङ्गल सफारीमा पर्यटकको आकर्षण
बाघ, गैँडा देखिन थालेपछि पश्चिम चितवनको मेघौली क्षेत्रमा जङ्गल सफारी गर्ने पर्यटकको सङ्ख्या बढेको छ । सफारीका लागि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र सौराहाबाट प्रवेश गरेर पश्चिमतर्फ कसरासम्म आउने गर्छन् । सौराहाको प्रवेश क्षेत्रमा गैँडाको सङ्ख्या कमी हुँदै गएको र निकुञ्जको पश्चिम मेघौली, अमलटारीको विभिन्न स्थानमा जनावरको सङ्ख्या बाक्लो हुन थालेपछि सफारीको आकर्षण मेघौली बनेको हो ।
२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न : परीक्षण उत्पादन सुरु हुँदै
पच्चीस २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।
आँधीखोला पुल छ वर्षमा पनि सकिएन
भिरकोट नगरपालिका–२ र ५ जोड्ने आँधीखोला मोटरेबल पुल छ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । तीन वर्षमा काम सक्ने गरी थालिएको पुल सम्झौता गरेको छ वर्षसम्म पनि पूरा नभई अलपत्र छ । पुलको हालसम्म भौतिक प्रगति ७२ प्रतिशत र वित्तीय प्रगति ७१ प्रतिशत भएको इन्जिनियर सागर भण्डारीले बताउनुभयो । रायमाझी–दी क्याराभान काठमाडौँले सडक डिभिजन कार्यालय पोखरासँग २०७५ असार २६ गते सम्झौता गरेर काम अगाडि बढाएको थियो । अनुमान लागतमा ३३.२६ प्रतिशत छाडेर निर्माण कम्पनीले १४ करोड २६ लाख ३७ हजार ४२० रुपियाँ सम्झौता गरेको थियो ।
राष्ट्रिय परिचयपत्रका लागि प्रशासन धाउँदै वृद्धवृद्धा
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउन इलाका प्रशासन कार्यालय वालिङमा दिनहुँ भिड लागिरहेको छ । यसअघि वडा तहमा राष्ट्रिय परिचयपत्रको फोटो खिचाउन घुम्ती शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा फोटो खिचाए पनि राष्ट्रिय परिचयपत्र नम्बर भने नआएको र शिविरबाट छुटेका इलाका प्रशासन कार्यालयमा पुग्ने गरेका छन् । फोटो खिचाउनेमा वृद्धवृद्धा बढी देखिन्छन् । धेरै वृद्धवृद्धा भने सामाजिक सुरक्षा भत्ता नपाइने डरले फोटो खिचाउन प्रशासन पुग्ने गरेका छन् ।
विदेशी रोजगारी छाडेर स्वदेमै कृषिकर्ममा रमाएका सन्तोष जिसी
पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उहाँले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहनुभएको छ ।
स्वास्थ्य बिमाको पहुँच पुग्न सकेन
सरकारले स्वास्थ्य बिमालाई प्राथमिकता दिए पनि यहाँका ५५ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर छन् । स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय गुल्मीका अनुसार ५५ प्रतिशत नागरिक पहुँचबाहिर रहेका छन् भने ४५ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा रहेका छन् । २०७८ सालको जनजगणना अनुसार जिल्लाको कुल जनसङ्ख्या दुई लाख ४६ हजार ८३६ छ । कार्यालयका अनुसार अहिलेसम्म ५३ हजार ८९३ जना पुरुष र ५७ हजार ७०६ महिला गरेर एक लाख ११ हजार ५९९ जनाले स्वास्थ्य बिमा गरेका छन् ।
व्यावसायिक बाख्रापालनतर्फ किसानको आकर्षण
बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।
झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा
झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो ।
पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण
म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण गरिएको थियो ।
ड्र्यागन खेतीमा युवाको आकर्षण
कैलालीको घोडाघोडी नगरपालिका–८, जरहीका करण साउद ड्र्यागन (सिउँडी) फलको खेती गरी मनग्गे आम्दानी गर्न थाल्नुभएको छ । वैदेशिक रोजगारीका सिलसिलामा भारतको पन्जाबमा लामो समय बिताएका साउद बल्ल बुद्धि फिरेको बताउनुहुन्छ । इन्टरनेटको माध्यमबाट सिउँडी फल खेतीबारे जानकारी पाएपछि उहाँले भारतबाट नै बेर्ना ल्याएर व्यावसायिक खेती थाल्नुभएको थियो । तीन कट्ठा जमिनमा सिउँडी फल लगाएको तीन वर्षपछि आम्दानी दिन थालेको छ ।
राजधानी पुग्न न बस, न प्लेन
सङ्घीय राजधानी काठमाडौँ जाने बस सेवा बन्द भएको करिब चार वर्ष बितिसकेको छ । प्रदेश राजधानी धनगढीसम्म जोड्ने हवाई सेवा पनि तीन वर्षदेखि ठप्प छ । लामो दुरीको बस र प्रदेश राजधानीको हवाई सेवा बन्द हुँदा बर्खाका बेला स्थानीयलाई मर्का परेको छ । जिल्ला सदरमुकाममा बसपार्क भए पनि काठमाडौँ चल्ने लामो दुरीको बस सेवा सुचारु छैन । करिब १७ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको पाटन विमानस्थल पनि २०७८ चैत ११ गतेदेखि बन्द छ । विमानस्थलको धावनमार्ग र टर्मिनल भवन आकर्षक छ तर यहाँबाट न हवाई उडान सञ्चालनमा छ, न त काठमाडौँ जाने बस नै पाइन्छ ।
रहरैरहरमा कलाकर्ममा व्यस्त रक्षा
‘झिम्के मामा’ नाटकबाट अभिनय थाल्नुभएकी रक्षा थापा छ वर्षदेखि अभिनय कर्ममै हुनुहुन्छ । कक्षा १२ को परीक्षा दिएर बसेको समयमा लहैलहैमा रङ्गमञ्चमा पाइला राख्न पुगेकी रक्षा यतिबेला चाहिँ व्यावसायिक कर्मकै रूपमा जुट्नुभएको छ । रक्षाले झिम्के मामा, कन्नन हरलता, ताप, त्रयम, अङ्कुरन, बत्तीमुनिको उज्यालो जस्ता नाटकमा अभिनय गरिसक्नुभएको छ । चलचित्र क्षेत्रमा पाइला टेकाइसकेकी रक्षाको इच्छा छ, “वर्षमा एउटा भए पनि नाटकमा अभियन गर्ने रहर पुगेको छैन ।”
पोखरामा ब्युँताइयो ‘लाखेनाच’
पोखराका नेवार समुदायले घण्टाकर्णदेखि श्रीकृष्ण जन्माष्टमी पर्वसम्म (करिब १५ दिन) ‘लाखेनाच’ प्रदर्शन गर्दै आएका छन् । लाखेको मखुन्डो लगाएर बाजाको तालमा लाखे नचाइन्छ । बर्सेनि प्रदर्शन गरिने लाखेनाच केही समय स्थगित गरिएको थियो । २०७४ सालमा रामबजार तायःमचाः समितिले प्रदेश स्तरको लाखेनाच प्रतियोगिता आयोजना गरे पनि निरन्तरता पाउन सकेको थिएन । नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार दुई वर्षअघि प्रतियोगिताकै रूपमा लाखे नचाउन पुनः थालिएको हो । पोखरामा हरेक वर्ष देखाइँदै आएको लाखेनाचको पुनर्जागरण गरिएको पालिखेले बताउनुभयो ।
विद्यालयमा ‘एक चिहान’
कास्कीको पोखरा थिएटरले विद्यालयमा नाटक मञ्चन गरिरहेको छ । साहित्यकार हृदयचन्द्रसिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ को नाट्य रूपान्तरण गरी विद्यालयमा प्रदर्शन गरिएको हो । पोखरा थिएटरका संस्थापक परिवर्तनले ‘एक चिहान’ को नाट्य रूपान्तरण गर्नुभएको हो । २०७६ यता कास्की, नवलपुर, पर्वतमा गरी दुई सयभन्दा बढी पटक ‘एक चिहान’ को मञ्चन गरिसकेको जनाइएको छ ।
कारागार व्यवस्थापनमा समस्या : क्षमताभन्दा बढी कैदीबन्दी
२०८० साउन २३ गते सङ्खुवासभा कारागारमा कैदीबन्दीबिच कुटाकुट हुँदा आकाश बलामी र विनोद तोलाङ्गीको ज्यान गयो । कारागारको शौचालयको झ्याल काटेर भाग्ने क्रममा बलामी र तोलाङ्गीलाई प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको केहीबेरमै अन्य कैदीले कुटपिट गर्दा बलामी र तोलाङ्गीको मृत्यु भएको हो । असार २७ गते गोरखा कारागारका कैदीबन्दीबिच कुटाकुट भयो । टिभी हेरेर बसेका कैदीलाई अर्का कैदीले तानेर बस्ने क्रममा भएको विवाद झडपमा परिणत भयो । झन्डै एक सय कैदी रहेको उक्त कारागारमा तत्काल सुरक्षाकर्मी परिचालन हुँदा मानवीय क्षति भने हुन पाएन ।
भदौदेखि कुवेत उडान गर्दै हिमालय
हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान गर्ने जनाएको छ । हाललाई सातामा एक दिन मङ्गलबार उडान हुने र आवश्यकता अनुसार उडान थप गर्दै जाने कम्पनीले जनाएको हो । हिमालयले मङ्गलबार १२:४५ मिनेटमा काठमाडौँबाट कुवेतका लागि उडान भर्ने र त्यहाँको स्थानीय समय अनुसार बिहान ३:१५ मिनेटमा अवतरण गर्ने उल्लेख गरेको छ ।
खाद्यको काममा उद्योगमन्त्रीको असन्तुष्टि ‘दुर्गममा खाद्यान्न पुगेन’
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लक्ष्य अनुसार काम गर्न नसकेको बताउनुभएको छ । कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भण्डारीले जुन उद्देश्यले कम्पनी स्थापना गरिएको थियो सो अनुसार नतिजा आउन नसकेको बताउनुभएको हो । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भरपर्दो र विश्वासिलो संस्थाका रूपमा विकास गरिनुपर्ने उहाँको भनाइ छ ।
‘श्रमिकको खर्च रोजगारदाताले बेहोर्नुपर्ने’
श्रम आप्रवासनका क्रममा हुने सम्पूर्ण खर्च श्रम गन्तव्य देशको रोजगारदाताले बेहोर्ने व्यवस्थासहितको श्रम आप्रवासन नीतिको मसौदा तयार भएको छ । आप्रवासनविज्ञ डा. गणेश गुरुङ नेतृत्वको समितिले आइतबार प्रस्तावित श्रम आप्रवासन नीतिको मसौदा तयार गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसमक्ष हस्तान्तरण गरेको हो । वैदेशिक रोजगार बोर्ड र गन्तव्य देशमा रहेका नेपाली कूटनीतिक नियोगले रोजगारदाताले खर्च बेहोर्ने व्यवस्था पालना गर्ने रोजगारदाता (बजार) खोज्ने विषय मसौदामा समेटिएको छ ।
मन्त्रीहरू अब भैँसेपाटी निवासमा
सङ्घीय सरकारका मन्त्रीहरू ललितपुरको पुल्चोकस्थित हरिहर भवन मन्त्रीनिवासबाट भैँसेपाटीस्थित नवनिर्मित सुविधासम्पन्न मन्त्रीनिवास सर्न सुरु गर्नुभएको छ । अहिलेसम्म पाँच जना मन्त्री भैँसेपाटी निवासमा सर्नुभएको सहरी विकास मन्त्रालयले जनाएको छ । यसै गरी राष्ट्रिय सभाका उपाध्यक्षसमेत भैँसेपाटीस्थित नवनिर्मित भवनमा सर्नुभएको छ ।
‘संहिता’ लाई समय सान्दर्भिक बनाउन सुझाव
प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन ‘संहिता’ लाई समयअनुसार गुणस्तरीय बनाउन लेखक तथा पाठकहरूले सुझाव दिनुभएको छ । प्रेस काउन्सिल नेपालमा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा उहाँहरूले सो सुझाव दिनुभएको हो ।
एक लाख ८१ हजार बढी चल्ला उत्पादन
बाँकेको जानकी गाउँपालिका–४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्मले गत आर्थिक वर्ष २०८०–८१ मा एक लाख ८१ हजार बढी लोकल प्रजातिका चल्ला उत्पादन गरेको छ ।
ऐन संशोधन र ओएनएममा मन्त्रालयले सहजीकरण गर्नुपर्छ
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको पुरानो ऐन संशोधन एवम् सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहजीकरण गर्नुपर्ने बताउनुभएको छ ।
खोलाले बगाएर मृत्यु
ललितपुरको कोन्जोसोम गाउँपालिका-३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर आज एकको मृत्यु भएको छ ।
मुलुकको आर्थिक आयआर्जन बढाउने काम गर्नुपर्नेमा जोड : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको आर्थिक आयआर्जन बढाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।