गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ७ गते । नेपाल प्रेस युनियनले सामाजिक सञ्जालसम्बन्धी विधेयकका कतिपय प्रवधानका कारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुष्ठित हुने भएकाले सच्याउन माग गरेको छ ।
नेपाल प्रेस युनियनको काठमाडौँमा सम्पन्न प्रदेश तथा जिल्ला शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुष्ठित हुने गरी सरकारले जारी गर्न लागेको उक्त विधेयकमाथि गम्भीर असहमति जनाएको हो ।
काठमाडांैको पवित्र धार्मिक स्थल सालीनदी किनार साँखुमा सम्पन्न सम्मेलनले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न सरकारले ल्याउने तयारी गरिरहेको ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ वृहत छलफल आवश्यक रहेको जनाएको छ ।
विधेयकमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’मा असर पार्ने गरी राखिएका प्रावधान सरोकारवालासँग छलफल तथा परामर्श गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्न माग गर्दै विधेयक फिर्ता लिन प्रेस युनियनले सरकारसँग माग पनि गरेको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुने गरी विभिन्न तहका सरकारले निर्माण गरेका कानुन तथा निर्देशिकाहरूको बारेमा युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस युनियनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संविधानप्रदत्त अधिकार सुनिश्चित हुने गरी सञ्चारसँग सम्बन्धी नीति, नियम, ऐन, कानुन, नियमावली बनाउन पनि तीनवटै तहका सरकारसँग माग गरेको छ ।
साथै श्रमजीवी पत्रकारको हकहित, पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, प्रविधिको विकाससँगै सञ्चार क्षेत्रमा थपिएका चुनौतीहरु सम्बोधन हुने गरी सञ्चारसँग सम्बन्धी ऐन, कानुन, निर्माणमा ध्यान दिन सरोकारवाला निकायसँग प्रेस युनियनले माग पनि गरेको छ ।
श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक कार्यान्वयन, नियमित पारिश्रमिक भुक्तानी, पत्रकारको पेशागत, भौतिक, आर्थिक, सामाजिक सुरक्षालगायत विषयमा सरकार तथा सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराउँदै आवश्यकता अनुसार युनियनका सबै संरचनाले दबाबमूलक अभियान अघि बढाउने निर्णय पनि युनियनले गरेको छ ।
व्यावसायिक पत्रकारिता, पत्रकारको पेशागत सुरक्षा, पत्रकारको क्षमता विकासलगायतका विषयमा प्रेस युनियन केन्द्रीय समितिले घोषणा गरेको ‘पत्रकारसँग प्रेस युनियन’ अभियानलाई प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।
पत्रकारहरुको क्षमता विकास, पत्रकारिताको विधागत प्रशिक्षण, पत्रकार दुःख सुखमा साथ दिने कार्यव्रmम, बिमा, सामाजिक सुरक्षा, पत्रकार प्रोत्साहन तथा लेखनवृत्तिमा युनियनले विशेष प्राथमिकता दिने निर्णय गरेको छ ।
नेपाल प्रेस युनियनले चैत अन्तिम साता आयोजना गर्ने ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ ऐतिहासिक भएकाले भव्यरुपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।