काठमाडौँ, फागुन २९ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भोलिदेखि सुरु हुने १२ औँ महाधिवेशनमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन हुने दाबी गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले नेतृत्व चयनमा सहमतिको प्रयास अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
अध्यक्ष डा. केसीले संस्थाभित्रका सबै विमति अन्त्य भएको उल्लेख गर्दै अध्यक्षलगायतका महत्त्वपूर्ण पदहरूमा सर्वसम्मति हुने विश्वास व्यक्त गर्नुभयो । "सबै विमतिहरू टुङ्गिएका छन्, यो एकताको सुरुआत मात्र हो," उहाँले भन्नुभयो, "जसरी गैरआवासीय नेपाली सङ्घको जन्म भएको थियो, अब यसको पुनर्जन्म भएको छ । सबैलाई अपनत्व हुने गरी संस्था अगाडि बढ्नेछ ।"
अध्यक्ष डा. केसीका अनुसार अध्यक्ष पदका तीन जना प्रत्यासीमध्ये दुई जनाबीच सहमति भइसकेको छ भने तेस्रो प्रत्यासीसँग पनि वार्ता सकारात्मक रूपमा अघि बढेको छ । सहमतिका लागि अध्यक्षका प्रत्यासी रोविन शेरचनले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । "हामी सायद निर्वाचन गर्दैनौँ होला, सबै पदाधिकारीलाई समेटेर अघि बढ्नेछौँ," उहाँले थप्नुभयो, "केही पदमा सहमति नभए मात्र निर्वाचनको विकल्पमा जाने गरी गृहकार्य भइरहेको छ ।"
सङ्घको एकतालाई बलियो बनाउन सर्वसम्मत नेतृत्वलाई नै पहिलो प्राथमिकतामा राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । फागुन ३० गतेदेखि सुरु हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुने कार्यक्रम तय भइसकेको छ । सङ्घले यो महाधिवेशनलाई आपसी मनमुटाव बिर्सिएर मातृभूमि नेपालको समृद्धिमा जुट्ने साझा मञ्चको रूपमा व्याख्या गरेको छ ।