चाँदनी आचार्य
घोडाघोडी (कैलाली), फागुन २९ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि भएका सबै भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभएको छ ।
घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको नयाँ शैक्षिक भवनको शुक्रबार शिलान्यास गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचारका विरुद्ध दृढतापूर्वक उभिन सरकारलाई आग्रह गर्नुभयो । "२०४६ सालदेखिका सबै भ्रष्टाचारका मुद्दा छानबिन हुनुपर्छ । यस विषयमा कसैले खुट्टा नकमाउनुहोस्, हाम्रो पूर्ण साथ रहनेछ," उहाँले भन्नुभयो ।
मुख्यमन्त्री शाहले मुलुक स्थिर सरकारतर्फ अघि बढिरहेको चर्चा गर्दै अबको प्राथमिकता विकास र समृद्धि हुनुपर्नेमा जोड दिनुभयो । युवा पलायनप्रति चिन्ता व्यक्त गर्दै उहाँले निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आग्रह समेत गर्नुभयो । "हिजो प्रश्न गर्ने ठाउँमा रहनुभएका नेताहरू अहिले उत्तर दिने ठाउँमा पुग्नुभएको छ । अब बोलेका कुरा व्यवहारमा लागू हुनुपर्छ," उहाँले प्रश्न गर्नुभयो, "युवाहरू विदेश जान कहिले रोकिन्छन् र बाहिर रहेकाहरू कहिले फर्कन्छन् ?"
उहाँले प्रदेश संरचना र गणतन्त्रका विषयमा रास्वपाले स्पष्ट धारणा ल्याउनुपर्ने र देश विकासका लागि निश्चित समयसीमासहितको कार्यतालिका (रोडम्याप) आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले सङ्घीय सरकारलाई पाँच वर्ष स्थिर रूपमा काम गर्न र नेपालीहरू स्वदेश फर्कने वातावरण बनाउन सुझाव दिनुभयो । कैलाली–३ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य जगत जोशीले समाज परिवर्तनका लागि नैतिक शिक्षा अनिवार्य रहेको धारणा राख्नुभयो ।
घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले तीनै तहका सरकारबीच समन्वय भए मात्र नगरको विकास सम्भव हुने बताउनुभयो । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन राना, क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु सापकोटाले शैक्षिक विकासका विविध पक्षमा चर्चा गर्नुभएको थियो ।
प्रदेश सरकारको १० करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको ३६ कोठे शैक्षिक भवन तीन चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा चार करोड ६० लाख रुपैयाँको ठेक्का सम्झौता भई निर्माण सुरु भएको सो भवनको मुख्यमन्त्री शाहले शिलान्यास गर्नुभएको हो ।