काठमाडौँ, फागुन ८ गते । उत्तरी नाका रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (डाइपोर्ट) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा निर्माणाधीन बन्दरगाह निर्माण अन्तिम चरणमा पुगेको हो ।
नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको ७६ प्रतिशत काम सम्पन्न भएको र आगामी जुलाईभित्र पूर्ण रूपमा सम्पन्न हुने लक्ष्य राखिएको जानकारी दिनुभयो । एउटा गोदामघर, खोलाको पर्खाल निर्माण, सडकमार्ग तयार भइसकेको र प्रशासनिक भवन, एउटा गोदाम, पार्किङ स्थल ढलानको काम भइरहेको गजुरेलले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमणका कारण लामो समयदेखि रोकिएको काम दुई वर्षदेखि नियमित रूपमा भइरहेको समितिले जनाएको छ । आधुनिक प्रविधिसहित निर्माण गरिएको बन्दरगाहभित्र भन्सार चेकजाँच, अध्यागमन, प्रशासनिक कामलगायत सुविधा रहने समितिले जनाएको छ । ३५० गाडी पार्किङको समेत व्यवस्था छ ।
छिमेकी मुलुक चीनको व्यापारलाई सहजीकरण गर्ने लक्ष्यसहित बन्दरगाह निर्माणको काम अगाडि बढाएको हो । बन्दरगाह निर्माणको काम तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । आगामी सन् २०२५ जुलाईसम्म बन्दरगाह निर्माण गरिसक्नुपर्ने सम्झौता भएकाले पनि त्यसअघि नै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।
रसुवा नाका नेपालको नजिक पर्ने हुँदा बन्दरगाह निर्माण भएपछि नियमित रूपमा सामान आउने हुँदा यसले व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुने उहाँको भनाइ छ ।
बन्दरगाहको लागत दुई अर्ब १६ करोड ६० लाख रुपियाँ रहेको छ । बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठुला कन्टेनर रहने छन् । त्यस्तै कार्गो गोदाम र दुई वटा भवन रहने छन् । समितिका अनुसार बन्दरगाहको एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैङ्क र सुरक्षा निकाय रहने छन् ।
रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको बिसाखापटनम हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीको भनाइ छ । अहिले चीनको सामान भारत हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको व्यवसायी नरेश कटुवालले जानकारी दिनुभयो ।
रसुवा नाकाबाट सामान आउँदा चिनियाँ सामानको ढुवानी लागत घट्ने हुँदा उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने उहाँको भनाइ छ । रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौँ आउने व्यवसायीको अनुमान छ ।
चीनमा नेपालको व्यापार १३ प्रतिशत रहेको छ । तातोपानी र हुम्लाको हिल्सा नाकाबाट सामान आयात निर्यात हुने गर्छ । अहिले सबैभन्दा धेरै रसुवा नाकाबाट सामान आउने गरेको छ ।
चिनियाँ पक्षले भूकम्पपछि तातोपानी नाका छाडेर रसुवा नाकाकेन्द्रित काम गरिरहेको छ । अहिले चीनसँगको व्यापार जोड्ने एक मात्रै नाका रसुवा बनेको छ । सुक्खा बन्दरगाह दुई हजार ८० वर्गमिटरमा फैलिएको छ । प्रस्तावित डिजाइन अनुसार पाँच सय वर्गमिटर क्षेत्रफलमा प्रशासकीय भवन, ७५० वर्गमिटरमा गोदाम बन्ने छ ।
यसैबिच पछिल्लो समय रसुवा नाकाबाट सबैभन्दा धेरै विद्युतीय सवारीसाधन आयात हुने गरेका छन् । नेपालबाट जडीबुटी, बाँसका मुढा, मूर्तिलगायतका सामान चीन निर्यात हुने गरेको छ ।