• ११ असार २०८२, बुधबार

कोहलपुर–सुर्खेत प्रसारण लाइनको काम सक्ने प्रतिबद्धता

blog

मुख्यमन्त्री यामलाल कँडेलसँगको छलफल । तस्बिरः रजनी योगी

रजनी योगी 

सुर्खेत, असार ११ गते । नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम आगामी असोज महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । 

बाँकेको बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण रोकिएको कामलाई सुचारु गर्न प्राधिकरणले पहल गरेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले कर्णालीवासीले भोग्दै आएको विद्युत् समस्या समाधानका लागि निर्माणाधीन प्रसारण लाइनको अवरोध हटाएर काम सम्पन्न गर्नेगरी छलफल अघि बढाइएको बताउनुभयो । 

‘आगामी असोज महिनासम्म कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम पूरा हुनेछ’ बुधबार सुर्खेत आएका उहाँले मुख्यमन्त्री यामलाल कँडेलसँगको छलफलमा भन्नुभयो, “प्रसारण लाइन निर्माणको क्रममा बाँकेको बानियाभार क्षेत्रमा स्थानीयले अवरोध गर्दैआएका छन् । 

सो क्षेत्रमा तीनवटा टावर निर्माण सम्पन्न भएलगत्तै प्रसारण लाइन सुर्खेतस्थित सुब्बाकुना सबस्टेसनमा जोडिनेछ । स्थानीय अवरोधको कारण बुझ्न र समाधान खोज्न शाक्य बाँके पुग्नुभएको थियो । ‘स्थानीयका समस्या के छन्, त्यसको समाधान गर्ने र कर्णालीमा नियमित विद्युत पुर्‍याउनेबारे हामीले छलफल गरेका छौँ’ उहाँले भन्नुभयो,  ‘समाधानका लागि भएका प्रयासहरू सकारात्मक छन् ।’ 

अवरोध हटाउन बाँकेको प्रमुख जिल्ला अधिकारी र स्थानीय राजनीतिक दलका नेतृत्वहरूसँग प्राधिकरणको टोलीले छलफल गरेको पनि उहाँको भनाइ छ ।