चन्द्र पन्दाक
ताप्लेजुङ, असार ११ गते। ताप्लेजुङस्थित माथिल्लो तमोर जलविद्युतको काम तत्काल रोक्नुपर्ने आयोजना प्रभावित क्षेत्रका बासिन्दाले माग गरेका छन्। याक्थुङ (लिम्बू) समुदायको मुन्धुमी स्थलमा जबरजस्त आयोजना निर्माण गर्न लागिएकाले तत्काल काम रोक्न प्रभावित क्षेत्रका बासिन्दाले माग गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई आयोजना प्रभावित बासिन्दाको तर्फबाट अपर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले आफ्ना मागबारे स्मरणपत्र बुझाएका हुन्। मन्त्रालय र मन्त्रीसमक्ष पुग्नेगरी सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई स्मरणपत्र बुझाएका हुन्।
आयोजनास्थल याक्थुङ समुदायको मुन्धुमी क्षेत्र तथा स्थल भएकाले आयोजना निर्माण गर्न नहुने अडान प्रभावित सङ्र्ष समितिले राख्दै आएका छन्। लिम्बू समुदायले आफ्नो धार्मिक दर्शनको रूपमा मुन्धुमलाई मान्ने गर्दछन्। मुन्धुमी स्थलको अतिक्रमण गरी जलविद्युत आयोजना निर्माण गर्दा मौलिक सभ्यता र संस्कृति मासिनेभन्दै मुन्धुमीस्थलको संरक्षण गर्न आफूहरु लागिपरेको प्रभावित क्षेत्रका बासिन्दाले उल्लेख गरेका छन्।
विकासको नाममा जबरजस्त जलविद्युत आयोजना निर्माण गर्न लाग्नुले आदिवासी रैथाने याक्थुङ (लिम्बू)लगायत स्थानीय समुदायको अधिकारमाथि ठाडो हस्तक्षेप भएको स्मरणपत्रमा उल्लेख गरिएको छ। स्थानीय आदिवासीहरुको सहमति र मञ्जुरीबिना निर्माण कम्पनीहरुले आयोजनाको काम अघि बढाउनु निन्दनीय भएको पनि स्मरणपत्रमा उल्लेख छ। अन्तर्राष्ट्रिय मूल्य मान्यता, सन्धि सम्झौता, (आईएलओ १६९) मा भएका व्यवस्था र नेपालको संविधानले प्रदान गरेको अधिकार कार्यान्वयन हुनुपर्ने माग गरिएको छ।
अपर तमोर प्रभावित सङ्घर्ष समितिका संयोजक बीरबल लिङ्खिमद्वारा हस्ताक्षरित स्मरणपत्रमा पहिलो चरणको आन्दोलनस्वरुप तत्काल काम रोक्न र रोकाउनका लागि अनुरोध गरिएको उल्लेख छ। तत्काल आयोजनाको काम नरोके चरणबद्ध आन्दोलन गर्ने पनि समितिले चेतावनी दिएको छ। फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर २, ३, ४ र ५ प्रभावित क्षेत्र रहेको तमोर नदीबाट तमोर इनर्जी प्रालिले २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गर्न सुरु गरेको हो।