• १२ असार २०८२, बिहिबार

खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण

blog

काठमाडौँ, असार ११ गते । लागु औषध प्रयोगबारे सचेतना फैलाउन नेपाली खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि एकदिने प्रशिक्षण दिइएको छ ।

संयुक्त राष्ट्र सङ्घ लागु औषध नियन्त्रण कार्यक्रमले लागु पदार्थको रोकथाम खेलकुद र खेलाडीमार्फत गर्नुपर्ने मान्यता राख्ने गर्दछ । खेलाडीसँग नै यसविरुद्ध लड्ने ठूलो साहश र शक्ति हुने भएकाले उनीहरूलाई यसको रोकथामका लागि अगाडि सारिँदै आएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र लागु पदार्थ तथा एड्सविरुद्ध नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजना सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको ओडिटोरियम हलमा आयोजित कार्यक्रममा बुधबार एक दिने प्रशिक्षण आयोजना गरेको हो । नेपालमा असार १२ गते लागु औषधविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ ।

सोही अवसरमा यसको रोकथामबारे अभियान चलाउने उद्देश्यअनुरूप उक्त कार्यक्रम गरिएको एड्सविरुद्ध खेलकुद महासङ्घका अध्यक्ष ऋषिराज ओझाले जानकारी दिनुभयो । कार्यक्रममा करिब दुई सय जना सहभागी थिए । 

लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षणमा न्यार्कोटिकभित्र एन्टी डोपिङ पनि समावेश गरिएको छ । राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई एन्टि डोपिङका बारेमा प्रशिक्षण दिइएको हो । 

यस प्रशिक्षणमा लागुऔष सेवनले कस्तो असर पर्छ र यसको रोकथामका लागि खेलाडीको कस्तो भूमिका रहन सक्छ आदि विषयबारे कक्षासहित विभिन्न वक्ताले धारणा राखेका थिए ।

उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, ओलम्पियन तथा धाविका सन्तोषी श्रेष्ठ, युएनओडीसीका हेड अलिरिच मैइजर र नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामालगायतले धारणा राख्नुभएको थियो ।