• ९ फागुन २०८१, शुक्रबार

चार रुपियाँ किलोमा गोलभेँडा

blog

गोलभेँडा टिप्दै गरेका किसान । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, फागुन ८ गते । यहाँको थोक तरकारी बजारमा गोलभेँडा प्रतिकिलो चार रुपियाँमा झरेको छ । यसरी गोलभेँडाले मूल्य पाउन छाडेपछि सर्लाहीका किसान मारमा परेका छन् । लोकल जातको गोलभेँडा प्रतिकिलो चारदेखि छ रुपियाँ र हाइब्रिड गोलभेँडा प्रतिकिलो छदेखि आठ रुपियाँमा बिक्री भइरहेको छ । 

हुस्सु हटेर घाम चर्किन थालेपछि एकै पटक पाकेको गोलभेँडाले मूल्य नपाउँदा मार परेको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका किसान अमर लामाले गुनासो गर्नुभयो । उहाँले किलोको चार/पाँच रुपियाँमा गोलभेँडा बिक्री गर्दा लगानीसमेत नउठ्ने अवस्था रहेको बताउनुभयो । 

“यो मूल्यमा गोलभेँडा बेच्दा किसानलाई घाटैघाट मात्रै छ,” लामाले भन्नुभयो, “जोताइ, बिउ र विषादीको खर्च केही पनि उठ्दैन ।” किसानका अनुसार अन्य तरकारीको तुलनामा गोलभेँडामा बढी मात्रामा कीटनाशक विषादी प्रयोग गर्नुपर्ने हुन्छ । 

दिनहुँ छिट्नुपर्ने विषादी अत्यन्त महँगो पर्ने तर गोलभेँडाको मूल्य भने असाध्य सस्तो हुँदा मार परेको किसानले गुनासो गरेका छन् । गोलभेँडा बिक्री हुनै छाडेपछि कतिपय किसानले गोलभेँडा नटिपेर बारीमै छाड्न थालेका छन् । 

कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष एवं व्यापारी तोरनबहादुर मगरले सबैतिर एकै पटक गोलभेँडा उत्पादन भएको तर खपत हुन नसकेका कारण किसानले मूल्य पाउन नसकेको बताउनुभयो । मगरले भन्नुभयो, “काठमाडौँमा टनेलको गोलभेँडा अत्यधिक भित्रिइरहेकाले यहाँबाट गोलभेँडा पठाउन सकिएको छैन । काठमाडौँमा निर्यात घटेपछि तरकारी बेच्नै मुस्किल पर्छ ।” 

लालबन्दी थोक तरकारी बजारबाट काठमाडौँमा दैनिक ६० देखि ७० टन र जनकपुर, वीरगन्ज, मलङ्गवा, चन्द्रनिगाहपुर, सिन्धुलीलगायत नजिकका बजारमा १५ देखि २० टन गोलभेँडा निर्यात हुने गरेको छ । गोलभेँडा बिक्री नभएर बारीमै नष्ट भइरहे पनि बजारीकरणका लागि स्थानीय पालिकाले कुनै वास्ता नगरेको किसानले गुनासो गरेका छन् । 

लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले गोलभेँडा छिटो नष्ट भएर जाने हुँदा किसानलाई सस्तो मूल्यमै बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । नगरप्रमुख अधिकारीले गत वर्ष किसानलाई गोलभेँडाको सस बनाउने तालिम दिए पनि त्यसबाहेक गोलभेँडाको बजारीकरणका लागि थप केही गर्न नसकिएको स्वीकार गर्नुभएको छ । 

नगरप्रमुख अधिकारीले ठुला होटेल तथा गोलभेँडा खपत हुने सहरमा निर्यात गर्नु परे त्यसका लागि नगरपालिका किसानलाई सहयोग गर्नका लागि तयार नै रहेको बताउनुभयो । 

सर्लाहीमा उत्तरी भेगको लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाको दुई हजार पाँच सय हेक्टर जग्गामा व्यावसायिक रूपमा गोलभेँडा खेती हुने गरेको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।