• ३ असार २०८२, मङ्गलबार

वर्षाले ल्याउने जोखिम

blog

नेपालमा मनसुन प्रवेश गरिसकेको छ । खेतमा असारे धान रोप्ने तयारी चल्दै छ । मानो रोपेर मुरी फलाउन किसान लालायित छन् । जेठ महिनाको उखरमाउलो गर्मी, जल शीतल बनेर बर्सिन थालेको छ । जताततै हरियाली छाएको छ । सबैको मनमा हर्ष उमङ्ग छाएको छ । धानको उत्पादन नेपालको आर्थिक व्रिmयाकलाप मात्र होइन । धान हाम्रो इतिहास हो, हाम्रो पहिचान हो । धान संस्कृतिसँग पनि जोडिएको छ । धानबाट नै चामल बन्छ । चामलबिना नेपाली जीवन सम्भव नै छैन । धान जीवनको आधार हो । यो जीवनको आधार रोप्ने मौसम हो । असार लाग्यो । जेठको उखरमाउलो गर्मी जलमा परिणत भयो । केही राहत महसुस भए पनि मनभित्र कता कता असोज १२ र १३ गतेको वर्षा सम्झिँदा मन अमिलो हुन्छ । विपत्ति बाजा बजाएर आउँदैन । यो वर्षाले लगभग २० अर्ब बराबरको क्षति भएको थियो भने २५० जना मानिसले अकालमा ज्यान गुमाउनु परेको थियो । मौसम विभागको सूचना अनुरूप मात्र मानिस त्यो दुई दिन घरमै बसिदिएको भए यति धेरै जनधनको क्षति हुने थिएन । सल्लाह गर्दैगर्दा सात गाउँ डुबेझैँ यो साल पनि अवस्था त्यस्तै छ । ३० प्रतिशतभन्दा बढी वर्षा हुने चर्चा चलेकै छ । 

विपत्ति के हो ?

नसोचिएको अकस्मात् आइपर्ने ज्यानै जाने दुर्घटनालाई नै विपत्ति भनिन्छ । विज्ञहरूले जति भने पनि विपत्ति प्राकृतिक, मानवजन्य र जैविक तीन प्रकारका नै हुन्छन् । भूकम्प ज्वालामुखी, बाढीपहिरो, आँधीहुरी, सुनामी आदि प्राकृतिक विपत्ति हुन् भने दुर्घटना, आगलागी, हत्या, हिंसा, आतङ्कवाद, तोडफोड, आन्दोलन आदि मानवजन्य विपत्ति हुन् । जैविक भन्नाले महामारी कोभिड जस्तो अवस्था बुझिन्छ । प्राकृतिक विपत्ति न्यूनीकरण गर्न सकिन्छ भने मानवजन्य विपत्लाई शून्य बनाउन सकिन्छ । जैविक महामारीका सम्बन्धमा पनि स्थानीय वडा र पालिकामै स्वास्थ्य अनुसन्धान गर्ने सुविधासम्पन्न अस्पताल निर्माण गर्न सके यसलाई पनि न्यूनीकरण गर्न सकिन्छ । सबै विपत्को केन्द्रविन्दु नै मानिस हो । अन्ततोगत्वा विपत् मानिसलाई नै पर्छ । जीवन मानिसकै जान्छ । सचेत मानिस नै हुनु पर्छ । सचेत मानिस कुनै विपत्तिमा पर्दैन, परिहाल्यो भने पनि सचेतनाले गर्दा ऊ सुरक्षित हुन सक्छ । मानिस साँच्चै मानिस बन्नु पर्छ । प्रेम र श्रद्धा हरेक हृदयमा हुनै पर्छ । लोभ द्वन्द्वले नै विपत्ति निम्त्याउने हो । दम्भ घमण्ड नै विपत्को प्रमुख कारण हो । दादागिरी जबरजस्ती गर्दा नै विपत् आइपर्ने हो । 

मानिस को हो ? 

हामी सबै मानिस हौँ । हामी मानिस भएर साँच्चै मानवीय कर्म गरेका छौँ त ? हाम्रो सोच, काम र खाना देवताको जस्तो भए मानिस देवता र दानवको जस्तो भए मानिस दानव हुन्छ । सोच भ्रष्ट छ भने कार्य भ्रष्ट नै हुन्छ । कार्य भ्रष्ट छ भने खाना पनि त्यही भ्रष्टको हुन्छ । यसको विपरीत मान्छेको सोच प्रगतिशील मानवीय छ भने उसको कर्म पनि मानवीय प्रगतिशील हुन्छ । खानपान, आहारविहार सबै मानवीय प्रगतिशील हुन्छ । मानव हुन शतप्रतिशत मानवीयता हुनु पर्छ । लोभ, मोह, अहङ्कार, घमण्ड शून्य हुनु पर्छ । मानिस बुद्ध नै हुनु पर्छ । अनि बल्ल ऊ एक सक्षम सफल मानिस हुन्छ । असल महामानव हुन्छ । के यो युगमा बुद्ध जस्ता मान्छे छन् त ? छैनन् । ज्ञान शिक्षा अर्थात् चेतना कै कमी छ । हामीले स्कुल त बनायौँ तर चेतनाको दियो जगाउन सकेनौँ । अब आफ्नो दियो आफैँले जलाउनु पर्छ । आफ्नो प्रकाश खुद आफैँ हुनु पर्छ ।

ज्ञान र चेतना 

शिक्षा सिपसँग मात्र सम्बन्धित छ । शिक्षाले सिपमा निखार ल्याउँछ । सिपले नोकरी वा उत्पादनमा उत्पादकत्वको वृद्धि गर्छ । राम्रो सिप अर्थात् शिक्षा भए राम्रो आम्दानी गरेर, जागिर खाएर, सानोतिनो घरजग्गा जोडेर, आफ्ना बालबालिकालाई पढाएर एउटा सरल जीवन सजिलै बित्छ । लोभ, मोह, घमण्ड र अहङ्कारले गर्दा कति जेल परेका छन् । कति भ्रष्टाचारमा मुद्दा खेप्दै छन्, कति देश र समाज नै छोडेर हिँड्न बाध्य छन् । डाक्टर, इन्जिनियर, पाइलट, सचिव, सहसचिव, हाकिम जे जे भए पनि जतिसुकै पढेलेखेका भए पनि ऊभित्र कुण्ठा छ भने प्रगति गर्न सक्दैन । लोभमोहले न घरको न घाटको नै हुन्छ । जति पनि मानिस फस्छन् मायामोहको लोभले नै फस्छन वा घृणा अहङ्कारले नै । शिक्षाले मानिसभित्रको लोभ मोह अहङ्कार घटाउने चेतना दिन सक्दैन । शिक्षाले मानिसलाई मेसिन बनाउँछ । असल नोकर बनाउँछ । मानिसलाई मालिक बनाउँदैन । पढेलेखेका धेरै शिक्षित जागिर नै खान्छन् । त्यसैले मानव मानव बन्न पहिला ज्ञान र चेतना हुनु जरुरी छ । लोभ र मोहबाट मुक्त बुद्ध नै बन्नु पर्छ । ज्ञानी बन्नु पर्छ । लोभ मोह त्याग्नु पर्छ, के हामी ज्ञानी चेतनशील मानव हौँ ?

विपत् जोखिम न्यूनीकरण 

जीवन जोखिमयुक्त छ । जसले जोखिम उठाउँदैन ऊ नै जोखिम मोल्न तयार हुनु पर्छ । जोखिम उठाउनु पर्छ । प्रगति गर्नु पर्छ । मेहनत गर्नु पर्छ । बुद्ध बन्ने त्याग चाहिन्छ । दुःखका कारण लोभ, मोह अहङ्कार सब त्याग्नु पर्छ । योग साधनामा लाग्नु पर्छ । बुद्धले वर्षा बास गर्नु हुन्थ्यो; असार, साउन, भदौ, तीन महिना कतै निस्किनु हुन्न थियो । कसैलाई पनि ननिस्किनु सुरक्षित बस्नु भन्नु हुन्थ्यो । यो विज्ञानको युग हो । घरमै मोबाइलबाटै सम्पूर्ण काम गर्न सकिन्छ । यो झरी वर्षा बादलमा किन निस्किनु ? आफ्नो घर किन भिर, पाखा वा खोलाको किनारमा बनाउनु ? खोलाको जग्गा किन हड्प्नु ? खोलै खाइदिने मानिसको नै घर खोलाले खाने हो । खोला पनि त बग्नु प¥यो । सिङ्गै खोला नै खान सक्ने मानिस कसरी मानिस हुन्छ ? इमानदार, सचेत, अनि ज्ञानी मानिसलाई कहिले पनि कुनै पनि प्रकारको विपत् पर्दैन । वर्षा लाग्यो, मानिस बनौँ । 

अन्त्यमा 

मानिस मानिस बन्नु पर्छ । सचेत हुनु पर्छ । वर्षायाममा खोला बढेको हुन्छ । जमिन गलेको हुन्छ । जताततै पहिरो जान सक्छ । सुरक्षित स्थानमा बस्नु पर्छ । थाहा छैन जीवन आज हो कि भोलि हो । सबै मर्नु पर्छ, मरेर केही लैजानु छैन । लोभ र मोह त्याग्नु पर्छ । प्रकृतिलाई जित्न सकिँदैन । प्रकृतिसँग मिल्नु पर्छ । यही माटोको फूल हामी यही माटोमा मिल्नु पर्छ । रुख रोप्नु पर्छ । वातावरण जोगाउनु पर्छ । सबैलाई प्रेम श्रद्धा गर्नु पर्छ । अति भए खति हुन्छ । मध्यमार्ग अपनाउनु पर्छ । दम्भ अहङ्कारले पछुतो भन्दा केही दिँदैन । पछुताउनु भन्दा पहिले नै सचेत हुनु पर्छ । आफ्नो सुरक्षाको पूर्ण व्यवस्थापन आफैँले मिलाउनु पर्छ । सल्लाह गर्दागर्दै सात गाउँ डुबेको जस्तो नहोस् । समयमै सबै तयारी गरौँ, मानिस बनौँ । सबै प्रकारले आफू सुरक्षित भइसकेपछि चारैतिर उज्यालो हुन्छ । खुसी मिल्छ । वर्षा आफैँमा सुन्दर छ । वर्षाको आफ्नै महìव छ । मनसुन आइसकेको छ । असार लागिसकेको छ । रोपाहार र बाउसेको असारे गीत सुन्न थालिएको छ । आशा गरौँ यो सालको वर्षा सुरक्षित हुने छ ।