• २८ असार २०८२, शनिबार

नेपालगन्ज नाकाबाट तरकारी र फलफूलको आयात घट्यो

blog

पश्चिम नेपालकै ठुलो नाका मध्येको एक नेपालगन्ज नाका

सिराज खान
नेपालगन्ज, असार २८ गते ।
पश्चिम नेपालकै ठुलो नाका मध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षमा तरकारी र फलफूलको आयात उल्लेख्य परिमाणमा घटेको छ ।  पछिल्लो समय नेपालमा तरकारी र फलफूलको स्थानीय उत्पादन बढ्दै गएकाले भारतबाट हुने गरेको तरकारी र फलफूलको आयात घटेको जनाइएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालगन्ज नाकाबाट विगतमा अत्यधिक आयात हुने गरेको आलु, ताजा तरकारी र सागपात तथा आँप, अंगुर, नरिवल, सुन्तला र अन्य ताजा फलफूलको आयात चालु आर्थिक वर्षमा उल्लेख्य परिमाणमा घटेको हो ।  

भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार आर्थिक वर्ष २०८०/०८१ को एघार महिनामा एक अर्ब पाँच करोड ९८ लाख २६ हजार रुपियाँको चार करोड २७ लाख सात हजार ५०२ किलो आलु आयात भएकोमा चालु आर्थिक वर्ष २०८१/०८२ को सोही अवधीमा ७२ करोड १८ लाख ६३ हजार रुपियाँको दुई करोड ९० लाख ८४ हजार ९१ किलो आलु आयात भएको छ । चालु आवमा आलुको आयात ३३ करोड भन्दा बढी घटेको छ ।  

सोही प्रकारले ६ करोड ५६ लाख ४८ हजारको १९ लाख ३३ हजार २०९ किलो ताजा तरकारी र सागपात गत आवमा आयात भएकोमा चालु आवमा चार करोड ३४ लाख १० हजारको १३ लाख १० हजार ५०८ किलो तरकारी र सागपात आयात भएको छ ।

यसैगरि गत आवमा १२ करोड ८ लाख ५२ हजारको सात लाख ३१ हजार ६१५ किलो नरिवल आयात भएकोमा चालु आवमा चार करोड ८९ लाख ३५ हजारको पाँच लाख ६० हजार ४६ किलो नरिवल आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

सोही प्रकारले गत आवमा ३० करोड ९१ लाख चार हजारको ७४ लाख ३३ हजार ४७० किलो केरा आयात भएकोमा चालु आवमा २१ करोड ७४ लाख ८४ हजारको ५२ लाख २८ हजार १९७ किलो केरा आयात भएको छ । यस्तै गत आवमा तीन करोड १७ लाख ८१ हजार रुपियाँको ६ लाख ५१ हजार एक सय किलो आँप आयात भएकोमा चालु आवमा दुई करोड १४ लाख ९९ हजारको तीन लाख ४२ हजार ३९५ किलो आँप आयात भएको जनाइएको छ ।

सोही प्रकारले गत आवमा ११ करोड ८७ लाख ८७ हजारको १८ लाख १९ हजार ६३६ किलो सुन्तला आयात भएकोमा चालु आवमा चार करोड ९७ लाख २३ हजारको सात लाख ५५ हजार ९८८ किलो सुन्तला आयात भएको हो ।

यस्तै, गत आवमा १८ करोड ५७ लाख ६३ हजारको २२ लाख ५८ हजार ८०० किलो अंगुर आयात भएकोमा चालु आवमा ११ करोड ८७ लाख २० हजार रुपियाँको १४ लाख ३७ हजार ७४९ किलो अंगुर आयात भएको छ ।

यसैगरी यो नाकाबाट गत आवमा ११ करोड ३३ लाख ३६ हजार रुपियाँको नौ लाख ७८ हजार ५६८ किलो अन्य ताजा फलफूल आयात भएकोमा चालु आवमा ६ करोड १९ लाख ६७ हजार रुपियाँको पाँच लाख नौ हजार ६८७ किलो ताजा फलफूल आयात भएको भन्सार कार्यालयले जनाएको छ । नेपालगन्जस्थित रानीतलाउ फलफूल तथा तरकारी मण्डीले नेपालमा फलफूल र तरकारीको स्थानीय उत्पादन बढ्दै गएकाले आयात घट्दै गएको जनाएको छ ।