विद्यालय महाविद्यालयमा अध्यापनको अनुभव बटुलेका जुक्तिजङ्ग लामिछाने सफल सिर्जनाका शिल्पकार हुनुहुन्छ । नेपाली साहित्य जगत्मा ‘उषाका लालिमा’ नामक पहिलो कवितासङ्ग्रह प्रकाशन गरी साहित्यिक यात्रा प्रारम्भ गरेका लामिछानेले ‘तत्वमसी’ उपन्यास दोस्रो कृतिका रूपमा पाठकसामु आउनुभएको छ ।
लेखकमा सानैदेखि अध्यात्म ज्ञानको गहिरो प्रभाव परेको हुँदा यो औपन्यासिक कृतिमा पनि त्यसको प्रभाव प्रस्ट रूपमा देख्न सकिन्छ । सामाजिक विषयवस्तुको उठानसँगै उपन्यासले आध्यात्मिक चिन्तनतर्फको यात्रामा पाठकलाई आकर्षित गर्न खोजेको छ । नेपाली ग्रामीण समाजको वास्तविक धरातललाई उपन्यासले यथार्थ रूपमा प्रस्तुत गरेको छ । नेपाली परम्परा, चालचलन, शिक्षा र धर्मसंस्कृतिको यथार्थ चित्रण गर्दै मानव जीवनमा आइपर्ने विभिन्न समस्यालाई सामाजिक विषयवस्तुका रूपमा टपक्क टिपी आध्यात्मिक चिन्तनको मार्ग अवलम्बन गर्न पाठक वर्गलाई प्रेरित गरिएको छ ।
हाम्रो सनातन धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, चालचलन नेपाली ग्रामीण बस्तीको मनमोहक दृश्यको वर्णन ज्यादै रोचक पाराले गरिएको पाइन्छ । पशुपालन गरी खेतीपाती गर्दै आत्मनिर्भरताका लागि क्रियाशील नेपाली समाजको जीवनशैली र दिनचर्यालाई सूक्ष्म ढङ्गले केलाइएको छ । समाजमा जुनसुकै जातजाति भए पनि मिलेर दुःखसुख साट्ने मान्छे सबै एकै हो । जातीयताका आधारमा कोही पनि ठुलो र सानो नहुने मानव जाति सम्पूर्ण ईश्वरको सन्तति भएको हुँदा जातीय भेदभाव र छुवाछुतको सङ्कीर्ण सोचबाट समाजलाई माथि उठ्न जोड दिइएको छ । उपन्यासकारले समाजको आर्थिक, धार्मिक र शैक्षिक गतिविधि उजागर गर्दै आदर्श, आनन्दमय र शान्तिपूर्ण जीवनयापन गर्न विशेष अपिल गर्नुभएको छ । हाम्रा वेद, पुराण उपनिषद् सारा ज्ञानको सागर हो; जोकोही पनि यसमा डुबुल्की मारी अमूल्य रत्न टिप्न सफल हुन्छन् । यसको गहन अध्ययनले मानवीय जीवनको वास्तविक सारतत्व बुझ्न सहयोग गर्छ । जीवनको सबैभन्दा महत्वपूर्ण ज्ञान नै आत्मज्ञान हो । यसले जीवनमा कुनै वस्तु र प्राणीप्रति आसक्तिपूर्ण व्यवहार गर्नबाट सजक गराई आन्नदसहित शान्तमय जीवन व्यतीत गर्न सहयोग गर्दछ । जीवनको रहस्यपूर्ण वास्तविक तत्व सम्पूर्ण देहधारी मनुष्यमा निहित रहेको र त्यसलाई चिन्न र खोज्न मानव आफैँ निरन्तर सक्रिय साधना र अभ्यासमा अभ्यस्त रहनुपर्ने कुरा उपन्यासमा गोरे मुक्तेश्वरानन्द पात्रको माध्यमबाट देखाउन खोजिएको छ । सत्सङ्ग, ध्यान, साधना, पूर्वीय दर्शन, वेद, उपनिषद्, पुराण जस्ता धर्मशास्त्रको गहन अध्ययन र चिन्तनपश्चात् जीवनको भित्री रहस्य बोध हुने गर्छ । देहधारी शरीर परिवर्तनशील छ भने देह (आत्मा) सधैँ अमर रहिरहन्छ, यो न कहिल्यै बुढो हुन्छ न त मर्छ । समयसँगै शरीरले रूप परिवर्तन गरे जस्तो आत्माले रूप परिवर्तन नगर्ने हुँदा यो त नित्य निरन्तर अजर र अमर छ । यसैलाई बुझ्नु र त्यही अनुरूप आफ्नो मानवीय चोलालाई अगाडि बढाउनुपर्ने कुरा उपन्यासमा पात्र भास्कर र लालीमायाका जीवनमा घटित घटनाले पुष्टि गरेको छ । आध्यात्मिक चिन्तनसँगै स्वच्छ, शान्त मानवीय समाज निर्माण गर्ने उपन्यासकारको परिकल्पना स्पष्ट रूपमा मुखरित भएको पाइन्छ । उपन्यासमा शैक्षिक पाटोले उच्च स्थान सुरक्षित गरी विशेष महत्व पाएको छ । पैत्रिक सम्पत्ति बेचेर भए पनि भास्करलाई शिक्षादीक्षा दिलाउने चाँजोपाँजो मिलाएको प्रसङ्गले यो कुरा सहजै अनुमान गर्न सकिन्छ । घरमा चल सम्पत्ति प्रशस्त नभएको परिस्थितिमा अर्थको जोहो गरी गाउँबाट पोखरा सहरमा पठनपाठनका लागि बन्दोबस्त गरिएको छ । उच्च शिक्षा आर्जनका निमित्त पाकिस्तानसम्मको यात्रा भास्करले गरेको छ । उपन्यासको प्रमुख पात्र भास्कर र लालीमाया दुवैलाई केन्द्रमा राखी यिनैको सेरोफेरोमा उपन्यासको कथानक अगाडि बढेको छ । यिनलाई अत्यन्तै नैतिक, अनुशासित र आदर्श पात्रका रूपमा देखाइएको छ । बालसखा दुवै प्रेमीप्रेमिका भए पनि आफ्नो नैतिक सीमा र मर्यादा उल्लङ्घन गरी अघि बढ्ने कार्य गरेका छैनन् । नैतिक मूल्यमान्यता र सामाजिक मर्यादालाई आत्मसात् गरी आत्मिक प्रेमको परिचायक बन्न पुगेका छन् । उपन्यासको यो पक्ष निकै अनुकरणीय र मननीय छ ।
सफल पारिवारिक जीवन बिताउने इच्छा, आकाङ्क्षा हुँदाहुँदै पनि प्रतिकूल परिस्थितिको सिकार बन्न पुगेका छन् भास्कर र लालीमाया । यस्तो प्रतिकूल परिस्थितिमा पनि आफूले गर्नुपर्ने सत्कर्मबाट कत्ति पनि चुकेका छैनन् । शुद्ध आचार, विचार र मनोभावले सुसज्जित भास्कर निकै मेहनती र अब्बल दर्जाको व्यक्ति छ तर पनि समय र परिस्थितिले उसलाई घरी घरी थिचिरहन्छ, जसका कारण आफूले चाहे जस्तो सफलता हासिल गर्न असफल हुन्छ । जिन्दगीको उतारचढाव, तितो, नमिठो अनुभव गरेको भास्कर जीवनको वास्तविकतालाई राम्रैसँग नियाल्न पुग्छ । डाक्टर भई बिरामीको सेवा गर्दै घरजम गरी आफ्नो जीवन आनन्द र सुखसँग बिताउने लक्ष्य एकाएक चकनाचुर भएपछि जीवनले भिन्न मोड लिएको छ । आफूले जीवनमा भोगेका हन्डर र कष्टले गर्दा जीवनको धार नै परिवर्तन हुन पुग्छ । यसले समय नै कति बलवान् हुँदो रहेछ भन्ने कुरालाई इङ्गित गरेको छ । जस्तोसुकै परिस्थितिमा पनि मन स्थिर राखी अघि बढ्नुपर्ने शाश्वत सत्यको पक्षलाई उपन्यासमा स्पष्ट ढङ्गले औँल्याइएको छ ।
जातीय भेदभावरहितको समावेशी समाज निर्माणमा उपन्यासले सशक्त रूपमा कदम चालेको छ । “हेर गन्धर्व दाइ र भाउजू अहिलेको जमाना भनेको सबै मानिस एउटै जात र एउटै व्यवस्थामा रहने ईश्वरका सन्तान हुन् । यो ठुलो जात, यो सानो जात भन्ने विभेद मानिसले नै बनाएको हो । यहाँ ठुलाबडाले जात र कुजात, छुत र अछुत भनेका हुन् तर मानिस सबै बराबर छन् । अब हाम्रो स्कुलका प्रिन्सिपल दीपेन्द्र सर र तपाईंकी छोरी चमेलीबिच प्रेम भयो । दुवैले विवाह गर्न मन्जुरी गरे । हामी सबै शिक्षक–विद्यार्थी र चमेलीकै साथीहरूले पनि मन्जुरी दियौँ । अब उनीहरूको विवाहलाई कसले रोक्न सक्छ ? तपाईंहरूको मन्जुरी मात्र चाहिएको हो ।”
दीपेन्द्र कोइराला र चमेली गन्धर्वबिच धुमधामसँग विवाह सम्पन्न गराई उपन्यासकारले आफ्नो प्रगतिवादी सोच र समाज रूपान्तरणको चाहना प्रस्तुत गर्नुभएको छ । आजको युगमा मानिस जातले होइन, उसको कर्मले नै महान् बन्न सक्छ भन्ने कुरालाई स्पष्ट पार्न खोजिएको सङ्केत प्रस्ट हुन्छ । सामाजिक क्रान्तिको बिगुल उपन्यासको माध्यमबाट फुक्न खोजेको देखिन्छ । भास्कर र लालीमायाबिच जुन प्रेम देखाइएको छ, त्यो निकै अनुकरणीय छ । सफल गृहस्थ जीवनबाटै अध्यात्मतर्फको यात्रा गराएको भए अझै सान्दर्भिक हुने थियो होला, जसले जगत्को सृष्टि सञ्चालनमा समेत टेवा पुग्ने थियो । आजको युगमा घरपरिवार मानवीय जीवनबाट विरक्त भई सन्न्यस्त हुनुभन्दा जीवन भोग्दै आफ्ना सम्पूर्ण कार्य गरी आध्यात्मिक चिन्तन, योग, साधना र ध्यान गर्नु नै उचित हुने थियो होला; जसको फलस्वरूप आफ्नो घर नै धार्मिक अनुष्ठान भई सत्कर्मको भावना सबैमा जागृत गराउन सकिने थियो होला । जे होस्, समाज सुधार गर्दै मानव हृदयमा उच्च चेतनाको विकास गर्ने उपन्यासकारको विचार निकै सान्दर्भिक र महान् रहेको पाइन्छ ।
सरल, सहज भाषा शैलीको प्रयोगले उपन्यास बोधगम्य रहेको छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय भूभाग परिवेशका रूपमा चित्रण गरिएको छ । सांस्कृतिक, धार्मिक, शैक्षिक र राजनीतिक विषयवस्तुको उठानसँगै आध्यात्मिक चेतनाको उत्कर्षक विन्दुमा पु¥याएर नेपालको दिव्य तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा दुवै आत्मिक मनको मिलन गराई उपन्यासलाई सुखान्तकमा अन्त्य गराइएको छ । उपन्यास पठनीय मात्र नभई उत्तिकै मननीय रहेको अनुभूति पाठकलाई हुन्छ ।