• २८ असार २०८२, शनिबार

सात वर्षमा निर्माण सम्पन्न,देवघाट विद्युतीय शवदाह गृह

blog

निर्माण सम्पन्न भएको देवघाटधामस्थित विद्युतीय शवदाहगृह ।

शालिग्राम नेपाल 

देवघाट (चितवन), असार २८ गते  । चितवनको देवघाटमा निर्माणाधीन विद्युतीय शवदाह गृहको निर्माण सात वर्षपछि सम्पन्न भएको छ । विसं २०७५ माघ ३ गते निर्माण सम्झौता भएको सो भवन पटक पटक म्याद थपपछि अहिले निर्माण सम्पन्न भएको हो । सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपडबहादुर थापाले धेरै प्रयासबाट भवन निर्माण सम्पन्न भएको  जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तोकिएको समयमा निर्माण पूरा भएन । निर्माण सम्पन्न हुँदैन कि भन्नेसम्मको स्थिति पैदा भइसकेको थियो तर धेरै ताकिता गरेर अहिले निर्माण पूरा भएको छ ।”  

भवन निर्माण सम्पन्न भए पनि विद्युत् जोड्ने, शवदाहको मेसिन जडान र सो प्रविधि सञ्चालन गर्ने व्यक्तिलाई तालिम दिनेलगायतका काम बाँकी छ । प्रमुख थापाले भन्नुभयो, “यी सबै काम सम्पन्न गरेर शवदाह गर्न जनशक्तिलाई तालिम दिएपछि हाम्रो दायित्व पूरा हुन्छ ।” आन्तरिक तयारीका सबै काम केही दिनमा सकिने दाबी थापाले गर्नुभयो । 

हस्तान्तरणपछि स्थानीय सरकारले शवदाहगृह सञ्चालन गर्ने भएको छ । आवश्यक कर्मचारी परिचालन तथा सञ्चालन स्थानीय सरकारको दायित्वभित्र पर्ने प्रमुख थापाले बताउनुभयो । 

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सनद बरालले विद्युतीय शवदाहले धेरै सहज हुने बताउनुभयो । बर्सातमा शव जलाउन कठिन हुने, दाउराको समस्या, समयको बचत सबै हिसाबले शवदाह धेरै प्रभावकारी हुने उहाँले बताउनुभयो । शवलाई धार्मिक विधि अनुसार गङ्गामा कर्म गरेर विद्युतीय मेसिनमा राख्न सकिने उहाँले बताउनुभयो । 

नारायणीमा बाढी आएको बेला शव जलाउन समस्या हँुदै आएको थियो । बाढी आएपछि जलाउने स्थानको अभाव, दाउरा नबल्ने तथा अन्य जटिलताले गर्दा शवदाह संस्कारमा सहभागी हुने व्यक्ति नै असुरक्षित हुने गरेका र सद्गतको काममा पनि धेरै समय लाग्ने गरेको थियो । धेरै प्रयासपछि विद्युतीय शवदाह निर्माणको प्रव्रिmया पूरा भएको 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताउनुभयो । समयको माग अनुसार व्यवस्थित शवदाह गृह निर्माण हुनु पर्छ भन्ने लागेरै निर्माणको प्रयास गरेको उहाँले बताउनुभयो । 

सङ्घीय सरकारको बजेटबाट ११ करोड २१ लाख आठ हजार ६४१ रुपियाँमा शवदाहगृह निर्माण गरिएको हो । शवदाहगृह छ सय वर्गमिटर क्षेत्रफलमा बनेको छ । चितवन, तनहुँ र नवलपरासीको  तीन सङ्गमस्थल देवघाटमा दैनिक जसो शवदाह हुँदै आएको छ ।