गर्यौ अक्षरका खेती भाषा खासा बढाउँदै ।
वीर हास्य र शृङ्गार रसमा गड्गडाउँदै ।।
मर्यादा रामको कीर्ति हिमाल र मधेशमा ।
घनक्क घन्किँदै गुन्जे द्यौराली औ पधेरीमा ।।
भोलिकै पुन्तुरा बाँड्ने दुष्टरुष्ट प्रशासक ।
भिजाई काव्यमा सिस्नु झप्कायौ पिँडुलातक !!
कृशाङ्गी चपला उस्तै चित्रिणी हस्तिनी छवि ।
तन्दुरुस्त खिचे फोटा काव्य कविता मन्त्र–मोहनी ।।
व्यञ्जना लक्षणा घोल्दै बगायौ दृष्टि दर्शन ।
नेपालीपनमा मीठो खोल्थ्यो काव्यिक गर्जन ।।
रच्यौ मानक भाषामा छन्दकाव्य मनोरम ।
राष्ट्रको एकता गाँस्न बसाल्यौ गतिलो क्रम ।।
विभूति देशका हाम्रा भानु दिव्य दिवाकर !
श्रद्धाका अञ्जलीपुष्प अर्पन्छौँ हे प्रभाकर !!