• २८ असार २०८२, शनिबार

पत्रकारिता र साहित्यमा समानान्तर सर्जक

blog

छत्तिस साल भर्खरै सकिएको थियो । बहुदल निर्दलको राजनीतिक हावाहुरी शान्त देखिए पनि पूर्ण रूपमा बिलाइसकेको थिएन । त्यसले भित्रभित्रै वैचारिक हुन्डरीको काम गर्दै थियो सायद तर राजधानी काठमाडौँ र आसपासका गाउँहरू शान्त देखिन्थे । एक किसिमले राजनीतिक आन्दोलन तत्कालका लागि किनारा लागे झैँको वातावरण बनेको थियो । काँठका मानिस आआफ्नो दैनिकी र क्षमता अभिवृद्धिको जोहोमा थिए । 

मुलुककै पहिलो राष्ट्रिय दैनिक र सरकारी पत्रिका ‘गोरखापत्र’ ले त्यसैताका कर्मचारी माग्यो । सहरको पूर्वी काँठमा मास्टरी गरेर बसिरहेका र साहित्यमा थोरबहुत कलम चलाइरहेका विजय चालिसेले त्यहाँ आवेदन दिनुभयो । बालकैदेखि भाषा साहित्यमा रुची राख्ने र साहित्यकारसँगका संसर्गका कारण उहाँको भाषा राम्रो थियो । गोरखापत्रमा उहाँको नाम निक्लियो र जागिर खान थाल्नुभयो । त्यसपछि अनवरत ३० वर्ष उहाँले गोरखापत्र संस्थान सेवा गर्नुभयो । त्यस क्रममा त्यहाँबाट निक्लने सबै नेपाली भाषाका पत्रिका ‘गोरखापत्र’, ‘मधुपर्क’, ‘युवामञ्च’ र ‘मुना’ का प्रधान सम्पादक हुनुभयो । संस्थानकै अध्यक्षसमेत बन्नुभयो ।  

वरिष्ठ आख्यानकार रमेश विकलका जेठा छोरा विजय चालिसेले सानैदेखि साहित्यिक वातावरणमा हुर्कने अवसर पाउनुभएको थियो । गोरखापत्रमा जागिर खानुभन्दा अघि नै उहाँका रचना ‘गोरखापत्र’ र ‘मधुपर्क’ मा प्रकाशित भइसकेका थिए । त्यसबेला ‘गोरखापत्र’ को शनिबार परिशिष्टाङ्कको संयोजन हास्यव्यङ्ग्यका महारथी भैरव अर्यालले गर्नुहुन्थ्यो । भैरव अर्याल र रमेश विकल साथी । “मेरो साथीको छोरो भएकाले तेरो रचना मैले गोरखापत्रमा छापेको होइन है । साच्चिकै तेरो साहित्यिक चेत राम्रो छ । निरन्तर लेखिस् भने तँ ठुलै लेखक बन्छस् ।” पहिलो रचना गोरखापत्रमा छापिएपछि भैरव अर्यालले उहाँलाई भन्नुभएको थियो । त्यसपछि त के चाहियो उहाँ हौसी हाल्नुभयो ।  

उहाँले कलम चलाउन बाँकी साहित्यको कुनै विधा छैन । सबै विधामा लेख्नुभयो । पुस्तकको सङ्ख्या नै ५५ भन्दा बढी छ । उहाँलाई पाठकले रुचाएको र लोकप्रिय बनाएको विधा चाहिँ कथा र निबन्धले नै हो । वरिष्ठ कथाकार रमेश विकलका छोरा भएर मात्र होइन सानैदेखि विदेशी लेखकका कथासम्मको पहुँचले पनि सायद उहाँलाई कथाकार बन्न सघाएको हुनु पर्छ । उहाँ भन्नुहुन्थ्यो पनि, “मलाई सबैभन्दा बढी मन पर्ने त कथा, नियात्रा र बालसाहित्य नै हो । लेख्न त केही कविता, ललित निबन्ध, उपन्यास, एकाङ्की नाटक र केही खोजपरक समालोचनात्मक रचना पनि गरेको छु । यति भएर पनि मेरो प्रिय विधा कथा र कथापछि निबन्ध नियात्रा नै हो ।”  जिन्दगीको उत्तरार्धमा पुगेपछि उहाँको स्वीकारोक्ति थियो, “धेरै विधामा छरिँदाखेरी विषय विविधता भयो तर एउटै विशेष व्यक्तित्व चाँहि बन्न सकेन । एउटै विधामा लागेको भए अझ गहनता आउँथ्यो होला ।”

२०५० सालको वर्षायाम थियो । हामी त्यसबेला कथा कविता लेख्न सिक्दै गरेका तन्नेरीहरू हान्निएर रमेश विकलको घर आरुबारी पुगेका थियौँ । हामी भन्नाले कवि गोवर्धनपूजा, म, दीपक लोहनी, सङ्गीता स्वेच्छा र दीपक रिसाल । ‘असहमतिका पाइलाहरू’ भन्ने कथासङ्ग्रहको तयारीमा थियौँ, हामी । त्यसमा मुख्य भूमिका रमेश विकलको राख्नु थियो । त्यसका लागि हामी आरुबारी पुगेका र त्यही मेरो पहिलो भेट भएको हो, विजय चालिसेसँग । आफ्ना बुवासँग कलिला तन्नेरीहरूले उत्साहसाथ गरेको गफ उहाँ चाख मानेर सुनिरहनुभएको थियो । 

“तिमीहरूको कति कति वटा कथा छन् ?” रमेश विकललाई सहज होस् भनेर सायद उहाँले सोध्नुभयो । हामीले पाँच जनाका पाँच/पाँच वटा कथा राख्न लागेको जानकारी दियौँ । त्यसमा हाम्रा प्रारम्भिक कालका कथाहरू समेटिएका थिए । २०५० साल दीपावलीमा बजारमा आएको त्यो किताबमा रमेश विकलको भूमिका र डा. तुलसी भट्टराई, अशेष मल्ल, भागीरथी श्रेष्ठ,  किशोर पहाडी, श्रीओम श्रेष्ठ ‘रोदन’ ले किताबको अन्तिम पृष्ठमा लेख्नुभएको थियो ।म व्यक्तिगत रूपमा उहाँसँग झ्याम्मिएको ‘मधुपर्क’ का प्रधान सम्पादक भएपछि नै हो । त्यसबेला पनि उहाँ हामी नयाँ लेखक कविका कुरा खुब चासोका साथ सुन्ने र राम्रो नराम्रो हाकाहाकी भन्ने गर्नुहुन्थ्यो । त्यसो त उहाँलाई चिन्ने अधिकांश ‘विजय चालिसे प्रस्ट वक्ता’ हुन् भन्छन् ।

अरूको प्रिय हुन र मन नदुखाउन सत्य पनि बोल्न डराउनेको भिडमा उहाँ ड्याङ ड्याङ आफूलाई लागेका कुरा बोल्नुहुन्थ्यो । कुनै लप्पनछप्पन थिएन । आफूलाई लागेको कुरा भनिहाल्ने । एकताका नयाँ नयाँ प्रकाशकको हल्लाखल्ला र नयाँ नयाँ क्याम्पेन चलिरहँदा उहाँले भन्नुभएको थियो, “केही निजी प्रकाशनका कृति यति हजार बिक्यो, उति हजार बिक्यो र फलानोले यति लाख लेखकस्व पायो, तिलानोले यति भन्ने स्याल हुइयाँ सुनिन्छ, यो सब गलत हो ।”

उहाँले अझ प्रस्ट पार्नुभयो, “त्यसो हो भने त्यस्तो अमुक पुस्तक छाप्दा ती प्रकाशकले कति कागज किने ? कति भ्याट वा अन्य कर बुझाए ? कुन कुन विक्रेताले कति कति सङ्ख्यामा पुस्तक बेचे, लेखकलाई के कति बुझाए तिनको सत्य प्रमाण सार्वजनिक गर्नु पर्छ अनि मात्र विश्वास गर्न सकिन्छ ।”

पछिल्लो समय उहाँ विभिन्न रोगले गाँजिनुभयो तर कुराकानीमा उहाँको सहभागिता, स्वर सबै हेर्दा उहाँ गम्भीर रूपमा अस्वस्थ हुनुहुन्छ भन्ने लाग्दैनथ्यो । गत चैतमा उहाँले शङ्कर लामिछाने निबन्ध पुरस्कार २०८१ पाउँदै गर्दा संयोगले त्यस कार्यक्रमको उद्घोषक म थिएँ । उहाँसँगको मेरो अन्तिम भेट नै त्यही बन्यो । “तपाईंका कविता र कथा मलाई निकै मन पर्छन् । लेखिरहनूस् है भाइ तर मेरो गुनासो छ तपाईंसँग,” उहाँले भन्नुभएको थियो ।  रोगका कारण उहाँको शरीर गलेको थियो तर मनमा उस्तै हक्कीपना । म उहाँकै बगलमा बसेँ र सोधेँ “के गुनासो दाजु भन्नु न ।” “कति राम्रो निबन्ध लेख्नुहुन्थ्यो तपाईं । मैले मधुपर्कमा पढेको छु तर अचेल त्यति देख्दिनँ । निबन्ध लेख्न छाड्नुभएन नि !” 

“छाडेको छैन दाजु लेख्छु ।” मैले भनेपछि उहाँ मुस्कुराउनुभयो र त्यसपछि मैले उहाँ मुस्कुराएको देखिन, देख्न पाइनँ । 

चार दर्जन कृति, यथार्थवादी लेखक 

साहित्यकार तथा पत्रकार विजय चालिसेका कथा, उपन्यास, बालसाहित्य, पत्रकारितालगायत गैरआख्यान तथा अनुवाद आदि गरी विभिन्न विधाका ५५  पुस्तक प्रकाशित छन् । पाँच दशकभन्दा लामो साहित्यिक यात्रामा उहाँका उपन्यास तीन, कथाका नौ, संस्कृति र यात्रा निबन्धका आठ, पत्रकारिताका छ र बालसाहित्यका ३१ कृति प्रकाशित छन् । नौ वटा पुस्तकको उहाँले सम्पादन गर्नुभएको छ । उहाँका कृति अङ्ग्रेजीमा पनि प्रकाशित छन् । अझै एक दर्जनभन्दा बढी कृति प्रकाशन हुन बाँकी छन् । प्रकाशित अप्रकाशित कृतिको सङ्ख्याले उहाँको विविधतापूर्ण विपुल लेखनलाई देखाउँछन् । निरन्तरको अध्ययन र साधनाबिना यति धेरै पुस्तक लेख्न सम्भव हुँदैन । 

सामाजिक यथार्थमा रहेर साहित्यमा मानवीय संवेदनालाई लेख्नु विजय चालिसेको विशेषता हो । उहाँ अक्सर भन्नुहुन्थ्यो, “साहित्य जीवनपरक हुनुका साथै कलात्मकसमेत बन्न सकोस् । साहित्य मान्छेका लागि हुनु पर्छ ।” उहाँको समस्त लेखनमा यही मान्यता रहेका छन् । उहाँको ‘अग्निचक्र’ कथा सङ्ग्रह मलाई निकै मन परेको किताब हो । उहाँका कथामा समाज मुख्य सरोकारको विषय रहेको छ । समाजका उज्याला अँध्यारा पक्षलाई देखाउनु; परिवर्तनको चाहना राख्नु; विभेद र उत्पीडनको विरोध गर्नु उहाँको लेखनका विशेषता हुन् । स्वतन्त्रता, समानता र न्यायका पक्षमा उभिनु एवं सामाजिक यथार्थको कलात्मक पुनः सिर्जनामा गम्भीर रहने स्वभाव धेरैले अनुसरण गर्न आवश्यक छ । समालोचक डा. दयाराम श्रेष्ठ विजय चालिसेको कथामा मानिसमा पाइने निराशा र कुण्ठा पढ्न सकिने बताउनुहुन्छ । 

निबन्धमा चर्चित, बालसाहित्य बढी 

निबन्धका क्षेत्रमा त विजय निकै चर्चित स्रष्टा हुनुहुन्थ्यो । यात्रासँग सम्बन्धित विषयका साथै जीवन र समाजका अन्य विषयसँग पनि उहाँका निबन्ध सम्बन्धित छन् । संस्कृतिका विषयमा पनि उहाँले कलम चलाउनुभएको छ । ‘डोटेली लोकसंस्कृति र साहित्य’ (२०३९), डोटेली लोकसंस्कृति र साहित्यलाई चिनाउने उहाँको महìवपूर्ण कृति हो । उहाँको आत्मसंस्मरण पनि प्रकाशित छ तर मलाई चाँहि अप्रिलको बेलायत नियात्रा मन पर्छ । उहाँ भन्नुहुन्थ्यो, “यात्रा, लेखन र अध्ययन यी तिनै वटा मेरा प्रिय कुरा हुन् । यात्राका व्रmममा म लेखनका लागि कच्चा पदार्थ पाउने गर्छु । अध्ययनबाट लेखनका लागि आवश्यक प्रेरणा र शिल्पको ज्ञान प्राप्त गर्छु ।”लेखक विजय चालिसेका सबैभन्दा धेरै कृति बालसाहित्यका छन् । उहाँलाई महत्वपूर्ण बाल साहित्यकारका रूपमा लिइन्छ । बालसाहित्यका क्षेत्रमा उहाँले कथा, उपन्यास, जीवनी लेख्नुभएको छ । उहाँका बालकविता विद्यालयका पाठ्यक्रममा समावेश छन् । रमाइलो त के भने उहाँले विश्वका चर्चित लेखकका बालसाहित्यका कृतिको अनुवाद पनि गर्नुभएको छ । उहाँले लेखेका चित्रकथा र चित्रकविता बालबालिकामाझ लोकप्रिय छन् । 

पत्रकार व्यक्तित्व उच्च 

विजय चालिसेको मुख्य पेसा पत्रकारिता हो । उहाँ पुराना र स्थापित पत्रकार अनि पत्रकारिताका अध्येता । पत्रकारितासँग सम्बन्धित उहाँका कृति उल्लेखनीय मानिन्छन् । उहाँले लन्डनबाट ‘डिप्लोमा इन एड्भान्स जर्नालिजम’ गर्नुभएको थियो । गोरखापत्रको प्रधान सम्पादक र गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षसमेत बन्नुभयो । २०५० को दशकसम्म पत्रकारिताको किताब भनेपछि सबैले पढ्ने उहाँकै किताब हो । 

अन्त्यमा

२००८ असार २२ गते जन्मिनुभएका विजय चालिसेको २०८२ जेठ १६ गते निधन भयो । उहाँलाई नजिकबाट चिन्नेहरू ‘प्रस्ट वक्ता भए पनि चालिसे धेरैसँग मिल्न सक्ने र सरल व्यक्तित्व’ का रूपमा बुझ्दछन् । सधैँ सत्यकै पक्षमा अडिग रहने स्वभावका कारण कति मानिसले उहाँलाई अप्ठ्यारो पनि माने तर उहाँको आफ्नो मौलिक स्वभाव र सिर्जनशीलताले सधैँ उहाँ नेपाली पत्रकारिता र साहित्यमा बाँचिरहनुहुने छ ।