सर्लाही समाचारदाता
सर्लाही, असार २८ गते । सर्लाहीको ईश्वरपुर नगरपालिकाको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने वडा नं. १२ घारीबथानमा यो वर्ष साढे तीन किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरिएको छ । मधेश प्रदेश सरकार, नगरपालिका र वडा कार्यालयको बजेटबाट पहिलो पटक घारीबथानमा गाउँको मुख्य सडक कालोपत्रे गरिएको हो । ग्राभेल कच्ची सडक रहेको ठाउँमा कालोपत्रे सडक निर्माण भएसँगै स्थानीय खुसी भएका छन् । घारीबथानस्थित दोकन टोलका दुर्गाबहादुर भुजेलले गाउँमा कालोपत्रे सडक निर्माण भएसँगै बल्ल नगरपालिकाको बासिन्दा भएको महसुस भएको बताउनुभयो । गाउँमा खानेपानी र सिँचाइको दुःख भने हट्न नसकेको भुजेलको गुनासो छ ।
सडक कालोपत्रे भएसँगै आवतजावतमा असाध्य सहज भएको भुजेलको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँमा पिच रोड बन्दा असाध्य खुसी छौँ । गाउँमा खानेपानी र सिँचाइको समस्या भने कहिल्यै हट्न सकेन ।”
सर्लाहीको उत्तरपूर्वी भेगस्थित महोत्तरीको बर्दीबास नगरपालिकाको खयरमारासँग सीमा जोडिएको घारीबथानमा चालु आर्थिक वर्षमा वडा, नगर र प्रदेशको समेत तीन करोड रुपियाँ बजेट खर्चिएर सडक कालोपत्रे गरिएको हो । वडा तथा नगरबाट विनियोजित ८१ लाख रुपियाँबाट गोपीचोकदेखि चाकलटोल जाने ओरालोसम्मको एक किलोमिटर पाँच सय मिटर सडक कालोपत्रे गरिएको ईश्वरपुर १२ घारीबथानका वडाध्यक्ष देवीबहादुर खत्री (शिव) ले जानकारी दिनुभयो ।
यस्तै मधेश प्रदेश सरकारबाट प्राप्त दुई करोड रुपियाँबाट चाकलटोलतर्फ झर्ने ओरालोदेखि हाइस्कुल, टेम्पुचोक हुँदै साबिक कालिन्जोर गाविस–१ मा पर्ने पिपल चौतारासम्म र सोही बजेटले टेम्पुचोकदेखि वडा कार्यालयसम्मको दुई किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरिएको वडाध्यक्ष खत्रीले बताउनुभयो । उहाँले गाउँमा चव्रmपथकै आकारमा रहेको सडकमध्ये गोपीचोकदेखि नयाँ टोलसम्मको करिब एक किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको र आगामी आवमा बजेट विनियोजन गरेर उक्त सडक पनि कालोपत्रे गरिने जानकारी दिनुभयो ।
घारीबथानमा यसअघि दोङखोरियादेखि गोपीचोकसम्म करिब एक किलोमिटर र पूर्वपश्चिम राजमार्गस्थित बाँकेचोकदेखि अधिकांश जङ्गलमा भागसहित नयाँटोलस्थित गाउँसम्म सात किलोमिटर सडक कालोपत्रे भएको थियो । घारीबथानमा चुरेडाँडाको फेदीसम्मका सडक कालोपत्रे हुन सुरु भए पनि चुरेपाखामा रहेका बस्तीमा भने गोरेटो सडकसम्म पुग्न सकेको छैन ।