• ३ असार २०८२, मङ्गलबार

खगिन्द्राको ‘खुसीको गाउँ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ३ गते । भुटानी शरणार्थीको जीवनमा आधारित खगिन्द्रा खुसीको उपन्यास ‘खुसीको गाउँ’ विमोचन गरिएको छ । विश्व भुटानी साहित्यिक सङ्गठनद्वारा नेदरल्यान्डमा आयोजित कार्यक्रममा उपन्यासको विमोचन गरियो । सन् १९९० को दशकयता भुटानबाट लखेटिएपछि झापा र मोरङमा शरणार्थी शिविरमा बसोबास गरेको कालखण्ड र पुनर्वासपछि तेस्रो मुलुक पुग्दासम्मका कारुणिक यथार्थ र वास्तविक सङ्घर्षलाई उपन्यासमा समेटिएको छ ।

बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालले उपन्यासको विमोचन गर्दै भुटानबाट निर्वासित भएको पुस्ताले जीवनभर सङ्घर्ष गरेको स्मरण गर्दै अबका दिन सहज हुने विश्वास व्यक्त गर्नुभयो । शरणार्थीले भोगेका पीडा, शिविरभित्रको प्रेम जीवनसँगै दुई दशकसम्मको अविराम दुःख र सङ्घर्षका गाथालाई उपन्यासमा समेटिएको बताउनुभयो । सङ्गठनका अध्यक्ष कर्ण गुरुङले उपन्यासले भुटानबाट लखेटिएपछि दुई दशकसम्म गरेका सङ्घर्षका दिन स्मरण गराएको बताउनुभयो । कार्यक्रममा साहित्यकार गोपाल पौडेलको ‘धुलोमा हिरा’, याम राईको ‘याम एक सापेक्ष’ विमोचन गरिएको थियो ।