शेरबहादुर राई
ओखलढुङ्गा, असार २४ गते । तपाईं विद्यार्थी हुनुहुन्छ ? वा विद्यार्थी हुँदा कहिलेकाहीँ कक्षा छाडेर साथीभाइसँग कुनै रमाइलो गर्नका लागि भाग्नुभयो कि ? वा आक्कलझुक्कल समाचारमा देखिने हाजिरी गरेर जागिर पचाउने शिक्षक त हुनुहुन्न ? कतिपय अवस्थामा रमाइला लाग्ने यस्ता घटना ओखलढुङ्गा सुनकोशी गाउँपालिकाका विद्यार्थी तथा शिक्षकले अब अनुभव गर्न नपाउने भएका छन् ।
विद्यार्थीले विद्यालयमा हाजिर गर्दा घरमा अविभावकलाई जानकारी दिने स्मार्ट हाजिरी प्रविधि सुरुवात गरिएपछि सुनकोशी गाउँपालिका–९ मा रहेको कटुन्जे माध्यमिक विद्यालयका विद्यार्थीले अब यस्तो अनुभव सँगाल्न पाउने छैनन् । किनकि घरबाट अध्ययनका लागि विद्यालय हिँडेपछि उनीहरू साँच्चि नै विद्यालय गए कि गएनन् अभिभावकले घरमै बसेर थाहा पाउने छन् ।
विद्यालयमा विद्यार्थीको नियमितता र अनुशासन कायम गर्न स्मार्ट हाजिरी व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष झनकुमार कार्कीले बताउनुभयो । “विद्यार्थीले बिहान र बेलुका स्मार्ट आइडी कार्ड ट्याप गरी आफ्नो हाजिरी दिने छन् ।” उहाँले भन्नुभयो, “हाजिरी ट्याप भएलगत्तै विद्यार्थीको उपस्थितिको सूचना अभिभावकको मोबाइलमा सन्देशमार्फत पुग्ने व्यवस्था मिलाइएको छ ।”
विद्यार्थीको जस्तै शिक्षकका लागि पनि ई–हाजिरी व्यवस्था गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । प्रविधि प्रयोगले शिक्षक र विद्यार्थीको अनुशासन र नियमितता सुनिश्चित गर्दै शैक्षिक गुणस्तरमा ठुलो फड्को मार्ने अपेक्षा गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कार्कीको भनाइ छ । डिजिटल प्रणालीले विद्यालयमा शैक्षिक व्यवस्थापनमा पारदर्शिता, स्रोतको सही सदुपयोग र समयको बचत सुनिश्चित गर्ने प्रधानाध्यापक कृष्णप्रसाद पुडासैनीले बताउनुभयो । अब शिक्षकले हाजिरी पुस्तिका बोकेर कक्षामा जानुपर्ने बाध्यता हटेको उहाँ बताउनुहुन्छ ।
स्मार्ट हाजिरी मात्र नभई विद्यालयले लेखा व्यवस्थापन, शिक्षक–कर्मचारीको बिदा अभिलेखीकरण, पुस्तकालय सेवा, परीक्षाफल तयारी, सूचना प्रवाह, संवाद संयन्त्रलगायतका कार्य पनि एकीकृत डिजिटल सफ्टवेयर प्रणालीमार्फत सञ्चालन थालिएको छ ।
यसअघि नै विद्यालयले प्रविधिमा आधारित शिक्षण प्रणालीलाई प्राथमिकतामा राख्दै स्मार्ट बोर्ड प्रयोग, व्यावहारिक कम्प्युटर तालिम, बुक–फ्री गुड फ्राइडे कार्यक्रम, स्काउट गतिविधि, शिक्षक तालिम, शैक्षिक भ्रमण, मन्टेसोरी शिक्षण विधि र क्यान्टिन सञ्चालन जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।