• १७ साउन २०८२, शनिबार

यातायातबाट साढे चार करोड राजस्व

blog

पूर्वाधार विकास कार्यालय लमजुङ ।

नवीनराज कुइँकेल

लमजुङ, साउन १७ गते । लमजुङमा पूर्वाधार विकास कार्यालयले यातायात सेवा प्रवाहबाट एक वर्षको अवधिमा चार करोड ६६ लाख ५८ हजार सात सय ७० रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०८१–८२ मा सवारी कर, आयकर, नवीकरण र रुट पर्मिट लगायतको सेवा बापत राजस्व सङ्कलन भएको हो । पूर्वाधार विकास कार्यालय लमजुङका लेखा सहायक उत्तम गुरुङका अनुसार गत आर्थिक वर्षमा चार पाङ्ग्रे सवारी साधनबाट मात्रै एक करोड ८९ लाख ६२ हजार तीन सय पाँच रुपियाँ राजस्व सङ्कलन भएको छ ।

दुई पाङ्ग्रे सवारी साधनको सवारी कर एवं नवीकरणबाट दुई करोड १८ लाख ११ हजार दुईसय ४० रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयले सवारी इजाजत र नवीकरण बापत २७ लाख ६३ हजार एक सय रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ । 

त्यसैगरी यातायात क्षेत्रको रुट पर्मिट र पटके शिर्षकमा नौ लाख ३२ हजार दुईसय रुपियाँ राजस्व सङ्कलन भएको छ । सोही रकममा सवारी आयकर २१ लाख ८९ हजार नौसय २५ रुपियाँ गरी चार करोड ६६ लाख ५८ हजार सात सय ७० रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार सबैभन्दा बढी गत चैत्र महिनामा ९५ लाख, ८१ हजार पाँच सय ८० रुपियाँ राजस्व सङ्कलन भएको छ भने सबैभन्दा कम जेठ महिनामा १५ लाख ९८ हजार तीन सय ५० रुपियाँ राजस्व सङ्कलन भएको थियो । सो बाहेक साउनमा २० लाख ८६ हजार आठसय ३० रुपियाँ, भदौ महिनामा २३ लाख ३२ हजार दुई सय ४० रुपियाँ, असोजमा ३५ लाख ७९ हजार सात सय ७५ रुपियाँ, कात्तिकमा ३९ लाख दुई हजार ५५ रुपियाँ, मङ्सिरमा ४४ लाख ९७ हजार ६ सय २५ रुपियाँ, पुस महिनामा ४३ लाख ३२ हजार पाँच सय ५० रुपियाँ, माघ महिनामा ३७ लाख ३५ हजार तीन सय ५५ रुपियाँ राजस्व सङ्कलन भएको छ ।

त्यस्तै फागुनमा ४४ लाख २८ हजार आठसय ८० रुपियाँ, वैशाखमा २७ लाख ८७ हजार चार सय ३० रुपियाँ र असार महिनामा ३७ लाख ९६ हजार एकसय ४० रुपियाँ राजस्व सङ्कलन भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।