• ३ असार २०८२, मङ्गलबार

नुनथर पर्यटकीय क्षेत्रको सवारी पार्किङ निर्माण कार्य अन्तिम चरणमा

blog

रौतहटको नुनथरमा क्षेत्रमा सवारी पार्किङ निर्माण गरिँदै । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), असार ३ गते ।
रौतहटको पर्यटकीय स्थल नुनथरमा सवारी पार्किङ निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी सवारी पार्किङको निर्माण कार्यलाई तीव्रता दिइएको पर्यटन विकास कार्यालय रौतहटले जनाएको छ ।

नुनथर आउने पर्यटकको सवारी साधन पार्किङमा सहजताका लागि पार्किङ्ग निर्माण कार्य भइ रहेको कार्यालयले जनाएको छ ।
वर्षायामको समयमा समेत सहज ढङ्गले सवारी पार्किङको व्यवस्था गर्नका लागि ब्लक लगाइएको पर्यटन विकास कार्यालयका प्रमुख राजेश काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५० लाख ५५ हजार एक सय २१ रुपियाँको लागतमा निर्माण भइ रहेको पार्किङ्गमा  करिब एक सय ७५ वटा मोटरसाइकल अटाउने क्षमताको संरचना तयार भइरहेको छ ।

कार्यालय प्रमुख काफ्लेले नुनथरका लागि ठुलै पार्किङ्ग तथा चार पाङ्ग्रे सवारी पार्किङ्ग पनि आवश्यक रहेकाले आगामी आर्थिक वर्षमा त्यस तर्फ पनि ध्यान दिने बताउनुभयो । पार्किङ सञ्चालनमा आएपछि पर्यटकका लागि सहजता हुने नुनथर क्षेत्र विकास समितिले जनाएको छ ।

मधेश प्रदेशकै मुख्य पर्यटक स्थलमा पर्ने नुनथरमा धार्मिक दृष्टिकोणले तथा पिकनिक गर्ने उद्देश्यले दिनहुँ नेपाली तथा सिमावर्ती भारतका पर्यटकको भिड लाग्ने गर्दछ  ।

बिदाको दिनमा एक हजारभन्दा माथि तथा अन्य दिनमा समेत पाँच सयको हाराहारीमा पर्यटक आउने गरेको स्थानीय होटल सञ्चालक मोहन लामाले बताउनुभयो  ।