• ३० असार २०८२, सोमबार

यो समीकरण मन नपराउनेहरू सरकार ढल्यो भन्ने भ्रम फिँजाउन व्यस्त छन्: महासचिव पोखरेल

blog

काठमाडौँ, असार २९ गते । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सत्ता समीकरण मन नपराउनेहरू अहिले पनि सरकारको बारेमा भ्रम छरिरहेको बताउनुभएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीका सबै विभागहरूको संयुक्त छलफललाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरेक दुई महिनामा सरकार ढल्दै छ भन्ने भ्रम फिँजाउने काम भइरहेको र प्रधानमन्त्री र पार्टी सभापतिहरूले सरकार जारी रहन्छ भनेर स्पष्टीकरण दिइरहनुपरेको बताउनु भयो । उहाँले वर्तमान समीकरण मन नपराउनेहरुले अहिलेको समीकरणका विरुद्ध भ्रम सिर्जना गर्ने खेतीपाती गरिरहेको बताउनु भयो । स्थायित्वबाट आफ्नो भविष्य असुरक्षित देख्ने जमातबाट यो काम भइरहेको बताउनु भयो । 

महासचिव पोखरेलले भन्नुभयो, ‘हरेक दुई महिनामा प्रधानमन्त्री र पार्टीका सभापतिले भन्नु परिरहेको छ, यो सरकार जारी रहन्छ । यस्तो किन हुने गर्दछ भने यो समीकरण मन नपराउनेहरू यो समीकरणका विरुद्ध भ्रम सिर्जना गर्ने खेतीपाती गरिरहेकै छन् । यो चिजलाई हामीले बुझ्नुपर्दछ । हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला चलाइन्छ तर सरकार निरन्तर जारी छ । एक वर्ष हामीले गुजारी सक्यौँ । यो मुलुकमा स्थायित्वबाट आफ्नो भविष्य असुरक्षित हुने जमात छ । उनीहरू निरन्तर रूपमा अस्थिरताका लागि सोसल मिडियाको दुरुपयोग गरिरहेका छन् ।’

महासचिव पोखरेलले प्रमुख पार्टीहरू सरकारमा गएपछि लोकतन्त्रले के दियो र गणतन्त्रले के दियो भन्ने अभियान चलाइएको बताउनुभयो ।