जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोतः राष्ट्रपति पौडेल
काठमाडौँ, फागुन ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उहाँले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बताउनुभएको छ । “मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ”, राष्ट्रपति पौडेलले शुभकामनामा भन्नुभएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो । विसं २००७ को क्रान्तिको जगमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका हौँ ।” राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट भई अहिले संविधानतः तीनै तहका सरकारहरू बनेका छन् । यी निश्चिय नै हाम्रा लागि धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिको जगमा हाम्रो भविष्यको सुखद् यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु ।” राष्ट्रपति पौडेलले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनलाई पथप्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजप्रति पनि सम्मान एवं श्रद्धा प्रकट गर्नुभएको छ । राष्ट्रपतिले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवं मान्यता कार्यान्वयन गर्न प्रेरणा मिल्ने अपेक्षा गर्नुभएको छ । उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गर्नुभएको छ । विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरूद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदैछ ।
प्राप्त उपलब्धिलाई अक्षुण राख्नु आजको आवश्यकता: उपराष्ट्रपति यादव
काठमाडौँ, फागुन ७ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको संविधानमा व्यवस्था भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानता, समावेशिता, धर्मनिरपेक्षता, कानुनी राज्य, सार्वभौमसत्तालाई अक्षुण्ण राख्नु आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन गरिबी, भेदभाव, अशिक्षा र बेरोजगारीको अन्त्य गर्दै अघि बढ्नु हाम्रा लागि निर्विकल्प भएको बताउनुभएको छ । “लोकतन्त्र, शासनको रूपमा मात्र सीमित हुनुहुँदैन । मुलुकमा सामाजिक आदर्श, चरित्र, परम्परा, संस्कृति, सद्भाव र मूल्यलाई अजम्बरी बनाउनतर्फ पनि लोकतन्त्रलाई केन्द्रित गर्नुपर्दछ”, उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा भन्नुभएको छ, “लोकतन्त्रमा कुनै पनि विशेषाधिकारयुक्त वर्ग हुँदैन, जाति, धर्म, वर्ण, वंश, धन, लिङ्ग आदिका आधारमा कुनै पनि व्यक्तिसँग कुनै प्रकारको भेदभाव पनि गरिन्न । राजनीतिक लोकतन्त्रको सफलताका लागि उसको आर्थिक लोकतन्त्रसँग गठबन्धन आवश्यक छ ।” अग्रजहरूको सङ्घर्ष, बलिदान र अटुट सङ्कल्पकै कारण प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र स्वतन्त्रताको उपहार प्राप्त गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यस अवसरमा सबैले मुलुकको द्रुत विकास, समृद्धि र सामाजिक समरसताका लागि सदैव समर्पित भावका साथ अघि बढ्ने प्रण एवं दृढ सङ्कल्प लिन सक्नुपर्ने बताउनुभयो । दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो, सुदृढ र सबल बनाउने दायित्व, कर्तव्य र जिम्मेवारीलाई स्मरण र बोध समेत गराएको उल्लेख गर्दै उपराष्ट्रपतिले सम्पूर्ण नागरिकहरूको अधिकारहरूको रक्षा, न्यायपूर्ण समाजको स्थापना र सबैका लागि समान अवसर सुनिश्चित गर्ने दिशामा एकजुटताका साथ क्रियाशील हुन पनि उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।मुलुकमा एक सय चार वर्षसम्म कायम रहेको जहानियाँ निरङ्कुश शासनविरूद्ध बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप २००७ सालको आन्दोलन सफल भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ ।
लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिने
काठमाडौँ, फागुन ७ गते । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने बताउनुभएको छ ।राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उक्त प्रेरणा दिने बताउनुभएको हो ।“विसं २००७ को प्रजातान्त्रिक आन्दोलनले नेपाली जनतालाई निरङ्कुशताको अन्धकारबाट मुक्त गरी स्वतन्त्रताको उज्यालोमा ल्याएको थियो”, सन्देशमा भनिएको छ, “प्रजातन्त्र दिवसले हामीलाई लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने गरेको छ ।” सभामुख घिमिरेले सन्देशमा प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गर्नुभएका वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । “सहिदहरूको बलिदानले प्रजातन्त्र तथा नागरिक स्वतन्त्रतासँगै देशले गणतन्त्रको यात्रा तय गरेको थियो, विसं २०६२÷६३ को जनआन्दोलनले पञ्चायती निरङ्कुशता र राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युग प्रारम्भ गर्यो” सन्देशमा भनिएको छ, “यो उपलब्धि नेपाली जनताको साहसिक सङ्घर्ष र सहिदहरूको त्यागकै कारण सम्भव भएको हो ।”मुलुकले राजनीतिक आन्दोलन र क्रान्तिमा महत्त्वपूर्ण सफलता प्राप्त गरेको तर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन अझै धेरै काम गर्न बाँकी रहेको सन्देशमा उल्लेख छ ।
शिक्षामा समयानुकूल परिवर्तन
शिक्षा मात्रै होइन, राणा शासनकालमा राज्यले प्रदान गर्ने सबै जसो अधिकारबाट नागरिक विमुख थिए ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।
संविधानको रक्षा, पालना र कार्यान्वयन अहिलेको प्राथमिकताः अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त लोकतन्त्रको रक्षा एवं प्रवर्द्धनमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ ।
आजको मौसम: आंशिक बदली हुने
काठमाडौँ, फागुन ७ गते । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहेको बताएको छ । साथै तराईका केही भागमा हुस्सु लागेको छ ।महाशखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ भने उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, राति सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ भने उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आगामी २४ घण्टामा देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा बिहीबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
सङ्घीयता कर्णालीका लागि उत्तम विकल्प
तत्कालीन व्यवस्थाले समान विकास गर्ने उद्देश्यले विकास क्षेत्रको अवधारणा अनुसार देशलाई पाँच विकास क्षेत्रमा विभाजन गरेको थियो ।
मुलुकभर आज प्रजातन्त्र दिवस मनाइँदै
काठमाडौँ, फागुन ७ गते । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने कार्यक्रम छ ।कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ । प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण गराउनुभएको छ ।
विकासमा रम्दै सुदूरपश्चिम
न बाटो न त बस्ती । सुगम जिल्ला कैलाली, कञ्चनपुर नै अप्ठ्यारोमा थिए त्यतिबेला
‘कवि मिश्र प्रेरणाको स्रोत’
कवि युद्धप्रसाद मिश्रको ३४ औँ स्मृति दिवसका अवसरमा कवि जगन्नाथ शर्मा आचार्य पुरस्कृत हुनुभएको छ ।
वैरागी काइँलासम्बन्धी पुस्तक लोकार्पण
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि वैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण गरिएको छ ।
तीन ताराको छायाङ्कन सम्पन्न
माउन्टेन र्याट्स मोसन पिक्चर्सको ब्यानरमा बन्न लागेको चलचित्र तीन ताराको छायाङ्कन सम्पन्न भएको छ । मोरङ र सुनसरीका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रमा १५ वर्षपछि भेटिएका साथीहरूको जीवन, सम्बन्ध र परिवर्तनको कथा देखाइने छ ।
‘द्रौपदी’ को टिकटक प्रतियोगिता
ऋषिराज आचार्य लिखित, निर्मित तथा निर्देशित चलचित्र ‘द्रौपदी’ ले टिकटक भिडियो निर्माण प्रतियोगिता घोषणा गरेको छ ।
रैथाने बालीमा आधारित सडक खाना महोत्सव
कर्णाली प्रदेशमा प्राङ्गारिक तथा रैथानी बालीको प्रथम सडक खाना महोत्सव सुरु भएको छ ।
सुपारी, केराउ र मरीचको आयात खुला
सरकारले सुपारी, केराउ र मरीचको परिमाणात्मक बन्देज हटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर आयातको अनुमति दिएको हो ।
न्यूनतम पारिश्रमिक निर्धारण गर्दा भौगोलिक आधार बनाउन सुझाव
आगामी साउनमा मजदुर, कामदार तथा कर्मचारीको नयाँ न्यूनतम वेतन निर्धारण गर्दा भौगोलिक आधारलाई अपनाउन पूर्वका उद्योगीले सुझाव दिएका छन् ।
आगामी वर्षलाई उन्नाइस खर्बको बजेट सीमा
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब रुपियाँ हाराहारीको बजेट सीमा निर्धारण गरेको छ ।
प्रकृति लम्साल मृत्यु प्रकरण : केन्द्र सरकारको ध्यानाकर्षण
भारतको ओडिसा भुवनेश्वरमा नेपाली विद्यार्थी २० वर्षीय प्रकृति लम्सालको मृत्युपछि उत्पन्न घटनाक्रमको विषय नेपाल–भारत कूटनीतिक मामिलामा परिणत भएको छ ।
आज नवौँ निर्वाचन दिवस
‘निर्वाचनको प्रभावकारिता : आमनागरिकको सहभागिता’ नारासहित फागुन ७ गते बुधबार (आज) नवौँ निर्वाचन दिवस मनाइँदै छ ।
आज प्रजातन्त्र दिवस, अब समृद्धिको यात्रा
महान् सहिदहरूको बलिदानीपूर्ण त्याग र सङ्घर्षको जगमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारशिला कोरिएको दिन फागुन ७ अर्थात् प्रजातन्त्र दिवस ।
सालनालसहितको बेवारिसे शिशु फेला
बर्दियामा बेवारिसे शिशु फेला परेका छ । बारबर्दिया नगरपालिका –२ कुमरागाउँको नालिमा सालनालसहितको वेवारिसे शिशु फेला परेको हो ।
खैरो हेरोइनसहित पक्राउ
कैलाली प्रहरीले ३२ ग्राम २४० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलालीको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
हत्या अभियोगमा एक पक्राउ
ताप्लेजुङमा बृद्धलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका –४ इखाबुका २२ बर्षिय सुवास लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो ।