• ९ फागुन २०८१, शुक्रबार

प्रकृति लम्साल मृत्यु प्रकरण : केन्द्र सरकारको ध्यानाकर्षण

blog

भारतको ओडिसास्थित इन्जिनियरिङ कलेजमा भएको घटनालाई लिएर पुलचोक इन्जिनियरिङ कलेजका विद्यार्थी प्लेकार्डसहित विरोध प्रदर्शनमा । तस्बिर : कविन अधिकारी

काठमाडौँ, फागुन ७ गते । भारतको ओडिसा भुवनेश्वरमा नेपाली विद्यार्थी २० वर्षीय प्रकृति लम्सालको मृत्युपछि उत्पन्न घटनाक्रमको विषय नेपाल–भारत कूटनीतिक मामिलामा परिणत भएको छ । 

भारतको ओडिसा प्रदेशस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा स्नातक तहमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शव छात्रावासमा भेटिएपछि स्थिति तनावपूर्ण बन्दै जाँदा उक्त घटनाले दुईदेशीय कूटनीतिक मामिलालाई आकर्षित गरेको हो । दुईदेशीय सम्बन्धको मामिलामा घटना प्रवेश गरेपछि भारतको केन्द्र सरकारको परामर्शमा ओडिसा सरकार र प्रहरीले छानबिन थालेको छ । 

नेपाली विद्यार्थीको मृत्युपछि निष्पक्ष छानबिनको माग गरिरहेका त्यहाँ अध्ययनरत विद्यार्थीमाथि सोमबार बिहानैदेखि कलेज प्रशासनले गरेको अभद्र व्यवहार, दुव्र्यवहारसँगै कलेजबाट निकाल्नेसम्मको कार्य भएको थियो । घटना सार्वजनिक भएसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाले उत्पन्न परिस्थितिबारे भारत सरकारका सरोकारवाला निकायलाई सोमबार नै ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन हुनुपर्ने धारणा सार्वजनिक गर्नुभयो । साथै दिल्लीस्थित नेपाली दूतावास र नेपालस्थित भारतीय दूतावासलाई समेत घटनाको तथ्यपरक अनुसन्धानसहित नेपाली विद्यार्थीमाथि भएको ज्यादती रोक्न आवश्यक पहलका लागि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाले प्रस्ट निर्देशन र आह्वान गर्नुभएसँगै कूटनीतिक वृत्तमा घटनाले गम्भीर प्रवेश पाएको हो ।

विकसित घटनाक्रममा कलेज प्रशासनले लम्साल मृत्यु प्रकरणपछि उत्पन्न परिस्थिति र नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहारप्रति मङ्गलबार माफी मागेको छ । विश्वविद्यालयका उपकुलपति शरण सिंहले विद्यार्थीलाई अध्ययनमा फर्कन अपिल गर्नुभएको छ । साथै स्वदेश फर्कन चाहने विद्यार्थीका लागि थप व्यवस्थापन गरिएको अवगत गराउनुभएको छ । घटनाको निष्पक्ष छानबिन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । 

ओडिसा सरकारको सूचना तथा जनसम्पर्क विभागले वक्तव्य जारी गर्दै छानबिन समिति गठन गरेको प्रस्ट पारेको हो । समितिका सदस्यहरूमा सरकारको गृह विभागका अतिरिक्त सचिव, महिला तथा बालविकास विभागका प्रमुख सचिव तथा उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव रहने व्यवस्था गरिएको छ । विभागका निर्देशकद्वारा जारी वक्तव्यमा कलेजमा भएको प्रदर्शनका क्रममा विद्यार्थीमाथि बल प्रयोग, दुव्र्यवहारका घटना बाहिर आएका छन्, त्यसमाथि अनुसन्धान भइरहेको र कानुन अनुसार कारबाही हुने छ भनिएको छ । साथै सो विषयमा कलेज प्रशासनलाई जानकारी गराइएको र उच्चस्तरीय समितिको निष्कर्षका आधारमा कलेजमाथि उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिने प्रस्ट पारिएको छ । नेपाली विद्यार्थीसहित न्यायका लागि उत्रिएका सम्पूर्ण विद्यार्थीको सु्रक्षा, सम्मान र कल्याण सुनिश्चित गर्न ओडिसा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सबैलाई न्यायका लागि आवश्यक कदम चाल्न तयार रहेको पनि प्रस्ट पारिएको छ । 

पाँच जना पक्राउ

नेपाल तथा भारत दुवैतर्फको दबाबकाबिच कम्प्युटर साइन्स तेस्रो वर्षमा अध्ययनरत लम्सालको मृत्युको घटनामा संलग्न पाँच जनालाई भुवनेश्वर प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । वक्तव्यमार्फत उसले सोही कलेजमा अध्ययनरत विद्यार्थी सिद्धान्त सिग्देलको जाहेरी दरखास्तका आधारमा अनुसन्धान अघि बढाएको बताइएको छ । सोही कलेजमा बिटेक अध्ययनरत आत्विक श्रीवास्तको बारम्बारको दुव्र्यवहारका कारण लम्सालले आत्महत्या गर्न बाध्य भएको जाहेरी दरखास्त परेपछि उसलाई प्रहरीले पक्राउ गरेको छ । 

सोही आधारमा आत्महत्या दुरुत्साहनको फौजदारी अपराधको मुद्दाका रूपमा कारबाही अघि बढाइएको प्रहरी कमिस्नर भुवनेश्वर कट्टक कार्यालयले जनाएको छ । श्रीवास्तवलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान थालिएको र प्रमाणका रूपमा उसको मोबाइल तथा अन्य कागजपत्र जफत गरिएको पनि प्रहरीले प्रस्ट पारेको छ । 

घटनापछि छात्रावासमा रहेका नेपाली विद्यार्थीले विरोध जनाउँदा आफैँ मरेको भन्दै होस्टल खाली गरेर घर फर्कन दबाब दिइएको पाइएको पनि प्रहरीले जनाएको छ । घटनामा विद्यार्थीमाथि कुटपिट र दुव्र्यवहार गर्ने सुरक्षा गार्ड रमाकान्त नायक, रवीन्द्र नायक, जोगेन्द्र बेहरा, बेगुली बेहरासहित चार जनालाई पनि छुट्टै जाहेरीमार्फत पव्रmाउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । नेपालीसहित अध्ययनरत विद्यार्थीको सुरक्षाको जिम्मा लिँदै प्रहरी प्रशासनले केही भएमा सम्पर्क गर्न अपिल गरेको छ ।

घटना नेपाल सरकारको निगरानीमा 

परराष्ट्रमन्त्री डा. आरजु राणाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई नेपाल सरकारले निरन्तर रूपमा निगरानी गरिरहेको प्रस्ट पार्नुभएको छ ।

नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँदिल्लीबाट नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी मङ्गलबार बिहानै विश्वविद्यालय पुग्नुभएको जानकारी उहाँले दिनुभयो । घटनाबारे अवगत गराउँदै उहाँले भन्नुभएको छ, “मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न भनेको छु । यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ ।” सोमबारको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको र नेपाली विद्यार्थीलाई दुव्र्यवहार गर्ने कर्मचारीलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचनामार्फत गराएको छ ।

विद्यार्थी लम्सालले आफूमाथि सोही कलेजमा अध्ययनरत एक विद्यार्थीले मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आइआरओ) मा दुई पटक निवेदन दिए पनि कलेजले गम्भीरता नदेखाएका कारण मृत्युको घटना हुन पुगेको उहाँले प्रस्ट पार्नुभएको छ ।  घटनालाई लिएर विश्वविद्यालयका उपकुलपति शरण सिंहले मङ्गलबार वक्तव्य जारी गर्दै विद्यार्थीहरूप्रति भएको दुव्र्यवहारका लागि माफी माग्नुभएको छ । 

कारबाहीमा परेका दुई जना कर्मचारीले पनि सामाजिक सञ्जालमार्फत भिडियोमा माफी मागेका छन् । प्रकृतिका परिवारका सदस्य भुवनेश्वर पुगेका छन् भने उनको शवको पोस्टमार्टमको तयारी भएको छ । 

सरकारको ध्यानाकर्षण 

राष्ट्रिय सभाले भारतको कलिङ्गा इन्स्टिच्युटमा अध्ययनरत नेपाली छात्राको रहस्यमय मृत्युको विषयमा कूटनीतिक पहल गरी उचित न्याय प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली छात्राको रहस्यमय मृत्युको विषयले गम्भीर ध्यानाकर्षण भएको सभाले जनाएको छ । 

राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा आकस्मिक समयमा धारणा राख्नुहुने मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, राधेश्याम पासवान, रेणु चन्दलगायतका सदस्यले पीडित छात्राको परिवारजनले न्याय पाउनुपर्ने तथा अध्ययनरत छात्रछात्राको सुरक्षाको सुनिश्चितताका लागि कूटनीतिक माध्यमबाट सरकारले अग्रसरता लिनुपर्ने जिकिर गर्नुभयो । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भन्नुभयो, “कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत छात्राको रहस्यमय मृत्युको विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गर्नुका साथै उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रूपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।” सभाले सो कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित वातावरणमा निर्भीकताका साथ अध्ययन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । 

कूटनीतिक पहल गर्न आग्रह

भारतको ओडिसाको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको घटना छानबिन र क्षतिपूर्तिका लागि कूटनीतिक पहल अघि बढाउन सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले दोषीलाई कानुनी कारबाही गर्न र क्षतिपूर्तिका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

विश्वविद्यालयमा अध्ययनरत प्रकृतिले आत्महत्या गरेको घटना छानबिनको माग सांसदहरूले गरेका हुन् । न्यायका लागि विद्यार्थीले गरेको आन्दोलनपछि विश्वविद्यालयले नेपाली विद्यार्थीलाई घर फर्काएको थियो तर दिल्लीस्थित नेपाली दूतावासको पहलपछि विश्वविद्यालयले घटनामा माफी माग्दै विद्यार्थी फर्काउन सुरु गरिसकेको छ । 

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा सत्तापक्ष तथा प्रतिपक्षका सांसदले उक्त घटनाको छानबिन र क्षतिपूर्तिको पहलका लागि आग्रह गरेका हुन् । आकस्मिक समयमा नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले उक्त घटनामा विद्यार्थीमाथि भएको ज्यादतीबारे राज्य मूकदर्शक बन्न नमिल्ने बताउनुभयो । सापकोटाले विश्वविद्यालय प्रशासन र कर्मचारीले नेपाल र नेपालीमाथि नै होच्याउने प्रकृतिबाट धारणा व्यक्त गरेको पनि बताउनुभयो । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले घटनाको विरोध गर्दै विद्यार्थीमाथि बल प्रयोग भएको बताउनुभयो । प्रकृतिको न्यायका लागि सरकारले शीघ्र पहल गर्नुपर्ने धारणा झाले राख्नुभयो । राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले घटना नेपाल र नेपालीप्रतिको समेत अपमान भएको बताउनुभयो । 

यस्तै एमाले सांसद ठाकुर गैरेले घटनाले सिङ्गो मुलुक तरङ्गित भएको बताउनुभयो । नेपाली विद्यार्थीमाथिको ज्यादती र घटनाबारे विश्वविद्यालय प्रशासनका उच्च कर्मचारीबाट व्यक्त धारणा र प्रयोग भएको शब्दावली गलत भएको धारणा गैरेले राख्नुभयो । 

यस्तै सदनको शून्य समयमा राप्रपा सांसद बिना लामाले विद्यार्थीमाथि अत्यधिक बल प्रयोग भएकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । लामाले पीडितको न्यायका लागि सरकारले शीघ्र कूटनीतिक पहल गर्नुपर्ने धारणा राख्नुभयो । 

नेपाली कांग्रेसका सांसद शान्ति विकले घटनाको छानबिनका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने धारणा राख्नुभयो । विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थीको सुरक्षाबारे संवेदनशील हुन पनि विकले आग्रह गर्नुभयो । सांसद शेरबहादुर कुँवरले उक्त विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा र सहज पठनपाठनको वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यस्तै सभाको विशेष समयमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ओडिसा घटनामा सरकारले तदारुकता देखाएको बताउनुभयो । घिमिरेले घटनाको छानबिन र पीडितको क्षतिपूर्तिका लागि कूटनीतिक पहल गर्न आग्रह गर्नुभयो । 

सांसद शक्तिबहादुर बस्नेतले सबै दल र सांसदले उठाएका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । बस्नेतले हालै प्रधानमन्त्रीसँग भएका प्रश्नोत्तरका क्रममा विपक्षी दलले उठाएका विषयमा प्रतिप्रश्न भएकोमा पनि असन्तुष्टि जनाउनुभयो । 

एनओसी रोक्ने चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली विद्यार्थीका समस्या समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ । 

साथै विद्यार्थीलाई सुरक्षित वातावरणमा पढ्ने वातावरण सिर्जना नगरेमा भारतको ओडिसा राज्यका सम्पूर्ण विश्वविद्यालय तथा शैक्षिक संस्थामा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी पनि मन्त्रालयले दिएको छ । मन्त्रालयले मङ्गलबार विज्ञप्ति निकालेर घटनाको समाधान नगरे एनओसी रोक्ने चेतावनी दिएको हो । 

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “उक्त घटनाबाट सृर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने बेहोरा पनि सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।”

विद्यार्थीले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताविपरीत विश्वविद्यालय प्रशासनबाट विद्यार्थीमाथि दुव्र्यवहार गरिएकोप्रति पनि मन्त्रालयले दुःख व्यक्त गरेको छ । घटनाको विषयमा समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन शिक्षा मन्त्रालयले सोमबार नै परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको थियो ।