चितवन, कात्तिक ७ गते । नेपालीको महान् पर्व तिहार सुरु भएसँगै जिल्लामा ६९ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार कात्तिक १ देखि ७ गतेसम्म जिल्लाका विभिन्न सडकमा भएका ६९ दुर्घटनाबाट सात जनाले ज्यान गुमाएका छन् । मादक पदार्थ सेवन गरी रातको समयमा सवारी चलाउँदा दुर्घटना बढेको उहाँले बताउनुभयो । एक सातामा भएका दुर्घटनामा परी एक सय ४१ जना घाइते भएको उहाँले जानकारी दिनुभयो ।
चितवनमा जुवातास खेल्ने २१ जना पक्राउ
जिल्लाका विभिन्न स्थानमा जुवा खेल्दै आएका २१ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामाथि मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक रिजालका अनुसार पक्राउ परेकाबाट नगद तीन लाख ६१ हजार २१० बरामद गरिएको छ । उहाँका अनुसार उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अनुसार कारबाही अघि बढाइएको हो । सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई भरतपुर र खैरहनी क्षेत्रबाट पक्राउ गरिएको हो । रासस