नयाँदिल्ली, कात्तिक ७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई ठूला तेल कम्पनीमा प्रतिबन्ध लगाएपछि भारतीय तेल रिफाइनर रूसी कच्चा तेलबाट टाढा सर्न सक्ने तर यसले लागतमा प्रभाव पार्ने विश्लेषकले शुक्रबार बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्भावित अमेरिकी व्यापार सम्झौताको एक हिस्साका रूपमा रूसी तेल आयात घटाउने सहमति दिनुभएको ट्रम्पले दाबी गर्नु भएको छ । तर नयाँदिल्लीले यसबारे औपचारिक पुष्टि गरेको छैन । अगस्टमा ट्रम्पले भारतीय निर्यातमा ५० प्रतिशत कर वृद्धि गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण भएको थियो ।
अमेरिकी अधिकारीले भारतले मस्कोबाट छुटमा तेल किनेर युक्रेनमा युद्धको कोष जुटाउन सहयोग गरेको आरोप लगाएका छन् । ओएनवाइएक्स क्यापिटलका जोर्ज मोन्टेपेकले भन्नुभयो, “प्रधानमन्त्री मोदी अमेरिकी इच्छामा कति झुकिरहनुभएको छ भन्ने मुख्य प्रश्न हो । प्रारम्भिक प्रतिक्रियामा राज्य तेल कम्पनी धेरै सतर्क देखिन्छन् ।” अमेरिकी प्रतिबन्धपछि तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले बढेको छ ।
रूसी तेल भारतको ऊर्जा प्रणालीमा संरचनात्मकरूपमा महत्वपूर्ण रहेको छ, जसले कुल आयातको लगभग ३४ प्रतिशत ओगटेको छ र रिफाइनरलाई विशेष छुट प्रदान गर्दछ । केप्लरका अनुसार भारतले सेप्टेम्बरमा रूसबाट प्रति दिन १६ लाख ब्यारेलभन्दा बढी तेल आयात गरेको थियो । सिङ्गापुरकी तेल बजार विश्लेषक वन्दना हरिले भन्नुभयो, “आवश्यक परेमा भारतीय रिफाइनर सजिलै वैकल्पिक आपूर्तिकर्तामा सर्न सक्छन्, तर यसको अर्थ रिफाइनिङ मार्जिनमा दबाब र आयात बिल बढ्नु हो । कमजोर रुपीले यस बोझलाई अझ बढाउँछ ।”
संयुक्त राज्य अमेरिका भारतको शीर्ष व्यापारिक साझेदार हो, तर औपचारिक सम्झौता अझै बाँकी छ । भारतीय व्यापार मन्त्री पियुष गोयलले भन्नुभयो, “वासिङ्टनसँग वार्ता प्रगति अवस्थामा छ र निकट भविष्यमा निष्पक्ष र न्यायसङ्गत सम्झौता हुने आशा छ ।” नोमुराका विश्लेषकले भने रूसी तेलको पुनः क्यालिब्रेसनको निकट-अवधि लागत अमेरिकी शुल्क कटौतीको फाइदाभन्दा बढी हुन सक्ने बताएका छन् । रासस/एएफपी