• ७ कात्तिक २०८२, शुक्रबार

जिप दुर्घटनामा तीन जनाको मृत्यु, छ घाइते

blog

सन्तोष राउत
सोलुखुम्बु, कात्तिक ७ गते ।
सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकाका लागि छुटेको प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको बोलेरो जिप माप्य दूधकोशी गाउँपालिका–६ को भिरकुनामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार साँझ भएको दुर्घटनामा छ जना घाइते भएका छन् । जिपमा सवार चालकसहितसबै यात्रु सोलुुखुम्बुको महाकुलुङ गाउँपालिकाका बासिन्दा रहेको खुलेको छ । दुर्घटना भएको बोलेरो गाडी ब्रेक फेल भएर सडकबाट अन्दाजी छ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मृत्यु हुनेहरुमा महाकुलुङ गाउँपालिका– ३ छेस्कामका १६ वर्षीय हवी राई, २० वर्षीय शान्ति राई र १७ वर्षीय निर्जला राई रहेका छन् ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेहरु माहकुलुङ ३ का ३२ वर्षीय श्रीध्वज राई, माहकुलुङ ४ का १६ वर्षीय गङ्गा राई, १८ वर्षीय बस्तीकला राई, १६ वर्षीय समया राई र सजना राई र १० वर्षीय उमेश राई रहेका छन् ।  

जिपमा सवार ११ जनामध्ये दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ । कार्यालयका अनुसार घाइतेहरूको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ भने मृतकहरूको शव महाकुलुङ अस्पताल पठाइएको छ ।