• ७ कात्तिक २०८२, शुक्रबार

गाजामा हमासले बन्धक बनाएका थाइ नागरिकको शव स्वदेश ल्याइयो

blog

बैङ्कक, कात्तिक ७ गते । सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका र गाजामा हमासद्वारा कब्जा गरिएका थाइ कृषि मजदुरको शव बिहीबार थाइल्यान्ड फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन् ।

इजरायल र हमासबीच भएको युद्धविरामको सम्झौताका क्रममा सोन्थाया ओक्खराश्रीको अवशेष बिहीबार साँझ तेल अभिभबाट बैङ्ककको सुवर्णभूमि विमानस्थलमा आइपुगेको छ ।

इजरायली अधिकारीहरूले सोन्थायाको शव प्राप्त यसै हप्ता प्राप्त गरेको र औपचारिक रूपमा उहाँको पहिचान भएको बताएका छन् । युद्धविराम सम्झौताअन्तर्गत हमासले अन्तिम २० जीवित बन्धकहरूलाई फिर्ता गरेको छ र अहिलेसम्म मारिएका अन्य २८ मध्ये १५ जनालाई रिहा गरेको छ ।

थाइल्यान्डको श्रम मन्त्रालयका अनुसार इजरायलमा करिब ३० हजार थाइ नागरिक कृषि क्षेत्रमा काम गर्छन् । सोन्थाया ३० वर्षका हुनुहुन्थ्यो र उहाँ बेरी किबुत्जमा काम गर्नुहुन्थ्यो । उहाँको सन् २०२३ मा इजरायलमा भएको आक्रमणमा मृत्यु भएको थियो, तर उहाँको लास आक्रमणकारी हमासले लगेका थिए ।

थाइल्यान्डका श्रम मन्त्री ट्रिनुच थिएन्थोङ र थाइल्यान्डका लागि इजरायलका राजदूत अलोना फिसर–कामले बिहीबार विमानस्थलमा सोन्थायाको पार्थिव शरीरलाई स्वदेश फर्काउन माल्यार्पण गर्नुभएको थियो ।

सोन्थायाकी आमाले स्थानीय सञ्चारमाध्यमसँग भन्नुभयो, “छोराको मृत्युले मलाई स्तब्ध बनाएको छ । छोराको शव उत्तरी नोङ बुआ लाम्फू प्रान्तमा रहेको गृहनगर फर्किएका छ । यसका लागि आभारी छु।”

उहाँको शवलाई बौद्ध परम्पराअनुसार अन्त्येष्टिका लागि पठाइने र थाइ सरकारले उनको परिवारलाई ५४ हजार डलरसम्मको क्षतिपूर्ति प्रदान गर्ने स्थानीय अनलाइन पत्रिका थाइरथले जनाएको छ ।

थाई विदेश मन्त्रालयले बिहीबार एएफपीलाई दिएको जानकारीअनुसार दुई वर्षदेखि जारी द्वन्द्वमा ४७ थाई नागरिकको मृत्यु भएको छ ।

युद्ध सुरु भएयता गाजामा कम्तीमा ६८ हजार २३४ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमासको सन् २०२३ को आक्रमणमा एक हजार २२१ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण नागरिक थिए । रासस/एएफपी