• २९ फागुन २०८१, बिहिबार

‘कवि मिश्र प्रेरणाको स्रोत’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ७ गते । कवि युद्धप्रसाद मिश्रको ३४ औँ स्मृति दिवसका अवसरमा कवि जगन्नाथ शर्मा आचार्य पुरस्कृत हुनुभएको छ । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव एवं साहित्यकार प्रदीप ज्ञवाली ‘सितविन्दु’ ले सिन्धुपाल्चोकका कवि आचार्यलाई ३१ हजार रुपियाँ नगदसहित पुरस्कार प्रदान गर्नुभयो । 

पूर्वमन्त्रीसमेत रहनुभएका ज्ञवालीले कवि मिश्रलाई आफूले भूमिगत जीवनमै प्रगतिशील लेखक सम्मेलनमा भेटेको स्मरण गर्दै मिश्रका प्रगतिशील र जोशिला कविता, कृतिहरू पढेर नेपाली राजनीतिमा अगाडि बढ्ने प्रेरणा पाएको बताउनुभयो । उहाँले कवि मिश्रले आफ्नो आस्थामा अडिग रहेर तत्कालीन व्यवस्थाविरुद्ध लेखेका कविताले रगत नै उम्लने अनुभव सुनाउँदै आफ्नो लेखनीसँगै जीवनमा आस्थालाई पनि जीवनभर लागु गर्न सक्ने स्रष्टामध्ये मिश्र एक रहेको बताउनुभयो । सो अवसरमा ‘युद्ध–३’ नामक पुस्तक पनि लोकार्पण गरिएको थियो  ।  प्रतिष्ठानका पूर्वअध्यक्ष वासुदेव अधिकारीले पुस्तकमा कवि मिश्रका बारेमा ४४ जनाको लेख रहेको जानकारी दिनुभयो । 

सो अवसरमा कवि मिश्रका रचनामाथि विद्यावारिधि गर्नुभएका प्राडा पशुपतिनाथ तिम्सिनाले कवि मिश्रले प्रकृतिको विम्ब प्रयोग गर्दै तत्कालीन राणा शासन  र पञ्चायती व्यवस्थाविरुद्ध खरो प्रहार गर्दै सिर्जना गरिएका रचना, कविताबाट सधैँ प्रेरित भइरहने बताउनुभयो । उहाँले कवि मिश्रलाई गणतन्त्रवादी कविका रूपमा स्थापित गराउन बहस चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । डा. कृष्ण सुवेदीले पुरस्कृत व्यक्तित्व आचार्यले बनारसबाट दुई विषयमा आचार्य गर्नुभएको बताउँदै जीवनभर गाउँमै रहेर लालुपाते संस्थामार्फत सांस्कृतिक गतिविधि गरेर आमनागरिकलाई जागृत गरेको बताउनुभयो । सर्जक आचार्यले पञ्चायती शासन व्यवस्थामा कविता, गीत, नाटकमार्फत सर्वसाधारणलाई निरङ्कुश शासनविरुद्ध जगाउन योगदान दिएको उहाँले बताउनुभयो । 

प्रतिष्ठानका अध्यक्ष डा. फणीन्द्रराज निरौलाले प्रतिष्ठानमार्फत कवि मिश्रका सिर्जना र विचारलाई जनसमक्ष पु¥याउन काम गरिरहेको र आगामी दिनमा पनि कवि मिश्रका बारेमा खोजी गर्ने काम जारी रहने बताउनुभयो ।