• २८ फागुन २०८१, बुधबार

रैथाने बालीमा आधारित सडक खाना महोत्सव

blog

सुर्खेतमा आयोजित रैथाने बालीमा आधारित प्रथम सडक खाना महोत्सव । खाना महोत्सवमा रैथाने खाना खाँदै मुख्यमन्त्री यामलाल कँडेललगायत । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता

सुर्खेत, फागुन ७ गते । कर्णाली प्रदेशमा प्राङ्गारिक तथा रैथानी बालीको प्रथम सडक खाना महोत्सव सुरु भएको छ । कर्णाली प्रदेश स्थापना भएपछि २०७४ फागुन ६ गते बसेको कर्णाली प्रदेशको मन्त्रीपरिषद्को पहिलो बैठकले कर्णाली प्रदेशलाई प्राङ्गारिक कृषिको आधार तयार गर्दै रैथाने बालीको संरक्षण तथा संवर्धन गर्ने निर्णय गरेको थियो । 

त्यस्तै २०७७ माघ ३० गतेको मन्त्रीपरिषद् बैठकबाट हरेक वर्षको फागुन ६ गतेलाई प्राङ्गारिक कृषि दिवसका रूपमा मनाउने निर्णय भए अनुसार होटेल व्यवसायी सङ्घ सुर्खेत, कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलगायत अन्य सरोकारवालाको संयुक्त आयोजनामा मङ्गलबारदेखि प्रथम सडक खाना महोत्सव सुरु भएको हो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खाना महोत्सवको उद्घाटन गर्दै यस्ता महोत्सवको कर्णालीको लोप हुन थालेका रैथाने र अर्गानिक वस्तुको बजारीकरण र प्रचारप्रसार हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले विगतमा गरिबले खाने भनिएका फापर, कोदो, कागुनो जस्ता अन्न अहिले सम्पन्नले खोजी खोजी खाने हुँदा कर्णालीवासीले यी उत्पादनलाई बढावा दिनुपर्ने बताउनुभयो । लोप हुन थालेका रैथाने बालीलाई स्थानीय तह, प्रदेश सरकारले पनि प्राथमिकता दिएको र आगामी दिनमा कृषकले पनि यसको विस्तार र संरक्षणमा जोड दिनुपर्ने उहाँको भनाइ छ । साथै कर्णालीका हरेक होटेललाई कर्णालीका रैथाने बालीको खानालाई प्राथमिकतामा राख्न उहाँले आग्रह गर्नुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले महोत्सवले कर्णालीको रैथाने र अर्गानिक खानाको प्रचारप्रसार हुने बताउनुभयो । जलवायु परिवर्तनका कारण कर्णाली प्रदेशको कृषिमा पनि प्रभाव परेकाले रैथाने बालीलाई जोड दिनुपर्ने उहाँको भनाइ छ ।  

मन्त्रालयका प्रवक्ता एवं कृषि प्रसार अधिकृत धनबहादुर कठायतले पहिलो पटक सडक खाना महोत्सव आयोजना गरिएको र यसलाई आगामी दिनमा निरन्तरता दिँदै जाने बताउनुभयो । उहाँले महोत्सवले कर्णालीका मूल्यवान् रैथाने बालीको देशविदेशमा बजारीकरण हुने उल्लेख गर्नुभयो । 

बुधबारसम्म सञ्चालन हुने खाना महोत्सवमा १५ वटा स्टल राखिएका छन्, जसमा कर्णालीका अर्गानिक र रैथाने बालीबाट उत्पादन भएका परिकार तथा अन्य सामग्री छन् ।