सिराज खान
नेपालगन्ज, मङ्सिर २८ गते । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।
नौबस्स्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर ७८ जना बालबन्दी भागेकोमा हालसम्म ३८ जना मात्र पक्राउ परेको बताउनुभयो । उहाँले अझै ४० जना बालबन्दी फरार रहेकोले उनीहरुको खोजी कार्य विभिन्न माध्यमबाट भइरहेको बताउनुभयो ।
फरार भएका बालबन्दीलगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधारगृह र कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समयसीमा दिइएको थियो । तर सो समयसीमा सकिएको लामो समय बिते पनि अझै पनि ४० जना बालबन्दी पक्राउ नपरेको नौबस्ता बाल सुधारगृहले जनाएको छ ।
भदौ २४ गते रवि लामिछाने नख्खु जेलबाट निस्केपछि देशभरिका कारागार र बालसुधार गृहबाट अधिकांश कैदी बन्दीहरु भागेका थिए । सोही समयमा नौबस्ता बाल सुधारगृहबाट पनि ७८ जना बालबन्दी भागेका थिए ।
नौबस्ता बालसुधार गृहबाट भाग्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय बिनेश घर्ती मगर, बाँकेका २० वर्षीय समीर थापा, दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवा गरेर पाँच जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।