शेरबहादुर राई
ओखलढुङ्गा, फागुन ७ गते । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु भएको छ । बहुलजाती भाषा संस्कार संस्कृति र विविधता हाम्रो पहिचान, समृद्ध खिजिदेम्बा निर्माणका लागि सामुहिक अभियान भन्ने मुल नाराका साथ महोत्सव सुरु गरिएको हो ।
गाउँपालिकामा रहेका आदिवासीहरुको भाषा संस्कार संस्कृतिको प्रवर्द्धन र संरक्षणका लागि महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति समन्वय परिषद्को आयोजनामा भएको महोत्सवको नेपाल आदिवासी जनजाति संघिय परिषद अध्यक्ष ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ ।
उद्घाटन समारोहमा संविधान सभा सदस्य यज्ञराज सुनुवार, कोशी प्रदेश सांसद प्रदिप कुमार सुनुवार लगायत विभिन्न आदिवासी जनजाति समुदायका अगुवाहरुको उपस्थित रहेको थियो । महोत्सव तीन दिन सम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष कमलकृष्ण घिसिङले बताउनुभयो ।
महोत्सवमा विभिन्न जातजाति समुदाय विच सांस्कृतिक प्रतियोगिता हुनेअध्यक्ष घिसिङले जानकारी दिनुभयो । साथै आदिवासीका मौलिक परिकार, सामाग्रीको प्रदर्शन गरिनेछ छ । गाउँपालिकामा रहेका आदिवासी जनजातिका भाषा, संस्कार र संस्कृति प्रवर्द्धन र जगेर्ना गर्ने योजना निर्माण गरिने आयोजकले जनाएको छ । सुनुवार, शेर्पा, तामाङ, गुरुङ, नेवार, भुजेल समुदायले झाकी प्रदर्शन गरेका थिए ।