• १२ असार २०८२, बिहिबार

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण छ : उपप्रधानमन्त्री सिंह

blog

काठमाडौँ, असार ११ गते। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ। 

काठमाडौँ महानगरपालिका–१० बानेश्वरमा बुधबार आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रको विकासमा महिलाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले आधुनिक प्रविधिको प्रयोग गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो।

उपप्रधानमन्त्री सिंहले नेपालको महिला आन्दोलनकी शीर्ष नेत्री मङ्गलादेवी सिंहले महिलालाई मताधिकारसँगै शिक्षा र सम्पत्तिको हक, नीतिगत तहमा सहभागिताको सुनिश्चिततासँगै महिलाको आर्थिक अधिकारका लागि आवाज उठाएको स्मरण गर्नुभयो। 

“देशको अर्थतन्त्र चलायमान बनाउन महिलाको योगदान महत्त्वपूर्ण छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो। काठमाडौँ महानगरपालिका–१० बानेश्वरका स्थानीय महिलाको सीप विकास र आयआर्जन वृद्धिका लागि मङ्गलादेवी सिंह फाउन्डेसनले प्रदान गरेको १० दिने अचार बनाउने तालिम का सहभागीलाई उहाँले प्रमाणपत्र वितरण गर्दै सिकेको सीपबाट आयआर्जनका लागि शुभकामना पनि दिनुभयो।

कार्यक्रममा मङ्गलादेवी सिंह फाउण्डेसनकी अध्यक्ष सिर्जना सिंहले फाउन्डेसनले महिलालाई आर्थिक रूपमा सक्षम बनाउनका लागि विभिन्न स्थानमा सीपमूलक तालिम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले उत्पादनसँगै त्यसको बजारीकरणका लागि पनि सहभागीले तालिमको माग गरेको भन्दै त्यसका लागि फाउन्डेसनले कार्यक्रम ल्याउने बताउनुभयो। रासस